राजनीति


चुनावका लागि तात्तिए दलका लुम्बिनी प्रदेश समिति

चुनावका लागि तात्तिए दलका लुम्बिनी प्रदेश समिति

सुदीप भण्डारी
माघ २७, २०७८ बिहिबार १२:६, बुटवल

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि सबैतिर चुनावको चर्चा/परिचर्चा सुरु भएको छ। केन्द्रदेखि तल्लो तहसम्म दलका नेता/कार्यकर्ताले चुनावी रणनीति र हिसाबकिताब गर्न थालेका छन्। लुम्बिनी प्रदेशमा पनि प्रमुख राजनीतिक दलका प्रदेश समितिले निर्वाचनको तयारी थालिएको बताएका छन्। 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले फागुनको पहिलो हप्ता कार्यसमितिको बैठक बसेर चुनावी तयारी अघि बढाउने बताएको छ। कांग्रेस लुम्बिनीका महामन्त्री सुरेन्द्रराज अचार्यले चुनावको तयारीमा लाग्न र जित्ने सम्भावित उम्मेदवारको सूची बनाउ तल्लो तहसम्म सर्कुलर गरिने बताए। 

‘जिल्ला, नगर हुँदै वडासम्म हामीले सर्कुलर गर्दै छौं। उपयुक्त जित्न सक्ने उम्मेदवार चयनको विषय अहिले महत्त्वपूर्ण हो’, उनले भने, ‘सबै जिल्लामा हामीले सर्कुलर गर्दै छौं। त्यसका लागि प्रदेश समितिको बैठक तत्कालै राखेर चुनावी रणनीति बनाउँछौं।’ 

कांग्रेस लुम्बिनी प्रदेश समितिले बुटवलको तामनगरमा कार्यालय स्थापना गरेको छ। कार्यालय मर्मतका कारण बैठक बस्न केही ढिलाइ भएको महामन्त्री आचार्यले बताए। 

नेकपा एमालेको लुम्बिनी प्रदेश समितिले पनि चुनावी रणनीति बनाउन सुरु गरिसकेको जनाएको छ। केन्द्रको निर्णयानुसार फागुन ११ र १२ गते अभिमुखीकरण, प्रशिक्षण र गोष्ठी हुन लागेको एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए। 

‘गोष्ठीमा निर्वाचित जनप्रतिनिधि र जिम्मेवार कार्यकर्ता सहभागी हुन्छन्। एमालेले चुनावी अभियान सुरु गरिसकेको छ’,  उनले भने। 

एमालेको निर्वाचित प्रदेश कमिटी भने बनिसकेको छैन। माघ ८ गते प्रदेश अधिवेशन गर्ने भनिए पनि कोरोनाका कारण स्थगन गरिएको थियो। अहिले निर्वाचित नभई केन्द्रले तोकेका पदाधिकारी मात्र छन्। एमाले लुम्बिनीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले चुनावअघि प्रदेश अधिवेशन हुने सम्भावना नरहेको बताए। 

नेकपा माओवादी केन्द्रले मंसिर अन्तिम साता प्रदेश सम्मेलन गरेको थियो। प्रदेश सम्मेलनबाट २ सय १७ सदस्यीय प्रदेश कमिटी त गठन भयो तर अहिलेसम्म पदाधिकारी चयन हुन सकेका छैनन्। जसका कारण चुनावको तयारीमा माओवादी केन्द्रको प्रदेश कमिटी लाग्न सकेको छैन। 

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रबार सुरु हुँदै छ। उक्त बैठकपछि प्रदेशका पदाधिकारी चयन हुने र विधिवत् रूपमा चुनावको तयारीमा लागिने माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य सुदर्शन बरालले बताए। 

‘निर्वाचनको तयारीस्वरूप नै हामीले वडा तहबाटै सम्मेलन गरेका हौं। पार्टीको केन्द्रीय समितिको बैठकपछि प्रदेशको पदाधिकारी चयन सुरु हुन्छ’, उनले नेपालखबरसँग भने, ‘फागुनको पहिलो हप्ता पदाधिकारी चयन टुंगिएपछि हामी चुनावमा होमिन्छौं। त्यसका लागि तयारी अवस्थामा छौं।’ 

त्यसैगरी एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलले पनि चुनावका लागि आआफ्ना तयारी थालेका छन्। 

लुम्बिनीका ४ उपमहानगरमध्ये ३ उपमहानगरमा गत चुनावमा एमालेले प्रमुख र उपप्रमुख पदमा विजयी प्राप्त गरेको थियो। नेपालगन्ज उपमहानगरपालकामा राप्रपाले प्रमुख र कांग्रेसले उपप्रमुख पद हात पारेका थिए। 

प्रदेशका १ सय ९ स्थानीय तहमध्ये धेरैमा एमालेले जितेको थियो। उसले यो प्रभाव कायमै राख्न चाहेको छ। कांग्रेसले प्रदेशका ठूला सहरसहित एमालेले जितेका पालिका खोस्ने रणनीति बनाएको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपालगायत दलले पनि स्थानीय सरकार हात पार्न रणनीति बनाउन थालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .