राजनीति


जसपा फुट : उपेन्द्रको शक्ति जतिको त्यति, बाबुरामले बढाए

जसपा फुट : उपेन्द्रको शक्ति जतिको त्यति, बाबुरामले बढाए

सागर न्यौपाने
असार ३०, २०७९ बिहिबार २१:५९, काठमाडौँ

‘कम्युनिस्ट–कांग्रेस मक्किसकेका घर हुन्, ती दुवै एकदिन गर्लम्म ढल्छन्,’ डा. बाबुराम भट्टराईले संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीचको एकता घोषणामा भनेका थिए, ‘कम्युनिस्ट नामको सरकार भ्रष्टाचार र लुटपाटमा लाग्यो।’

उपेन्द्र यादवको भनाइ पनि त्यही थियो। 

‘सरकारमा सिद्धान्त, विचार र नैतिकताबाट च्यूत भएका कमाउनिस्ट छन्, अहिलेका कम्युनिस्टलाई संघीयता, समानुपातिक समावेशीको कुरा गर्दा हजार भोल्टेजको करेन्ट लागेजस्तो हुन्छ।’ 

यसरी नेपाली राजनीतिमा ‘मक्किइसकेका’ दलहरुको विकल्प दिन भन्दै सँगै हिँड्ने फैसला गरेका बाबुराम र उपेन्द्रको बाटो अन्ततः ३९ महिनापछि अलग भएको छ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव खेमाको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले जसपाको विधान संशोधन, कार्यकारिणी समिति र केन्द्रीय समिति पुनर्गठन गरेको छ। उपेन्द्रले बाबुराम लगायतका नेतालाई कारबाही पनि गरेका छन्। 

उता बाबुराम पक्षले २९ असार २०७९ मा जसपालाई पुनर्गठन गर्ने निर्णय गरेको छ।

यो फुटपछि पनि उपेन्द्र यादवको ०७६ अघिको शक्ति कायमै रहेको देखिन्छ भने बाबुरामको शक्तिमा वृद्धि भएको छ। 

उपेन्द्र–बाबुरामको सहयात्रा : एकता र टुटफुटको उतारचढाव
२३ वैशाख २०७६ मा राष्ट्रिय सभागृह काठमाडौँबाट संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच पार्टी एकता गर्दै समाजवादी पार्टी जन्मियो। एकतापछि समाजवादी पार्टीका सांसद १७ जना पुगे। जसमा उपेन्द्रका १६ जना थिए भने बाबुरामका एक जना।

उपेन्द्र यादव नेतृत्वको फोरमले लिएको कार्यदिशा ‘संघीय समाजवाद’ र डा.बाबुराम भट्टराईको ‘समुन्नत समाजवाद’लाई संयोजन गरेर समुन्नत संघीय समाजवाद बनाएको उनीहरुको तर्क थियो। तर, एकता गरेको ११ महिना नपुग्दै सपाभित्र गम्भीर समस्या देखा पर्यो। 

७ जना सांसदहरुले समाजवादी फुटाउने योजना बनाए।  

ठीक त्यही बेला ओली सरकारले दल विभाजन गर्न सहज हुनेगरी १० वैशाख २०७७ मा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकै दिन रातको ११ बजे राजपाकी वरिष्ठ नेता निर्जला राउतको भैसेँपाटीस्थित घरमा बसेको बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता गर्ने निर्णय गर्यो।

सो चार बुँदे सम्झौतामा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका थिए भने समाजवादी पार्टीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले।

तर, सो बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा र राजकिशोर यादव उपस्थित थिएनन्। त्यसबेला यादव र झा काठमाडौँबाहिर रहेको भनियो। तर, उनीहरु एकताप्रक्रियाप्रति सन्तुष्ट नभएको समाचार त्यसबेलै सार्वजनिक भएको थियो।

एकतापछि पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) भयो। पार्टीको झण्डा समाजवादीको र चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता भयो। 

तर, तीन पार्टीबाट बनेको जसपाको एकता लामो समय टिकेन। एकवर्ष नहुँदै फेरि तीन टुक्रामा विभाजित भयो। १ साउन २०७८ मा जसपाबाट महन्थ ठाकुरले १३ जना सांसद लिएर लोसपा गठन गरे।

ठाकुरले लोसपा गठन गरेपछि जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच पुस २०७८ मा कार्यशैली र नेतृत्वका विषयमा विवाद भयो। 

नयाँ शक्ति र समाजवादी फोरमबीच एकता हुँदा ४२९ सदस्य केन्द्रीय समिति बनेको थियो।

फोरमबाट २ सय ७८ र नयाँ शक्तिबाट १ सय ५१ गरेर सो संख्या बनाउने सहमति बन्यो। बाबुराम संघीय परिषद् र उपेन्द्र केन्द्रीय समितिको अध्यक्ष बनेका थिए। त्यसपछि अशोक राई वरिष्ठ नेता बनाइए। सहअध्यक्ष थिए, राजेन्द्र श्रेष्ठ।

नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेनुकुमार यादव, हिसिला यमी, लालबाबु राउत, हेमराज राई  उपाध्यक्ष बनाइँदा महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहायप्रसाद यादव थिए। 

उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी थिए भने मोहमद इस्तियाक राई, दुर्गा शोभा, पर्शुराम बस्नेत, प्रशान्त सिंह सचिव बनाइएका थिए। कोषाध्यक्षमा विजयकुमार यादव चयन गरिएको थियो। 

दुई पार्टी एकताको एक वर्षपछि अर्थात् १० वैशाख २०७७ मा राजपासँग एकता भयो।

त्यो एकता हुनुमा मुख्य कारण सपा विभाजन गर्न प्रधानमन्त्री केपी ओलीले ल्याइदिएको राजनीतिक दल विभाजन गर्ने अध्यादेश हो। त्यस्तै, राजपाभित्रको समस्या र उपेन्द्र यादवको ठूलो शक्तिको नेता हुने महत्वाकांक्षाले पनि एकतामा भूमिका खेल्यो।

६ वटा पार्टी मिलेर बनेको राजपा ठूलो अध्यक्ष मण्डल, हरेक दुई–दुई महिनामा अध्यक्ष परिर्वतन हुने व्यवस्थाले राम्ररी चल्न  सकेन। ५ अध्यक्ष रहेकोले एकढिक्का थिएन। 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र मधेशमा केन्द्रित विभिन्न पार्टीबीच एकता गर्दै संगठन विस्तार गरेर ठूलो बनाउनेतिर लागे। यी नै कारणले सपा–राजपा एकता भयो र बन्यो जसपा।

तर, वरीयता विवादले जसपा बनेको डेढ महिनापछि २५ जेठ २०७७ मा मात्र निर्वाचन आयोगमा दर्ता भयो। ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति, ७ सय १ सदस्यीय केन्द्रीय समिति (सपाबाट ३५१ र राजपाबाट ३५०) बनेको थियो। जसमा महन्थ ठाकुर, उपेन्द्र यादव र बाबुराम भट्टराईगरी तीन जना अध्यक्ष थिए।

अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता बने। राजेन्द्र श्रेष्ठले पनि पुरानै जिम्मेवारी पाए। तर, अन्य कुनै विभागहरु बनेनन् र जिम्मेवारी पनि तोकिएन। यसले जसपाभित्र विवाद ल्यायो। महन्थ पक्ष र उपेन्द्र पक्ष गरी दुई धारमा जसपाका नेताहरु विभाजित हुन थाले।

त्यसको उत्कर्ष रुप केपी ओलीले ५ पुस २०७७ मा प्रतिनिधि सभा विघटन गरेपछि देखियो। संसद् विघटनको पक्षमा लाग्दै महन्थले चुनावमा जानुपर्ने र नयाँ म्यान्डेट लिनुपर्ने कुरा गर्न थाले। उपेन्द्र कांग्रेस, नेकपाका नेताहरुसँग आन्दोलनमा उत्रिए।

त्यही विवादले जसपा विभाजन भयो।

सर्वाेच्च अदालतले परमादेश दिएपछि प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले ३ साउन २०७८ मा दल विभाजन गर्न केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनै एकमा जम्मा २० प्रतिशत संख्या भए पुग्ने प्रावधान राखेर अध्यादेश ल्याइदिए। 

त्यही अध्यादेशले जसपाका अध्यक्ष महन्थ ठाकुरसहित पूर्वराजपाका राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण लगायतका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे। जसलाई निर्वाचन आयोगले ९ साउन २०७८ मा मान्यता दियो।

छिन्नभिन्न राजपा
७ वैशाख २०७४ मा मधेशमा रहेका ६ दल मिलेर राजपा गठन भएको थियो।

महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टी, महिन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)बीच एकता भएर ‘राष्ट्रिय जनता पार्टी’ बनेको थियो। 

चुनाव चिन्ह छाता राख्ने र पार्टीको नेतृत्व पुराना ६ दलका अध्यक्षहरुले २÷२ महिनामा पालैपालो गर्ने सहमति गरेका थिए।

राजपा बनेको ६ महिनामै असोज २०७४ मा वरिष्ठ नेता हृदयश त्रिपाठीले पार्टी परित्याग गरे। राजपा बनेको ३ वर्षपछि सपासँग मिलेर जसपा बन्यो। तर, जसपा बनेसँगै राजपाका नेताहरु भने तितर–वितर भएका छन्। केही शक्ति महन्थ ठाकुर नेतृत्वको लोसपामा छ भने केही शक्ति बाबुराम भट्टराईतिर लागेको छ।

पछिल्ला दिन जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराईबीच विवाद बढेपछि समानान्तर केन्द्रीय समिति बैठक बसेको छ।

बाबुरामले २८–२९ असारमा काठमाडौँमा केन्द्रीय समिति बैठक राखेर जसपालाई पुनर्गठन गर्ने निर्णय गराए। सो बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादव पनि उपस्थित भए। उनीसहित १२ जना नेताहरु बाबुरामको साथमा वैकल्पिक पार्टी बनाउने योजनामा छन्।

उता, बाबुरामतिरै खुलेका भनिएका राजपाकै अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव भने तटस्थ बसेका छन्। उनी कता खुल्छन्, स्पष्ट छैन।

राजपाका नेताहरुमध्ये कति उपेन्द्रतिर छन् भन्ने जानकारी दिन सो पार्टीले अस्वीकार गरेको छ। सबैभन्दा बढी महन्थ ठाकुरकै लोसपामा छन्। मृगेन्द्रसिंह यादव र मनिष सुमन उपेन्द्रतिर छन्।

‘तराई÷मधेशमा ठूलो शक्ति बन्ने योजनासहित बनेको राजपा छिन्नभिन्न भएकोे छ,’ उपेन्द्र पक्षीय एक नेताले भने, ‘केहीलाई सत्ताको लोभले बिगार्योे, केही गलत नेताको बहकाउमा लागे।’

उपेन्द्रको शक्ति जतिको त्यति
३२ जेठ २०७२ मा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकीकरण भएर ‘संघीय समाजवादी फोरम’ बनेको थियो। अनेक पटक पार्टी एकता र विभाजनपछि पनि उपेन्द्र नेतृत्वको सो शक्ति जतिको त्यति छ।

०७२ मा पार्टी अध्यक्ष उपेन्द्र यादव र संसदीय दलको नेता अशोक राई चुनिएका थिए। त्यसबेला उपेन्द्र यादवका १० र अशोक राईका ५ सहित १५ सांसद थिए।

एकतापछि उपाध्यक्ष ५, महासचिव, उपमहासचिव र सचिव २÷२ जनागरी १६ सदस्यीय पदाधिकारी बन्यो। जसमा लालबाबु राउत, रेणुकुमारी यादव, रकम चेम्जोङ, हेमराज राई र युवराज कार्की उपाध्यक्ष बने। राउत र यादव फोरम नेपालका थिए। चेम्जोङ र राई संघीय समाजवादीका थिए।

राजेन्द्र श्रेष्ठले सहअध्यक्षको जिम्मेवारी पाएका थिए। उनी यादव र राईपछि तेस्रो वरीयतामा थिए। महासचिवमा रामसहाय प्रसाद यादव (फोरम नेपाल) र रणध्वज कन्दङ्वा (संघीय समाजवादी)का थिए।

उपमहासचिवमा उपेन्द्र पक्षका अभिषेकप्रताप साह र रत्नेश्वरलाल कायस्थ बन्दा दानबहादुर विक र परशुराम बस्नेत अशोक राई पक्षका थिए। कोषाध्यक्षको जिम्मेवारी उपेन्द्र पक्षकै विजयकुमार यादवले पाए। 

बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग एकता गरेर सपा बनाउँदादेखि अहिले बाबुरामले समानान्तर समितिको अभ्यास गर्दा उपेन्द्रको शक्ति कायम छ। उनी पक्षका हेमराज राई (कतै नखुलेका) बाहेक सबै नेताहरु उपेन्द्र–अशोकसँगै छन्।

बीचमा एक महिना अशोक राई बाबुराम भट्टराईसँग नजिक थिए। तर, जसपालाई पुनर्गठन बाबुरामको योजनामा अशोकले साथ दिएनन्। उपेन्द्र पक्षका कुनैपनि नेता बाबुरामतिर खुलेनन्।

बाबुरामले शक्ति बढाए
पूर्वमाओवादीका केही प्रभावशाली नेताहरु लिएर बाबुरामले ३० जेठ २०७३ मा नयाँ शक्ति गठन गरेका थिए। सुरुमा पार्टीको २ सय ६५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद् बनाइएको थियो। जसमा पूर्वअर्थसचिव रामेश्वर खनालदेखि अभिनेता सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र अशोक शर्मा पनि थिए।

तर, उनको पार्टीमा लागेका देवेन्द्र पौडेलसहितका ५० बढी नेता ८/९ महिनापछि फेरि माओवादीमै फर्किए। बाबुरामले नयाँ शक्ति बनाउने र देशकै वैकल्पिक शक्ति बनाउने योजनासहित पार्टी निर्माण गरिरहे। तर, उनी कुनैमा पनि सफल भएनन्। 

यद्यपि, संघीय समाजवादीदेखि जसपा पुनर्गठन गर्दासम्म बाबुरामको शक्ति भने बढ्दै गएको देखिन्छ। 

अहिले उनीसँग पूर्व राजपा र समाजवादी फोरमका नेताहरुसहित पूर्वमाओवादी नेताहरु पनि छन्। अहिले उनीसँग हिमाल, पहाड र तराई, सबैतिरका नेता छन्। ती नेता प्रभावशाली छन्। जसपाको बहुमत समूह उपेन्द्रसँग भए पनि बाबुराम विगतमा सफल भनेर चिनिएका नेताहरुलाई आफूसँग राख्न सफल भएका छन्।

उपेन्द्रसँग बिच्किएका केही नेताहरु अझै आफूतिर खुल्ने बाबुरामको विश्वास छ। वैकल्पिक शक्ति निर्माणको यात्रा नरोकिने उनले बताएका छन्।

आगामी चुनावमा लोसपा, एमाले, माओवादी केन्द्र र कतै कांग्रेससँग समेत तालमेल हुनसक्ने बाबुरामले संकेत गरेका छन्।

अहिले बाबुरामलाई जसपाको कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका १ सय ६० भन्दा बढी सदस्यले साथ दिएका छन्। स्रोतका अनुसार बाबुराम र उपेन्द्र दुवैतिर नखुलेका अमृता अग्रहरि, हेमराज राई, राजकिशोर यादव, रामनरेश यादव सहितका ८ नेताहरुले कसलाई साथ दिन्छन् खुलेको छैन।

उपेन्द्रनिकट मानिएकी रेणुकुमारी यादवले पनि जसपा छोडेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .