राजनीति


हँसिया हथौडामा भोट हाल्दिनँ भन्दा कांग्रेस छाड्नुपर्छ भने तयार छु : जगन्नाथ पौडेल

हँसिया हथौडामा भोट हाल्दिनँ भन्दा कांग्रेस छाड्नुपर्छ भने तयार छु : जगन्नाथ पौडेल

फाइल तस्बिर


उजिर कार्की
बैशाख १६, २०७९ शुक्रबार १३:१०, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले कुनै हालतमा मनोनयन फिर्ता नलिने अडान लिएका छन्। 

शुक्रबार गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका उनीमाथि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितले पछि हट्न दबाब बढाइरहेका छन्। 

यसैबीचमा शुक्रबारै सभापति देउवाले एक वक्तव्य निकालेर साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्यबाटै निष्काशित गरिदिने चेतावनी दिएका छन्। 

पाँच दलीय गठबन्धनविरुद्ध बागी दिएका पार्टीका कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन र नलिए कारबाही गर्ने चेतावनी दिएपछि नेपालखबरसँग कुरा गर्दै पौडेलले पुरानै अडानमा रहेको बताएका हुन्। 

‘म फर्किने ठाउँमा छैन। फर्किन नसक्ने ठाउँमा पुगिसकेँ। मैले मेरो अवस्था नेताहरुलाई जानकारी गराइसकेको छु', उनले भने, 'मैले हँसिया हथ्यौडामा भोट हाल्दिन भनेको हुँ। हँसिया हथ्यौडामा भोट नहाल्दा पार्टीबाट निकालिन्छ भने निस्कन तयार छु’, पौडेलले भने। 

गठबन्धनका दुवैजना नेताले फोन गरेर गठबन्धनको निर्णयविपरित नगइदिन आग्रह गरेका थिए। ‘मलाई पद र पैसाले प्रभाव पार्दैन। कांग्रेस छाड्न मन त छैन तर जबरजस्ती छुटाइन्छ भने के गर्ने त?', उनले प्रश्न गरे 'म छुटे पनि मैले नै हो रुखविरुवामा पानी हाल्ने। आजको मेरो अभियान त रुख बचाउने हो। मलाई कारबाही गरे पनि रुखवाला मान्छे सबै मसँग हुन्छन्।’

उनको उम्मेदवारी फिर्ता गराउन भरतपुर पुगेका गृहमन्त्री बालकृष्ण खाँण पनि असफल भएर फर्किएका छन्। उनलाई भरतपुरमा कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न नपाएको भन्दै उल्टै सम्झाएका थिए। 

‘अब मेरोमात्रै कुरा भएन, मेरो घरमा देख्नुभयो भने तपाईँले थाहा पाउनुहुन्छ। हजारौं साथीहरुबीचमा पुगिसकेँ, म मात्रै फर्किएर हुँदैन’, उनले नेताहरुलाई भनेको कुरा सुनाए, ‘देउवा र प्रचण्डले फोन गर्दा पनि मैले प्रश्ट भनिसकेको छु।’

पौडेललाई माओवादी अध्यक्ष प्रचण्डले पनि मिलेर जाऊँ भन्दै फोन गरेका थिए। तर उनले देउवालाई जस्तै आफ्नो उम्मेदवारीले राष्ट्रिय गठबन्धनमा कुनै असर नगर्ने बताए। 

‘म राष्ट्रिय चुनाव लड्न लागेको होइन, भरतपुर महानगरमा मात्रै हो। म एउटा नागरिकको हिसावले संविधानले दिएको अधिकार मात्रै प्रयोग गरेको हुँ’, उनले प्रचण्डलाई भने, ‘तपाईँ हाम्रो जिल्लाको नेता हो। तपाईँलाई मेरो सम्मान छ, तपाईँलाई सहयोग गर्छु। पहिलो पटक महानगरमा चुनाव लड्दै छु। तपाईँले हाम्रो सभापतिज्युलाई पनि सम्झाइबुझाइ गरिदिएर वातावरण बनाइदिनुस्।’

प्रचण्डलाई उनले अरु विकल्पमा पनि सल्लाह गर्न सकिने बताएका थिए। उनले पछि नहट्ने अडान लिएपछि प्रचण्डले भने, ‘तपाईँको पार्टीको मामिला तपाईँकै सभापतिजीले गर्नुहुन्छ। मैले खास तपाईँसँग सदभावपूर्ण कुरा गरौं भनेर मात्रै फोन गरेको हुँ। हामी एउटै जिल्लाका हौं। कसरी मिलेर जान सकिन्छ सल्लाह गरौं।’

तर पौडेलले प्रचण्डलाई आफैंलाई सहयोग गर्न भनेका थिए। ‘तपाईँ नेता हो, परिवर्तनकारी हो। तपाईँलाई अगाडि बढाउने कुरामा म लाग्छु। अहिले मैले निवेदन हालिहालें, एक पटकलाई मलाई सहयोग गर्नुस्,’ पौडेलले प्रचण्डलाई भने। 

सत्ता गठबन्धनमा बाँडफाँट गर्दा भरतपुर महानगर माओवादीको भागमा परेको छ। माओवादीबाट प्रचण्ड पुत्री रेनु दाहाल उम्मेदवार बनेकी छन्। 

अघिल्लो पटक पनि कांग्रेसकै सहयोगमा निर्वाचित दाहाललाई पटक–पटक भोट नहाल्ने पक्षमा त्यहाँका कांग्रेस देखिएका छन्।।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .