राजनीति


पाँचदलीय गठबन्धन कति पर जाला? २० वर्ष?

प्रचण्डको धेरै बोल्ने बानी छ : चन्द्र चण्डारी
पाँचदलीय गठबन्धन कति पर जाला? २० वर्ष?

फाइल तस्बिर


रुपक चौलागाईं
जेठ २३, २०७९ सोमबार ११:५२, काठमाडौँ

स्थानीय तहको चुनावअघि कांग्रेस–माओवादीसहितको पाँचदलीय गठबन्धन भत्कने चर्चा खुबै चल्यो। देशैभर सतप्रतिशत गठबन्धन नबने पनि अधिकांश ठाउँमा कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादीले तालमेल गरे।

कतिपय स्थानीय तहमा गठबन्धन भएन । भएका ठाउँमा पनि अन्तर्घात भयो । प्युठान लगायतका केही ठाउँमा एमाले–माओवादी पनि मिलेको देखियो ।

अहिले स्थानीय चुनाव सकिएको छ । चुनाव सकिए पनि सत्ता गठबन्धन टुट्छ कि आगामी चुनावसम्म जान्छ भन्ने शंका–उपशंका हटेको छैन । झन् बढेको छ ।

स्थानीय तह निर्वाचन सकिनेबित्तिकै सत्तारुढ दलका शीर्षनेताबाटै आएका अभिव्यक्तिले गठबन्धनको भविष्यमाथि प्रश्न उठाएको छ। मंसिरमा गर्ने भनिएको संसदीय चुनावमा गठबन्धनका दलहरु एक भएर जाने-नजाने भन्नेबारे फेरि बहस सुरु भएको छ।

खासगरी माओवादी नेताका बेलाबखतका अभिव्यक्तिका कारण गठबन्धनको आयुबारे प्रश्न उठ्ने गरेको हो । गठबन्धन भत्काउने कार्यमा विपक्षीहरुले कसरत गर्नु अनौठो होइन । अर्कोतर्फ, नेपाली कांग्रेसको व्यवहारबाट पनि माओवादी, एकीकृत समाजवादी र जसपामा केही असन्तुष्टि देखिन्छ । घरेलु बाहेक बाह्य शक्तिले पनि गठबन्धन बनाउन र भत्काउनमा चलखेल गर्न सक्ने सम्भावनालाई पनि अस्वीकार गरिहाल्न सकिँदैन ।

स्थानीय तहको चुनावपछि गठबन्धनको भविष्यमाथि उठेका प्रश्नबारे चर्चा गर्नुपूर्व माओवादी नेताका केही विरोधाभासका दृष्टान्त हेरौँ :  

चुनावअघिको १० वर्षे प्रतिवद्धता


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावअघि चितवनको भरतपुरमा भाषण गर्दा रेनुको टिमले जिते यो गठबन्धनलाई २० वर्षसम्म लिएर जाने ‘प्रतिवद्धता’ जनाए ।

प्रचण्डले चितवनमा यसो भनेका थिए–       

‘तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, यो गठबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देश र जनताको समृद्धि र विकासको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ ।

होइन, यो राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, यो विकास समृद्धिको आवश्यकता हो, यो लोकतन्त्रको आवश्यकता हो भनेर तपाई चितवनबासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई विजयी गराउनुभयो भने म निक्कै उत्साहित हुनेछु र यो गठबन्धनलाई १०, १५, २० वर्ष लाने मेरो प्रतिवद्धता हुनेछ ।’

चुनावपछिको चेतावनी
भरतपुरमा ‘रेनु दाहाल र चित्र सेन अधिकारी’ को टिमले जितिसकेको छ । यसबाट प्रचण्ड उत्साहित पनि भएकै हुनुपर्छ । तर, १० देखि २० वर्षसम्म यही गठबन्धनलाई लैजाने प्रतिवद्धता जनाएका प्रचण्डले निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा बुधबार काठमाडौंमा आफ्नै ‘प्रतिवद्धता’माथि प्रश्न उठ्ने गरी यसो भने–  

‘फेरि कांग्रेस पनि एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लाइयो, अब संघ र प्रदेशमा पनि ठेगान लाउने भन्यो भने एमालेलाई ठेगान लाएजस्तै कांग्रेसलाई लगाउने दिन नआओस् भन्ने छ। अहंकार र दम्भले कसैलाई हित गर्दैन भनेर म कांग्रेसका साथीहरुलाई भन्न चाहन्छु। कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौँ। अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन ख्याल गरे हुन्छ। कांग्रेस फेरि एमालेजस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ। हामी त क्रान्तिकारी हौँ, अहंकार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठोक्दै जान्छौँ।’

धनकुटा र धनगढीमा माओवादीको ढुलमुल
३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा देशैभर गठबन्धन गरेर जाने सत्ता गठबन्धनका तर्फबाट केन्द्रको निर्णय थियो।  पाँचदलीय गठबन्धनभन्दा बाहिर, खासगरी नेकपा एमालेसँग तालमेल नगर्ने केन्द्रीय नीति थियो ।

यसैक्रममा धनकुटामा निर्वाचन सम्पन्न भइसक्दा केही रोचक दृश्य देखा परे। निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि कांग्रेससँग असन्तुष्ट हुँदै माओवादी केन्द्रले कार्यपालिका चुनावका लागि नयाँ रणनीति बनायो।

कार्यपालिका निर्वाचनमा एमालेसँगै माओवादीले तालमेलका लागि लिखित सम्झौता ग¥यो। नेपाली काँग्रेससहितका दलसँग गठबन्धन गरेर चुनाव लडेको माओवादी केन्द्रले स्थानीय चुनाव सकिएलगत्तै रातारात नेकपा एमालेसँग सम्झौता गर्न पुगेको थियो।

कांग्रेसको धोकाकै कारण कार्यपालिका चुनावमा एमालेसँग गठबन्धन गरेको माओवादी नेताहरु बताउँछन्। तर, काँग्रेसले धोका दिएको भन्दै नेकपा एमालेसँग लिखित सम्झौता गर्न पुगेको माओवादीले एमालेबाट झनै ठूलो धोका पाएको छ। चुनावको नतिजा नआउँदै एमालेसँग सम्झौता गरेको माओवादीसँग कांग्रेस झस्किएको छ । माओवादीले पनि अब धनकुटामा कांग्रेस–एमालेलाई भोट नहाल्ने बताएको छ ।

धनकुटामा जस्तै सुदूरपश्चिमको कैलाली जिल्लामा पनि स्थानीय तह निर्वाचनमा सँगै लडेका सत्तारुढ गठबन्धन निर्वाचनलगत्तै विभाजित बने । जिल्ला समन्वय समितिमा माओवादीले कांग्रेसको साथ छाडेर एमाले र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग लिखित तालमेलको निर्णय गर्यो । तर, यो सहमति दुई दिन पनि टिक्न सकेन।

कांग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टले नै गठबन्धनलाई निरन्तरता दिने लिखित सहमति नै भइसकेको बताए। जिसस प्रमुख कांग्रेसले र उपप्रमुख माओवादीले पाउने गरी शनिबार बसेको गठबन्धन बैठकमा सहमति भएको भट्टले बताएका छन्। यसअघि माओवादीले चारजना सदस्य लिएर एमालेसँग सहमति गरेको थियो । सहमतिपत्रमा एकले अर्कालाई धोका नदिने लेखिएको थियो ।

गठबन्धन धर्मराएकै हो त?
माओवादी केन्द्रले मात्र नभई सत्तारुढ गठबन्धनकै अर्को दल एकीकृत समाजवादीले पनि कांग्रेसबाट धोका भएको बताउँदै आएको छ। शनिबार बसेको सचिवालय बैठकपछि पनि पार्टीका सम्मानित नेता झलनाथ खनालले सो कुरा बताएका थिए।

स्थानीय चुनावको तुष
स्थानीय तह निर्वाचनमा गठबन्धनका गरेका दलहरुबीचका असन्तुष्टि विस्तारै बाहिरिन थालेको छ। एमालेले जस्तै दम्भ देखाए कांग्रेसलाई ठेगान लगाउने माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिपछि केन्द्रीय राजनीति तरगिंत छ।

त्यसलगत्तै प्रचण्डले पार्टी कार्यालयको अनौपचारिक बैठकमा बोलेको अर्को विषय पनि चर्चामा आएको छ । त्यहाँ प्रचण्डले दुईवटा कुरा बोलेका छन् ः एक– अहिलेको राजनीतिक समीकरण बदलिन पनि सक्छ । दुई– कुनै पार्टी फुट्न पनि सक्छ ।

अहिलेको राजनीतिक समीकरण बदल्ने र गठबन्धनलाई असफल पार्ने षड्यन्त्र भइरहेको आशयमा प्रचण्डले त्यस्तो अभिव्यक्ति दिएको माओवादी नेताहरु बताउँछन् । पार्टी फुट्न सक्छ भनेर प्रचण्डले जसपातिर संकेत गरेको माओवादी नेताको दाबी छ ।

यहीबेला प्रचण्डलाई प्रधानमन्त्रीको ‘अफर’ समेत आएको माधव नेपाल र प्रचण्ड दुबैले खुलासा गरेका छन् । कहाँबाट त्यस्तो ‘अफर’ आएको नेताहरुले प्रष्ट नपारे पनि अहिलेको सत्ता समीकरण फेर्न विपक्षीले प्रयास गरिरहेको नेताहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

पाँच वर्षअघि ०७४ को स्थानीय निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग सहकार्य गरेको थियो। अहिले फेरि ‘वाम गठबन्धन’को चर्चा चलिरहेको र गठबन्धनका नेताहरुका विरोधाभाषपूर्ण भनाइले  गर्दा गठबन्धन टुट्ने हो कि भन्ने प्रश्न उब्जेको हो ।

यसैबीच, शनिबार दिउँसो बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पनि कांग्रेसका कारण चुनावमा धोका भएको निश्कर्ष निकालेको छ।

बार्गेनिङका लागि हुन सक्छ : रमेश लेखक
कांग्रेसका नेताहरुले भने माओवादी र एकीकृत समाजवादीका नेताहरुको अभिव्यक्तिलाई आगामी गठबन्धनका लागि गरिएको ‘बार्गेनिङ’ को संज्ञा दिएका छन्।

कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखक यस्ता विषयलाई छलफलबाटै टुंग्याउनु पर्ने बताउँछन्।

‘एकीकृत समाजवादीले पनि कांग्रेसबाट धोका भयो भनेको मिडियाबाट सुनिएको छ’ लेखकले नेपालखबरसँग भने, ‘अहिले हामीकहाँ गठबन्धनको संस्कार परिपक्व भइसकेको छैन। अलिअलि समस्याहरु आउँछन्, यसलाई विस्तारै छलफल गरेर टुङ्ग्याइएला।’

उनले आगामी दिनमा गठबन्धनका लागि माओवादी र एकीकृत समाजवादीले बार्गेनिङ गरेको पनि हुन सक्ने बताए। ‘नेताहरुले के कुरा किन बोले भन्ने कुराको पनि अर्थ रहन्छ,’ कांग्रेस नेता लेखक भन्छन्,‘त्यसको पनि विश्लेषण हुनुपर्छ। हामीलाई धोका भयो वा अन्य केही भयो भन्ने कुराका पछाडि आगामी दिनको बार्गेनिङलाई दिमागमा राखेर पनि बोलेको हुनसक्छ। तर, यो छलफलबाट टुंग्याउन सकिन्छ।’

प्रचण्डको धेरै बोल्ने बानी छ  : चन्द्र भण्डारी


नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी भने आफू गठबन्धनको पक्षमा पहिल्यैदेखि नरहेको तर पार्टीको निर्णयविरुद्धमा पनि नभएको बताउँछन्।

भण्डारीले नेपालखबरसँग भने, ‘म त गठबन्धनको पक्षमा पहिल्यैदेखि छैन। पार्टीले गरेको गठबन्धनको विरोधी पनि होइन। सबै दलहरु आ–आफ्नो सिद्धान्त र विवेकअनुसार चुनावमा जानुपर्छ भन्ने हो । सबै दलको गठबन्धन भएपछि त्यहाँ रिमिक्स हुन्छ। त्यसो हुँदा जनताका इच्छा आकांक्षा र मागहरु ओझेलमा पर्छन्।’

अहिले सत्ता गठबन्धनका नेताहरु सत्ता केन्द्रित भएको भण्डारीको आरोप छ।

प्रचण्डले पछिल्लोपटक गरेको भाषणप्रति भने भण्डारीको पनि असन्तुष्टि छ। ‘प्रचण्डजी के बोल्ने नै थाहा पाउनुहुन्न। नेपालका नेताहरुलाई धेरै काम गर्नु छैन, बोलिदिन्छन्,’ भण्डारी भन्छन्, ‘अहिले गठबन्धन गरेर तेस्रो स्थानमा माओवादी आइसकेपछि प्रचण्डले त्यस्तो बोल्नुपर्ने आवश्यकता थिएन। उहाँको धेरै बोल्ने बानी छ। यो राजनीतिक चरित्र पनि होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .