राजनीति


जसपाबाट को को बन्लान् मन्त्री?

चार पदमा १० जना दाबेदार
जसपाबाट को को बन्लान् मन्त्री?

फाइल तस्बिर


सागर न्यौपाने
असार १७, २०७९ शुक्रबार १७:१२, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) ले १३ असारमा मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि नेताहरुको दौडधूप चलेको छ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषिमन्त्री महिन्द्र राय यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव छन्।

चारै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउने अधिकार पार्टीले अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।

त्यहीकारण अहिले मन्त्रीको आशमा उपेन्द्रकहाँ धाउने नेताहरुको संख्या पनि बढेको उनीनिकटहरु नै बताउँछन्।

त्यसबाहेक जसपाभित्र विवाद छ। संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका नेताहरुले समावेशी र सामूहिक नेतृत्व लगायत माग राखेपछि पार्टीमा विवाद छ।

त्यही विवादले उग्र रुप लिएपछि भट्टराई पक्ष नेताहरु अल्पमतमा परेपछि जसपाबाट बाहिरिने तयारीमा छन्।

डा. भट्टराई पक्ष नेताहरु बाहिरिने भएपछि अध्यक्ष उपेन्द्र यादव मन्त्री चयनबारे परामर्श गरिरहेका छन्। 

स्रोतका अनुसार यादवले तीन आधारमा नयाँ मन्त्रीहरु पठाउने तयारी गरेका छन्।

पहिलो, संघीय समाजवादी र मधेसी जनाधिकार फोरम मिलाएर एकता गर्दाको क्लष्टर मिलाएर मन्त्री बनाउने।

दोस्रो, डा. भट्टराई र राजपाबाट जसपामै बाँकी नेताहरुलाई पनि मिलाएर मन्त्री बनाउने।

र, तेस्रो, महिलाको संख्या मिलाउने।

अहिले देउवा सरकारमा जसपाबाट महिलामन्त्रीका रुपमा एकजना रेणु यादव मात्रै छिन्। 

उपेन्द्रको पक्षमा खुलेका १६ सांसदमध्ये सबै मन्त्री बन्न प्रयास गरिरहेका छन्।

तर अर्कातिर अहिलेकै मन्त्रीहरु पनि फिर्ता हुन मानिरहेका छैनन्। एकीकृत समाजवादीले सेटै फेरेपछि जसपामा पनि मन्त्री फेर्ने दबाब बढेको छ। 

तर, बाबुरामपक्षीय मन्त्री भनेर चिनिएका महिन्द्र राय यादवलाई हटाउन पनि उपेन्द्र मन्त्रीहरुलाई फिर्ता बोलाउने अडानमा छन्।

त्यस्तो अवस्थामा उपेन्द्रले कसकसलाई मन्त्री बनाउलान त? 

उनीनिकट नेताहरु अहिले नै कुनै निश्चित नभएको दाबी गरे पनि उपेन्द्र आफैँले भने मन्त्री बन्ने नेताहरुको सम्भावित नाम संकलन गरिसकेका छन्।

अध्यक्ष यादवले मन्त्री फेरबदलबारे पार्टीभित्र छलफलमा रहेको बताएका छन्। 'अहिले पार्टीभित्र छलफल चलिरहेको छ, टुंगो लागिसकेको छैन', यादवले शुक्रबार बिहान नेपालखबरसँग भने।

ती नामहरु परिवर्तन हुने सम्भावना कम रहेको उनी निकट नेताहरुको भनाइ छ।

स्रोतका अनुसार प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित, आफूलाई साथ दिएको, राष्ट्रियसभा सदस्य र महिला गरी चार आधारमा अध्यक्ष यादवले मन्त्री छान्नेछन्।

उपेन्द्रको मन्त्री बन्ने लिष्टको पहिलो नम्बरमा प्रमोद साह छन्। उनी निर्विकल्प हुन्।

यसअघि मन्त्री पठाउँदा पनि साहको नाम मन्त्री बन्ने सूचिमा थियो तर, डा. बाबुराम भट्टराईले प्रस्ताव गरेपछि महिन्द्र राय यादव पठाइएका थिए।

यसपटक उपेन्द्र साहलाई मन्त्री बनाउने पक्षमा छन्।

स्रोतका अनुसार उपेन्द्रले सरकारमा रहेका मन्त्रीमध्ये कम्तीमा एकजनालाई पुनः मन्त्री बनाउनेछन्।

त्यसमध्ये रेणु र राजेन्द्र श्रेष्ठ कसलाई दोहोर्‍याउने? उनी परामर्शमै छन्।

अशोक राई पक्षलाई मिलाउन र क्लष्टर मिलाउन राजेन्द्र दोहोरिने सम्भावना पनि छ।

तर, उपेन्द्रका दाहिने हात रेणु यादवलाई दोहोर्‍याउन उनलाई दबाब छ।

यही कुरालाई बुझेका उपेन्द्रले राजेन्द्रलाई फिर्ता बोलाएर वरिष्ठ नेता अशोक राईकी श्रीमती सुशीलालाई मन्त्री बनाउन सक्ने उनीनिकट एक नेताले बताए।

‘उहाँसँग २ वटा विकल्प छन्। रेणुजीलाई कन्टिन्यु गरे अशोकजी पक्षलाई व्यालेन्स गर्न उनकी श्रीमती सुशीलालाई मन्त्री बनाउने वा राजेन्द्रजीलाई कन्टिन्यु गरे रेणुजीको ठाउँमा अर्को महिला सांसद पठाउन सक्ने दुवै सम्भावना छ।’

सुशीला सांसद होइनन्। त्यही भएर त्यो सम्भावना कम भएको जसपाका नेता रकम चेम्जोङ बताउँछन्।

‘जसपाले यस पटक गैरसांसदलाई मन्त्री बनाउँदैन,’ चेम्जोङले नेपालखबरसँग भने, ‘मन्त्री बनाउन हामीसँग पर्याप्त सांसद  छन्।’

तर, उपेन्द्रनिकट अर्का नेता अब बन्ने मन्त्री चुनावी भएकोले गैरसांसद पनि बन्न सक्ने सम्भावना देख्छन्।

बाबुराम पक्षमा रहेका भनिएका मोहम्मद इस्तियाक राई मन्त्री बन्नकै लागि उपेन्द्रतिर खुलेको उनीपक्षीय नेताहरु बताउँछन्।

‘मोहम्मद मरिहत्ते गरिरहेका छन्। प्रदीप यादव पनि मन्त्री बन्ने दौडमा छन्,’ ती नेताले भने, ‘उनीहरु दुईमध्ये एकजना मन्त्री बन्न सक्छन्।’

उनले दुईजना नै पर्ने सम्भावना निकै कम रहेको बताए।

‘उहाँहरु डा. भट्टराई पक्षमा हुनुहुन्थ्यो, मन्त्री फिर्ता बोलाउने निर्णय भएपछि यता खुल्नुभएको हो', ती नेताले थपे, 'त्यसअघि उहाँहरुले जसपामा अध्यक्षविरुद्ध के कस्तो बोल्नुभएको छ, त्यो कुराबारे उहाँ (उपेन्द्र) जानकार हुनुहुन्छ।’ 

र, अर्का नयाँ मन्त्री बन्ने चर्चामा रहेका नेता हुन् राष्ट्रिय सभा सदस्य मिर्गेन्द्र सिंह यादव।

उपेन्द्रलाई मन्त्री छान्न कठिन भएकैले २७ र २८ असारमा वीरगञ्जमा बस्ने केन्द्रीय समिति बैठकपछि मात्रै सरकारमा नयाँ अनुहार पठाउन सक्ने सम्भावना छ।

‘अहिले मन्त्री बनाउन अध्यक्षलाई गाह्रो छ, तरवार लिएर बसेका छन्,’ एक नेताले भने, ‘मन्त्री नपाए विद्रोह गर्छन्, बाबुरामजी पनि कुरेर बस्नुभएको छ। त्यही भएर बैठक अगाडि मन्त्री फेरिने सम्भावना कम छ।’

तर, मन्त्री बनाउने कुराले पार्टीमा समस्या नआओस् भनेर अध्यक्ष यादव सचेत छन्।

त्यहीकारण उनले हल्ला हुन नदिन मन्त्री छान्ने अधिकार आफूमै राखेका छन्।

भित्रभित्र काम गर्न रुचि राख्ने उपेन्द्रले खुसुक्क प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नयाँ मन्त्रीको नाम पठाउन सक्ने नेताहरु बताउँछन्।

‘१०/१५ जना मन्त्रीका आकांक्षी छन्, नपाउनेले तत्काल क्याम्प चेञ्ज गर्न सक्छन्,’ उपेन्द्रनिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘बैठकअघि फेर्ने तयारी देखिँदैन। तर राजनीतिमा रातारात धेरै भएको छ, नहोला भन्न सकिन्न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .