राजनीति


तथ्यांकमा बागमतीका ३३ सिट : अप्ठ्यारोमा कांग्रेस, दबावमा एमाले

कांग्रेस-एमालेको हारजितलाई स्वतन्त्र र माओवादी प्रभाव पार्ने
तथ्यांकमा बागमतीका ३३ सिट : अप्ठ्यारोमा कांग्रेस, दबावमा एमाले

सागर न्यौपाने
असार २७, २०७९ सोमबार १२:४३, काठमाडौँ

प्रतिनिधिसभामा ३३ वटा प्रत्यक्ष सिटको प्रतिनिधित्व गर्ने बागमती प्रदेशबाट ०७४ सालको चुनावमा नेकपा एमाले अरु दलभन्दा भारी मतले अगाडि थियो। तर यो स्थानीय चुनावको परिणामलाई हेर्दा नेपाली कांग्रेस भारी मतले अगाडि आएको छ।

अब मंसिरमा हुने आम निर्वाचनमा कसले बाजी मार्ला? यसबारे विश्लेषण गर्नका लागि हामीले २०७४ र २०७९ का दुईवटा चुनावलाई आधार मान्नुपर्ने हुन्छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन बनाएर ०७४ को संसदीय चुनाव लडेका थिए। त्यही गठबन्धनका कारण एमालेले देशका अन्य भागमा जस्तै बागमतीमा पनि राम्रो परिणाम ल्याएको थियो।

यसपालिको स्थानीय चुनावमा नेपाली कांग्रेसले माओवादीसँग अधिकांश ठाउँमा गठबन्धन गर्यो र एमालेको भन्दा राम्रो परिणाम ल्यायो।

एमालेले ०७४ को चुनावमा बागमतीका ३३ सिटमध्ये २० सिट जितेको थियो। माओवादीले एमालेसँग मिलेर ७ सिट जितेको थियो। नेपाली कांग्रेसले ५ सिट मात्रै जितेको थियो भने नेपाल मजदुर किसान पार्टीले एक सिट जितेको थियो।

२०७४ मा प्रत्यक्षतर्फ माओवादी केन्द्रले कांग्रेसको भन्दा बढी क्षेत्र जितेको थियो। काठमाडौं उपत्यकासहित १३ जिल्ला पर्ने बागमती प्रदेशमा माओवादी केन्द्रबाट संघीय संसदमा प्रत्यक्ष ७ जना सांसद छन्।

प्रतिनिधि सभामा १० निर्वाचन क्षेत्र भएको काठमाडौंमा कांग्रेसले १ मा प्रकाशमान सिंह, ४ मा गगन थापा, ६ मा भीमसेनदास प्रधान र १० मा राजन केसीले जितेका थिए। बाम गठबन्धनबाट २ मा माधवकुमार नेपाल (हाल समाजवादीका अध्यक्ष), ३ मा कृष्णबहादुर राई, ५ मा ईश्वर  पोखरेल, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए।

ललितपुर क्षेत्र नम्बर ३ मा पम्फा भुसाल, नुवाकोट १ मा हितबहादुर तामाङ, सिन्धुली ३ मा हरिबोल गजुरेल, चितवन ३ मा पुष्पकमल दाहाल प्रचण्ड, काभ्रे १ मा गंगाबहादुर तामाङ, रामेछापमा श्यामकुमार श्रेष्ठ विजयी भए।  यस्तै सिन्धुपाल्चोक १ मा अग्निप्रसाद सापकोटा विजयी भए। सापकोटा अहिले सभामुख छन्।

एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको पक्षमा माधवकुमार नेपाल, ललितपुरका २ का सांसद कृष्णलाल महर्जन, काठमाडौं–८ बाट जीवनराम श्रेष्ठ मकवानपुर–२ विरोध खतिवडा खुलेका छन्।

स्थानीय निर्वाचनको अंकगणित
स्थानीय चुनाव २०७९ सम्म आइपुग्दा नेपाली कांग्रेस पहिलो दल बन्न पुगेको छ। कुल १ हजार १२८ वटा वडाहरू रहेको बागमतीमा नेपाली कांग्रेसले ४९२ वटा जितेको छ। एमालेले ३६०, माओवादीले २०६, एकीकृत समाजवादीले २६, राप्रपाले १४, नेमकिपाले १२ र स्वतन्त्रले १८ वटा वडा जितेका छन्।

वडा तहमा पाएको बहुमतका आधारमा निर्वाचन क्षेत्रमा कसको प्रभाव बढी छ भनेर आँकलन गर्न सकिन्छ। यसरी वडाको जित संख्याका आधारमा ३३ वटा निर्वाचन क्षेत्रको विश्लेषण गर्दा नेपाली कांग्रेस अगाडि देखिन्छ।

वडाध्यक्ष जितेको संख्याका आधारमा विश्लेषण गर्दा नेपाली कांग्रेस बागमतीका ३३ मध्ये २२ स्थानमा अगाडि छ। दुईवटा स्थानमा एमालेसँग बराबरी छ  भने एउटा स्थानमा माओवादी र कांग्रेसले बराबर वडा जितेका छन्।

अघिल्लो संसदीय चुनावमा ३३ मध्ये २० सिट जितेको नेकपा एमाले  स्थानीय चुनावको वडागत आधारमा ६ वटा क्षेत्रमा मात्रै कांग्रेसभन्दा अगाडि देखिएको छ।

एमालेले बढी वडा जितेका निर्वाचन क्षेत्रहरु काठमाडौं ५, ललितपुर ३, चितवन १, सिन्धुपाल्चोक २, सिन्धुली १ र मकवानपुर १ हुन्। चितवन, रामेछाप र काठमाडौंका केही क्षेत्रमा एमाले बलियो देखिन्छ।

त्यस्तै, दोलखा, काभ्रे, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोटमा माओवादीले स्थानीय तहबाट राम्रो नतिजा ल्याएको छ। काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, ललितपुर, रसुवा र भक्तपुरमा कांग्रेस बलियो देखिन्छ।

 काठमाडौं जिल्लामा ११ स्थानीय तहबाट १३८ वडा छन्। कांग्रेसले ७२ वडा जितेको काठमाडौंमा एमालेले ५४, राप्रपा ४, माओवादी,स्वतन्त्रले समान ३/३ वडा जितेका छन्। एकीकृत समाजवादीले २ वडा अध्यक्ष जितेको छ।

३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले ललितपुरमा बागमती, महाँकाल गाउँपालिका अध्यक्ष, गोदावरी नगरपालिका प्रमुख र उपप्रमुख, ललितपुर महानगरपालिका प्रमुखसहित जम्मा  ३३ वडा जितेको छ। नेकपा एमालेले कोञ्ज्योसोम गाउँपालिकासहित २० वडा जितेको छ। एकीकृत समाजवादीले २ वडा जितेको छ।

ललितपुरको ३ नम्बर क्षेत्रबाट माओवादीले जम्मा ३ वटा वडा जितेको छ। ६ पालिका र ७१ वडा रहेको ललितपुरमा माओवादीले २ उपप्रमुखसहित जम्मा ९ वटा वडा जितेको छ।

जसमा क्षेत्र नम्बर १ मा पर्ने महाँकाल, बागमती, कोञ्ज्योसोम गाउँपालिका र गोदावरी नगरपालिकामा २ उपप्रमुखसहित जम्मा ४ वडा जितेको छ। यस्तै क्षेत्र नम्बर २ मा पर्ने महालक्ष्मी नगरपालिका १ वडा जितेको छ। क्षेत्र नम्बर ३ मा पर्ने ललितपुर महानगरपालिकामा माओवादीले जम्मा ३ वडा जितेको छ।

माओवादी केन्द्रले भरतपुर महानगरसहित १३ जिल्लाबाट २७ प्रमुख जितेको छ। २०७४ मा जितेका सिन्धुली, चितवन, काभ्रे, नुवाकोट, रामेछाप र सिन्धुपाल्चोकमा माओवादीले स्थानीय तह पनि जितेको छ।

ललितपुर भने नराम्ररी गुमाएको छ। १३ जिल्लामध्ये माओवादीले भक्तपुरमा कुनै पनि वडा जित्न सकेको छैन। एउटा उपप्रमुख भने जितेको छ।

यस्तै २ निर्वाचन क्षेत्र रहेको भक्तपुरमा ४ स्थानीय तह छन्। जसमा ३८ वडा छन्।  जसमा कांग्रेस १५, एमाले ९, माओवादीले कुनै वडा जित्न सकेको छैन। मजदूर किसान पार्टीले १२ वडा जित्दा राप्रपाले २ वडा जितेको छ।

भक्तपुरमा एमालेका महेश बस्नेतले क्षेत्र नम्बर २ बाट जितेका थिए। क्षेत्र नम्बर १ मा नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल निर्वाचित भएका थिए।

चितवनमा ७ तह छन्, जसमा १०१ वडा छन्। ४४ वडामा कांग्रेस जित्दा ३६ वडा एमालेले जितेको छ। माओवादीले १० वडा जित्दा ६ वडा एकीकृत समाजवादी, २ वडा राप्रपा र ३ वडामा स्वतन्त्रले जितेका छन्।

चितवनमा ३ वटा संघीय निर्वाचन क्षेत्र छन्। क्षेत्र नम्बर ३ मा माओवादी अध्यक्ष प्रचण्ड, १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए।

मकवानपुरमा १० स्थानीय तहमा १०२ वडा छन्। कांग्रेसले ४४, एमाले ३६, माओवादी केन्द्र २१, एकीकृत समाजवादीले १ वडा जितेका छन्। मकवानपुरमा २ निर्वाचन क्षेत्रमध्ये २ वटै एमालेले जितेको थियो। अहिले विरोध खतिवडा एकीकृत समाजवादीमा छन्।

सिन्धुपाल्चोकमा १२ तहमा १०३ वडा छन्। कांग्रेसले ५२ वडा जित्दा एमाले ३७, माओवादी ११, राप्रपा १, एकीकृत समाजवादी १ र १ स्वतन्त्रले जितेको छ। सिन्धुपाल्चोकमा संघीय निर्वाचन क्षेत्र २ वटा छन्। २०७४ मा एउटा एमाले र अर्काे माओवादीले जितेका थिए।

काभ्रेमा १३ स्थानीय तह छन्। १३५ वडा रहेको काभ्रेमा ६० वडा कांग्रेसले जितेको छ। यहाँ एमालेले ४३ वडा जित्दा माओवादी केन्द्रले २५, ४ वडा एकीकृत समाजवादी, १ राप्रपा र ३ स्वतन्त्रले जितेको छ।

धादिङ, नुवाकोट र सिन्धुलीमा माओवादीले एमालेलाई पछि पारेको छ। १२ पालिका भएको नुवाकोटमा माओवादीले २५ वडा जितेको छ, एमालेले २२ वडा जित्दा कांग्रेसले ४० वडा जितेको छ। स्वतन्त्रले १ वडा जितेको छ।

नुवाकोटमा प्रतिनिधि सभाका २ निर्वाचन क्षेत्र छन्। २०७४ मा क्षेत्र नम्बर १ मा माओवादीका हितमान तामाङ र २ मा एमालेका नारायणप्रसाद खतिवडाले जितेका थिए।

धादिङमा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र छन्। स्थानीय तहमा माओवादीले धादिङमा मात्रै ४ तहको प्रमुख, ३ मा उपप्रमुख र ३२ वडा जितेको छ।

कांग्रेसले ३६ वडा अध्यक्ष जितेको धादिङमा एमालेले २१ वडा जितेको छ। ७ वडा एकीकृत समाजवादी, ४ राप्रपा र ४ स्वतन्त्रले जितेका छन्। २०७४ को संघीय निर्वाचनमा दुबै क्षेत्र एमाले विजयी भएको थियो।

सिन्धुपाल्चोकमा माओवादीले चारवटा स्थानीय तह जितेको छ। चौतारा साँगाचोकगढी नगरपालिकाबाहेक सबै पालिका क्षेत्र नम्बर १ मा पर्छन्।

क्षेत्र नम्बर २ मा माओवादी केन्द्र कमजोर छ। इन्द्रावती, हेलम्बु र पाँच पोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकामा माओवादी कमजोर छ। मेलम्ची र पाँच पोखरी थाङपालमा माओवादीले कुनै पनि वडा जित्न सकेन।

इन्द्रावती नगरपालिकामा २ वटा वडा जितेको छ। सुनकोशी र हेलम्बु गाउँपालिकामा पनि माओवादी केन्द्रले कुनै वडा जित्न सकेन।

सिन्धुपाल्चोकमा माओवादीले कुल ११ वडा जितेको छ। कांग्रेसले ५२ वडा जित्दा, ३७ वडामा एमाले, एकीकृत समाजवादी १, राप्रपा १ र स्वतन्त्रले १ वडा जितेका छन्।

सिन्धुलीमा ९ पालिकाको ७९ वडा छन्। कांग्रेसले ३०, एमाले २३ जित्दा माओवादीले २६ वडा जितेको छ। सिन्धुलीमा २ निर्वाचन क्षेत्र छन्। क्षेत्र नम्बर १ मा एमालेका गणेश पहाडी र २ मा माओवादीका हरिबोल गजुरेल निर्वाचित भएका थिए।

रामेछापमा ८ पालिका छन्। ६४ वडा भएको रामेछापमा कांग्रेस र एमालेले समान २४, माओवादीले १५ र एकीकृत समाजवादीले १ वडा जितेका छन्। संघीय निर्वाचन क्षेत्र एउटा मात्र रहेको रामेछापमा माओवादीका श्यामकुमार श्रेष्ठले जितेका छन्।

दोलखामा ९ स्थानीय तहका ७४ वडा छन्। कांग्रेस २५, एमाले २४, माओवादीले २१ वडा जित्दा एकीकृत समाजवादी २ र स्वतन्त्र २ जनाले वडाअध्यक्ष जितेका छन्। दोलखामा एउटा संघीय निर्वाचन क्षेत्र रहेकोमा एमालेका पार्वत गुरुङ विजयी भएका छन्।

एक निर्वाचन क्षेत्र रहेको रसुवामा ४ स्थानीय तह छन्। ३१ वडा रहेको पालिकामा कांग्रेसले १५ वडा, एमालेले ११ वडा र माओवादी केन्द्रले ५ वडा जितेको छ।

अप्ठ्यारोमा सत्ता गठबन्धन, दबावमा एमाले
०७४ को संसदीय चुनावमा राम्रो परिणाम ल्याएको नेकपा एमालेले माओवादीसँगको गठबन्धनमै २० निर्वाचन क्षेत्र जितेको हो। त्यसैगरी अहिले स्थानीय चुनावमा कांग्रेसले राम्रो परिणाम ल्याउनुका पछाडि पनि माओवादी, एकीकृत समाजवादी जस्ता दलसँगको तालमेलले निर्णायक काम गरेको छ।

अब मंसिरमा हुने चुनावमा सत्तारुढ दलहरुले बागमतीमा ३३ सिटको भागवण्डा कसरी गर्लान् ? यो निकै चुनौतीपूर्ण देखिन्छ। विगतमा एमालेले जितेका धेरै स्थानमा एकीकृत समाजवादीले दाबी गर्ने सम्भावना देखिन्छ भने माओवादीले पहिले जितेका ७ भन्दा बढी नै कांग्रेससँग दाबा गर्ने सम्भावना रहेको नेताहरु बताउँछन्।

पहिले ५ सिटमा खुम्चिएको कांग्रेसले बागमतीबाट ५० प्रतिशत भन्दा बढी सिट माग्ने नेताहरु बताउँछन्।  त्यसो त स्थानीय चुनावपछिको वडागत जितका आधारमा २२ सिटमा अग्रता लिएको हुनाले कांग्रेस दुई तिहाई सिटमा दाबा गर्ने गरी हौसिएको स्रोतहरुको भनाइ छ।

यो पनि : सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रको विश्लेषण : कांग्रेसलाई दुईतिहाइको अग्रता

उता, माओवादी नेताहरुका अनुसार प्रचण्डले अब संघीय र प्रदेश निर्वाचनमा यसअघि जितेको कायम राखेर थप निर्वाचन क्षेत्रमा दाबी गर्नेछन्। तर, त्यसमा कांग्रेसले मान्ने सम्भावना छ कि छैन? नेताहरु खुल्न चाहँदैनन्।

जेहोस्, बागमती प्रदेशका १३ जिल्लामा पर्ने ३३ संसदीय निर्वाचन क्षेत्रमा यदि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भयो भने २०७४ को नतिजा उल्टिने सम्भावनालाई भने स्थानीय चुनावले नै प्रष्टैसित देखाइदिएको छ।

तर, गठबन्धन चाहिँ होला कसरी ? सत्तापक्षमा भागवण्डा मिल्न त्यति सजिलो देखिँदैन। नेकपा एमाले पनि जित निकाल्नका लागि माओवादी–कांग्रेस गठबन्धन तोड्नुपर्ने बाध्यतामा देखिन्छ।

काठमाडौंको बेग्लै हिसाब
गत स्थानीय चुनावमा वडाध्यक्ष कसले बढी जितेको छ भन्ने तथ्यांकका आधारमा मात्रै निर्वाचन क्षेत्रको आँकलन गर्न सकिँदैन भन्ने अर्को तथ्य पनि स्मरणीय छ।

उदाहरणका लागि काठमाडौं महानगरपालिकाको मत परिणामलाई हेरौं। यहाँ स्थानीय चुनावमा बालेन्द्र शाहले प्रमुख बाहेक एउटा वडाअध्यक्षसम्म जितेका छैनन्।

वडाध्यक्षको जितको संख्या हेर्दा कांग्रेस पहिलो र एमाले दोस्रो देखिन्छ। तर, समग्र जनमत हेर्ने हो भने कतिपय क्षेत्रमा स्वतन्त्रको मत निर्णायक हुने देखिन्छ।

खासगरी काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस र एमालेले पाएको मत भन्दा स्वतन्त्रले पाएको मत बढी छ। तर, वडामा हेर्दा कांग्रेसले ३ र एमालेले एउटा वडा जितेका छन्। यहाँ वडा जितका आधारमा कांग्रेस बलियो भन्न मिल्दैन।

किनभने, गत स्थानीय चुनावमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा बालेन्द्र शाहको पक्षमा ५ हजार ५१६ मत खस्दा कांग्रेसले ४ हजार ३३ र एमालेले ३ हजार ८२८ मत मात्रै पाएको तथ्यलाई बिर्सन मिल्दैन।

त्यसैगरी, महानगरले समेटेका काठमाडौंका ९ वटा संसदीय निर्वाचन क्षेत्रमा स्वतन्त्रको मत ठूला दललाई जिताउन वा हराउन निर्णायक बन्न सक्ने सम्भावना पनि विचारणीय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .