राजनीति


महानगर कार्यपालिका बैठक : रोकिएन सदस्यहरुसँग मेयर बालेन्द्रको बखेडा

महानगर कार्यपालिका बैठक : रोकिएन सदस्यहरुसँग मेयर बालेन्द्रको बखेडा

रुपक चौलागाईं
असार २१, २०७९ मंगलबार २०:५७, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका लागि कार्यपालिकाको पाँचौँ बैठक पनि सुखद हुन सकेन। पहिलो कार्यपालिका बैठकमा कांग्रेसबाट निर्वाचित वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालसँग चर्काचर्की परेपछि सुरु भएको बखेडा अझै रोकिएको छैन। 

आर्थिक वर्ष २०७८/०८९ को बजेट घोषणा गर्नुपूर्व बसेको कार्यपालिकाको बैठकमा पनि सदस्यहरुले महानगरको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

स्वतन्त्रबाट मेयर बनेपछि कार्यपालिका बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका बालेन्द्रले ५ असारको कार्यपालिका लाइभ नगर्ने बताएपछि विरोध सुुरु भएको थियो।

आजको बैठकमा केही वडाध्यक्षहरुले काठमाडौँको फोहोर र फुटपाथको विषय उठाएपछि केहीबेर रोचक सवालजवाफ भएको थियो। 

जब वडा नं १२ का अध्यक्षले मेयरले बाचा पुरा नगरेको बताए...
कांग्रेसबाट निर्वाचित वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जनले ‘काठमाडौँलाई फोहोरमुक्त बनाउने मेयरको कुरामा आफूलाई विश्वास नलागेको’ बताए।

‘काठमाडौँलाई फोहोरमुक्त बनाउने भन्ने कुरामा मलाई चाहिँ विश्वास लागेन है,’ कार्यपालिका बैठकमा वडाध्यक्ष महर्जनले भने, ‘तर, प्रमुखले भनेको कुरा पुरा भएन, त्यसकारण मैले नै झुट बोलेको जस्तो भयो।’

काठमाडौँको फोहोर उठाउनका लागि मेयर बालेन्द्रले ‘गाडी उपलब्ध गराउँछु’ भनेर गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै महर्जनले असन्तुष्टि पोखेका हुन्।

‘हुन त फोहोरको विषयमा मैले पहिला पनि ध्यानाकर्षण गराएको थिएँ। मैले १६÷१७ दिन अघि भन्दा तपाईंलाई कति गाडी चाहियो म हायर गरेर दिन्छु भन्नुभएको थियो,’ उनले भने, ‘तर, उपलब्ध भएन।’

बालेन्द्रको प्रतिप्रश्नः तपाईंले चाहिँ के गर्नुभयो?
वडाध्यक्षले यसरी रिस पोखेपछि हस्याङफस्याङ गर्दै मेयर बालेन्द्र उनको प्रश्नको जवाफ दिन थाले। महानगरले गरेका कामलाई ‘धन्यवाद’ नदिएको तर आलोचना बढी भएको उनले बताए।

‘टेकुमा दुर्गन्ध कम गर्न धेरै काम भए, तर, कहिले पनि धन्यवाद भन्न सक्नुभएन,’ उनले भने, ‘तपाईंले गाडी पठाइदिनुस भन्नुभयो, ४ वटा, ८ वटा पठाइयो त्यसको लागि कहिल्यै धन्यवाद भन्न सक्नुभएन।’

मेयर बालेन्द्र यतिमै रोकिएनन्। उनले आफ्नो वडाको फोहोर व्यवस्थापनका लागि वडाध्यक्षले केही नगरेको बताए।

‘हाम्रो फोहोर व्यवस्थापन समिति छ, समितिमा तपाईं पनि हुनुहुन्छ, फोहोरलाई कसरी मल बनाउन सक्छौँ भन्ने अध्ययनमा जानुभएको थियो,’ बालेन्द्रले भने, ‘यही बैठकबाट म सोध्न चाहन्छु, तपाईंले फोहोर व्यवस्थापनका लागि के गर्नुभयो। आफूले पनि आत्मालोचना गर्नुपर्ने कुराहरु छन्।’

‘धन्यवाद’ नभनेकोमा मेयरले असन्तुष्टि जनाएपछि महर्जनले त्यसको जवाफ दिएका थिए।

‘हजुरले जुन धन्यवाद दिएन भनेर भन्नुभयो, तर धन्यवाद दिने त्यस्तो काम नै भएन। मैले सोध्दा ५० वटा, सय वटा चाहिए पनि अहिले नै दिन्छु भन्नुभएको थियो,’ उनले भने, ‘लिजमा दिनका लागि तपाईंको अधिकार छ कि छैन भनेर सोधेको थिएँ। फेरि डिजेलको भाउ बढेर गाडी आएन भनियो। मैले त्यहाँ बोलेको कुरा पुर्याउन नसकेपछि कसरी धन्यवाद दिने तपाईंलाई?’

महर्जनले अहिले नै टेकुमा पुगेर त्यहाँको अवस्था जाँच गर्न चुनौती समेत दिए। 

‘अहिले जाउँ, भोलि बिहान जाउँ हेर्न टेकुमा के छ अवस्था? अहिले तपाईंले मलाई जुन आरोप लगाउनुभयो त्यो गलत छ,’ उनले भने, ‘तपाईंले जे भन्नुभयो त्यो गलत भन्नुभयो। यो त मान्छे मरिसकेपछि उपचार गर्ने कुरा गर्नुभयो तपाईंले, म तपाईंसँग धेरै विवाद गर्न चाहन्नँ।’

कर्मचारी नपाएपछि वडा नं ५ का अध्यक्षको आक्रोश
वडा नं ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले आफ्नो वडामा कर्मचारी नपठाएको भन्दै असन्तुष्टि राखे।

‘सुरुमै हामीले बोर्ड बैठकमा कर्मचारीको माग गरेका थियौँ, अहिले कति दिन भयो प्रमुखज्यू?’ प्रजापतिको आक्रोशमिश्रित प्रश्न थियो। 

जनताले सोध्दा दिने जवाफ आफूसँग नभएको उनको गुनासो थियो। 

‘अहिले महानगरपालिकामा नयाँ नेतृत्व आएको छ भनेर तुरुन्तै परिवर्तन हुन्छ भनेर आशा राखिएको छ,’ प्रजापतिले बैठकमा भनेका थिए, ‘जनताले मेयर र उपमेयरको के छ भनेर सोध्छन् तर मेरो एक जना कर्मचारी समेत छैन। मैले बारम्बार कुरा राखेको छु, मेरो वडामा दरबन्दी अनुसार कर्मचारी भएन भने मैले के काम गर्न सक्छु?’

फुटपाथदेखि इलेक्ट्रिसियनसम्मका प्रश्न
कार्यपालिका सदस्यहरुले अहिलेसम्म इलेक्ट्रिसियन नपाएको, फुटपाथ र फोहोर व्यवस्थापन नभएको कुरा उठाए। 

‘हामीले चुनाव जितेर आयौ, ठुल्ठूला आश्वासन दिएका छौँ तर अन्धकार छ,’ काठमाडौं ३१ बाट प्रतिनिधित्व गर्ने एक सदस्यले बैठकमा भने, ‘वडामा एउटा बत्ती पनि बाल्न सकेका छैनौँ। यो अन्धकार कहिलेसम्म राख्ने हो?’

प्रमुख प्रशासकीय अधिकृतले नगर सभामा ३१ नम्बर वडामा इलेक्ट्रिसियन पठाउने भने पनि काम नभएको उनले बताए।

‘आजसम्म एउटा इलेक्ट्रिसियन गएको छैन्। हामी कतिपटक धाउन पर्ने हो?’ बैठकमा उनको प्रश्न थियो।

त्यस्तै, अर्का एकजना कार्यपालिका सदस्यले फुटपाथ व्यवस्थापन नभई महानगर व्यवस्थित नहुने बताए। 

सेवासुविधा कटौती गर्ने रिजालको प्रस्ताव
वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले भने जनप्रतिनिधिको सेवा सुविधा काट्न माग गरे। 

‘हामी जनप्रतिनिधिहरु लोकसेवाबाट आएका होइनौँ, हामी जनताको सेवा गर्न आएका हौँ,’ रिजालले बैठकमा भने, ‘जनप्रतिनिधिलाई दिइएको सुविधा काट्न र नलिनका लागि अनुरोध गर्दछु।’

‘जो साथीहरु लोकसेवा दिएर जागिर खानका लागि आउनुभएको छ, हाम्रो सेवासुविधा उहाँहरुलाई नै दियो भने काममा निरन्तरता बढ्छ,’ उनले भने, ‘हामी जनतालाई सेवा गर्न आएका हौँ, जागिर खान आएका होइनौं।’

मेयर शाहले भने फोहोर व्यवस्थापनका लागि आफूहरु दिनरात लागिरहेको बताए।

‘बजेट बनिसकेको छैन, बजेट पारित भएको छैन। हामीले बजेट नै बनाउँदैछौँ, त्यसमा फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरले के के गर्न सक्छ भन्नेमा छलफल गरिरहेका छौँ,’ उनले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .