राजनीति


चुनावपछि संसदमा ‘चौथो पोल’ खडा गर्ने कसरत

चुनावपछि संसदमा ‘चौथो पोल’ खडा गर्ने कसरत

सागर न्यौपाने
साउन ८, २०७९ आइतबार १७:३८, काठमाडौँ

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी तीन धार नेपाली राजनीतिका मूल प्रवृत्ति हुन्। माधव नेपाल, वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई मिलाएर ‘समाजवादी केन्द्र’ बनाउने प्रचण्डको प्रयास सफल भयो भने पनि चुनावमा प्रचण्ड कांग्रेस र एमालेपछिको तेस्रो शक्तिकै नेता हुनेछन्।

तर, चुनाव आउनै लाग्दा नेपाली राजनीतिमा अर्को चौथो ‘पोल’समेत खडा गर्ने प्रयास भइरहेको छ। तर, त्यो ‘चौथो पोल’को नेतृत्व कसले गर्छ भनेर अहिले नै आकलन गर्न कठिन छ।

राप्रपाका राजेन्द्र लिङ्देनले चौथो शक्ति बन्न गरेको प्रयास खासै सार्थक हुने देखिएको छैन। रवीन्द्र मिश्रको साझा विवेकशीलले पनि चौथो विकल्प बन्ने अवसर लगभग गुमाइसकेको छ। 

यो अवस्थामा उपेन्द्र यादवले महन्थ ठाकुर नेतृत्वको लोसपासँग एकता गरेको खण्डमा भने मधेसकेन्द्रित चौथो राजनीतिक शक्ति आगामी संसदमा उपस्थित नहोला भन्न सकिँदैन। किनभने, यादवसँग अहिले पनि संगठित र बलियो आधार छ।

तर, प्रचण्डले बनाउने भनेको समाजवादी केन्द्रमै उपेन्द्र यादव समाहित हुन्छन् या चौथो शक्तिको रिक्त स्थान ओगट्न लाग्छन्, अहिले नै भन्न सकिने स्थिति छैन।

२०७४ को संघीय निर्वाचनमा जम्मा पाँचवटा दल मात्र थ्रेसहोल्ड कटाए र राष्ट्रिय पार्टी बनेका थिए। ६७ दलले भाग लिएको त्यसबेलाको संसदीय चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले मात्र थ्रेसहोल्ड कटाउन सफल भएका थिए।

गत ३० वैशाख २०६९ मा भएको स्थानीय तहको निर्वाचनमा मुख्य तीन दल शक्तिमा देखिए। राजपा र संघीय समाजवादी पार्टीबीच एकता भएर बनेको जनता समाजवादी पार्टी (जसपा), जसपाबाट विभाजन भइ बनेको लोसपा स्थानीय तहको प्रमुख जितेका आधारमा क्रमशः चौथो र पाँचौँ शक्ति भए।

तर, दुईवटै पार्टी क्षेत्रीय शक्ति बने, राष्ट्रिय बन्न सकेनन्। स्थानीय तह जित्दा दुबै दल मधेसमै खुम्चिए। चुनावलगत्तै जसपा फुटिसकेको छ।

संघीय निर्वाचनमा पनि कांग्रेस, एमाले र माओवादी केन्द्र नै निर्णायक शक्ति बन्ने सम्भावना स्थानीय निर्वाचनले देखाइसकेको छ। यद्यपि चुनाव आउन अझै चार महिना बाँकी छ।

स्थानीय तहमा जनताले दिएको मतलाई मात्र आधार मान्दा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिन्छ भने माओवादी निर्णायक मतसहित तेस्रो स्थानमा छ। यस्तो परिस्थितिले नै हुनुपर्छ, संघीय निर्वाचनको मिति नजिकिँदै जाँदा चौथो राजनीतिक पोल निर्माणको प्रयास भित्रभित्र भइरहेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका साथै बाबुराम भट्टराई र वामदेव गौतमलाई समेत समेटेर बलियो ‘थर्ड पोल’ बनाउन खोजेको देखेपछि उपेन्द्र यादव र राजपाले चौथो शक्तिका लागि प्रयास गर्न सक्ने देखिन्छ।

केही तथ्य हेरौँ।

कम्युनिष्ट पार्टीहरू मिलाउन भइरहेका पछिल्ला प्रयास, मधेस केन्द्रित दलहरु लोसपा र जनमत पार्टी मिलाउने कोसिस र उपेन्द्र यादव नेतृत्वको जसपालाई समेत एकै ठाउँमा उभ्याउने गरी भइरहेको अर्काे तयारी पहिलो तथ्य हो।  

दोस्रो तथ्य, स्थानीय तहमा मिलेकै पाँचदलीय गठबन्धनलाई मंसिरसम्म एकै ठाउँमा राख्ने। बरु अहिले नै शक्ति बाँडफाँट गरेर समझदारी बनाउन भइरहेका भित्री योजना।

यी त भए खुलेआम देखिने गरी विकसित भइरहेका घटनाक्रम। यसबाहेक अर्काे एउटा तयारी पनि सँगसँगै भइरहेको छ। त्यो हो, ‘चौथो तर निर्णायक शक्ति’।

थ्रेसहोल्ड कटाएर सत्ता गठनका लागि आवश्यक सिट जितेको अवस्थामा त्यही शक्ति निर्णायक हुनेछ।

जबकि नेपाली कांग्रेसले एकल बहुमत ल्याउनेगरी तयारी गर्ने निर्णय गरिसकेको छ।

प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरेर २ सय ७५ संख्या छ।

अहिलेको अवस्थामा एकल बहुमत ल्याउन १३८ सिट जित्नुपर्छ।

कांग्रेसको रणनीति सके एक्लै नसके त्यही नयाँ शक्तिसँग मिलेर सत्ता चलाउने हो।

विभिन्न स्रोतहरूले नेपालखबरलाई दिएको जानकारीअनुसार मधेस केन्द्रित राजनीति गरिरहेका दल, केही वामपन्थी शक्ति र केही लोकतान्त्रिक शक्तिबीच त्यही योजना कार्यान्वयन कोसिस भइरहेको छ।

स्थानीय तहको निर्वाचन परिणामपछि त्यसले तीव्रता पाएको छ।

जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), डा. सिके राउत नेतृत्वको जनमत पार्टी, वृशेषचन्द्र लाल नेतृत्वको तमलोपा, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र केही स्वतन्त्रलाई एकै ठाउँमा ल्याउने वार्ता, छलफल भइरहेको स्रोत बताउँछ। यो समाचार तयार पार्दासम्म त्यस योजनामा होमवर्क भइरहेको छ तर, मूर्तरूप लिइसकेको भने छैन।

चौथो शक्तिको गर्भाधान?
३० वैशाख २०७९ को स्थानीय तह परिणामले कांग्रेस, एमाले र माओवादी केन्द्र बाहेक छुट्टै नयाँ शक्तिको उदय गराउन सकेन।

अर्थात् काठमाडौंमा बालेन्द्र शाह, धरानमा हर्क साम्पाङ, धनगढीमा गोपाल हमालबाहेक दलबाहेकका शक्तिले चुनाव जितेनन्।

बरु विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेकै कारण एमालेले ८९ तह गुमायो। समाजवादीकै कारण ५४ वटा तहमा एमाले हार्‍यो।

विभाजित भएकैले जसपा र लोसपाले पनि २०७४ मा जितेको तह जोगाउन सकेनन्, गुमाए। स्वतन्त्र, युवा भनिएकाहरुलाई पालिका जिताएर त्यसकै आधारमा संघीय र प्रदेशको चुनाव पकडमा पार्ने प्रयास सफल भएन।

काठमाडौं महानगर, धरान र धनगढी उपमहानगर लगायतका केहीमा स्वतन्त्रले जिते पनि धेरै ठाउँमा मूलधारका दलकै बर्चस्व देखिएपछि मंसिरमा हुने संघीय निर्वाचनमा ‘अर्काे÷चौथो शक्ति’ निर्माणमा केही नेताहरु लागेका छन्।

लोसपाका एक नेताका अनुसार लोकतान्त्रिक, बाम घटक र मधेस केन्द्रीत दललाई एकैठाउँमा ल्याएर ‘बृहत शक्ति निर्माण’ हुँदैछ।

‘पहिलो, मधेस केन्द्रीत दल लोसपा, जसपा मिलाउने र तमलोपादेखि हृदयश त्रिपाठीसम्मलाई एकै ठाउँमा ल्याएर चुनाव लड्ने, केही चरण कुराकानी भइसकेको छ,’ ती नेताले नेपालखबरसँग भने, ‘नयाँ नयाँ एलायन्स प्रयास पनि भइरहेको छ।’

गत २०७४ को चुनावमा एक सिट प्रत्यक्ष जितेर थ्रेस होल्ड कटाएका दलले ७६ हजार बढी मत बराबर एक समानुपातिक सांसद पाएका थिए। सबै दल मिल्न सके समानुपातिकमा पनि राम्रो मत आउने र त्यही मतका आधारमा केही सिट बढ्न सक्ने उनीहरुको विश्लेषण छ।

वाम मिलनको भाँजो?
जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टी पुनर्गठन गर्न लागेका छन्। उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट गरेर पार्टी एकता गर्ने तर नाम परिवर्तन गर्नुपर्ने सर्त राखेका छन्।

प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी, वामदेव गौतमको नेकपा (राष्ट्रिय एकता अभियान) बीच एकता गरेर नेकपा समाजवादी केन्द्र बनाउने प्रस्ताव अघि सारे।

कांग्रेससँगको गठबन्धन के हुन्छ प्रष्ट छैन तर, समाजवादी केन्द्र बन्ने कुरा निश्चित भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए।

‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले भने,‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौँ।’

‘१६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने हाम्रो तयारी छ। कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ।’

आगामी चुनावपछि एउटा शक्ति कांग्रेसले नेतृत्व गर्ने र अर्काे शक्ति वाम शक्तिबीचबाट बन्ने समाजवादी केन्द्रले गर्ने पुनको भनाई छ।

‘अब परम्परागत शक्तिको नेतृत्व कांग्रेसले गर्छ। प्रगतिशील शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्छ,’ उनले भने, ‘एमाले कता जाने भन्ने उसले निर्णय गर्ने कुरा हो।’

पुनले यस्तो दाबी गरे पनि नेकपा एमालेसँग मिलेर चुनावमा जानुपर्ने मत माओवादी भित्रै बलियो छ।

त्यसकै लागि केही नेताहरु प्रचण्ड–केपी ओलीको दैलो धाइरहेका छन्।

‘जसपा पार्टीबाट वैकल्पिक शक्ति निर्माण भएन, राष्ट्रिय पार्टी पनि बनेन,’ डा. भट्टराई निकट एक नेताले नेपालखबरसँग भने, ‘सबै पार्टीका नेताहरु अट्ने बृहत्तर पार्टी बनाउने हाम्रो प्रयास जारी छ।’

चौथो शक्ति निर्माणमा डा. बाबुराम भट्टराईलाई पनि संलग्न गराउने प्रयास थियो। तर, स्थानीय निर्वाचन परिणामले उनी वाम गठबन्धनतिर आकर्षित छन्।

भट्टराई जसपालाई बनाउन नसक्ने ठहरसहित नयाँ पार्टी बनाउने अभियानमा लागिसके।  

अब कुन–कुन दल मिलाउने?
जसपा, लोसपादेखि कम्युनिष्ट पार्टीहरूलाई एकै ठाउँमा ल्याएर चौथो शक्ति बनाउने सम्भावना अझै छ।

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले नयाँ एलायन्स हुने दाबी गरे।

‘जसपा विभाजन भयो, बाबुरामजी सबैसँग छलफलमा हुनुहुन्छ’, भण्डारीले भने, ‘मधेसकेन्द्रित दलबीच नयाँ एलायन्सको प्रयास भइरहेको छ।’

‘जसपा एक भएर चुनावमा गएको भए स्थानीय चुनावमै बलियो बैकल्पिक शक्ति बन्थ्यो,’ भण्डारीले थपे, ‘नेपाली राजनीतिको शक्तिशाली बन्ने त्यो पार्टी फुट्यो र शक्ति गुमायौँ, यो कुरा महसुस भएको छ।’

१ साउन २०७८ मा जसपा विभाजन भएर लोसपा बन्यो। महन्थ ठाकुरले लोसपा बनाएपछि जसपाभित्र नेतृत्वको विषयले विवाद बढ्यो।

विवादले उत्कर्ष रुप लिएपछि डा. भट्टराईले (२८–२९ असार)मा जसपा पुनर्गठन गर्ने निर्णय गराइसकेका छन्।

तराईमा लोसपाको घट्दो क्रेज, सिके राउत र रेशम चौधरी पनि अलग अलग हुँदा मत विभाजन भएको र आगामी संघीय निर्वाचनमा यही परिणाम आए कुनैले पनि थ्रेस होल्ड कटाउन नसक्ने खतरा देखेपछि एउटा शक्ति बनाउने पहल विभिन्न ठाउँबाट भइरहेको लोसपाका वरिष्ठ नेता भण्डारीले बताए।

तर, यसअघि बैकल्पिक शक्ति बनाउने प्रयास असफल भइसकेको छ।

आ–आफ्नै दाउ
स्थानीय तहको निर्वाचन परिणाम सोचेजस्तो नआएको निष्कर्षमा पुगेको लोसपा पनि शक्ति आर्जनका लागि प्रयासरत छ।

पहिलो, मधेस केन्द्रित दलबीच कार्यगत एकताबाट एउटा शक्ति निर्माण गर्ने।

दोस्रो, कांग्रेससँग गठबन्धन बनाएर चुनावमा जाने र निर्णायक शक्ति बनेर सरकार निर्माणमा भूमिका खेल्ने।

त्यसो गर्दा अहिले भएका एमाले र माओवादीलाई प्रतिपक्षमा राख्न सकिन्छ र पाँच वर्ष सत्ता चलाउन पाइने कांग्रेसको विश्लेषणमा लोसपाले साथ दिन्छ। बैकल्पिक शक्ति नबने कांग्रेससँग मिलेर संघीय निर्वाचन लड्ने लोसपा नेता भण्डारी स्वीकार गर्छन्।

‘हाम्रो पहिलो प्रयास मधेसमा शक्ति बढाउने हो,’ त्यो नभए एलायन्स/गठबन्धन कांग्रेससँग गर्छौँ हाम्रो कुरा पनि मिल्छ,’ भण्डारीले भने, ‘लोकतान्त्रिक शक्तिले मिलेर चुनाव जितेपछि कम्तीमा कांग्रेसले चाहे जस्तै हुन्छ।’

लोसपाका अर्का वरिष्ठ नेता राजेन्द्र महतोले बैकल्पिक शक्ति बनाएर देशलाई नयाँ ठाउँमा लैजान आवश्यक रहेको बताए।

‘कसैलाई मन्त्री बनाउन वा कुर्सी जोगाउन एकता होइन,’ महतोले नेपालखबरसँग भने, ‘बैकल्पिक शक्ति देशलाई नयाँ ठाउँमा लैजान हुनुपर्छ।’

तर, वाम शक्तिहरूलाई एकै ठाउँमा मिल्न दिए ०७४ मा जस्तै २३ सिटमा खुम्चनुपर्ने खतरालाई कांग्रेस सभापति शेरबहादुर देउवाले राम्रोसँग बुझेका छन्। त्यही भएर आगामी प्रधानमन्त्री पद सम्झौता गरेरै पनि आगामी चुनावसम्म पाँच दलीय गठबन्धन टिकाउन चाहन्छन्।

चुनावमा आफ्नो पक्षमा बहुमत सिट जित्ने गरी राख्ने निर्णय गर्नुको कारण त्यही हो।

कांग्रेसले समानुपातिकबाट कम्तीमा ४२ सिट पाउने विश्लेषण गरेको छ, ०७४ मा उसले ४० सिट पाएको थियो। यस्तै प्रत्यक्षमा कम्तीमा ९५ सिट लिने उसको योजना छ। ०७४ मा उसले प्रत्यक्षतर्फ २३ सीट जितेको थियो।

यदि प्रत्यक्षमा ८५ सिट मात्र जित्यो भने पनि कांग्रेसले समानुपातिकबाट ४२ सिट पाउँदा १२७ सिट जित्नेछ। त्यसबेला उसलाई जम्मा ११ सिट भएको कुनै दलसँग मिल्दा सरकार बनाउन बहुमत पुग्छ।

हो, यही भएर अहिले विभिन्न च्यानलमार्फत अर्काे शक्ति (जसलाई चौथो शक्ति भनिएको छ) बनाउने प्रयास भइरहेको छ। स्रोतहरूका अनुसार त्यसमा प्रत्यक्ष/अप्रत्यक्ष कांग्रेस र मधेसकेन्द्रित दलहरु लागेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .