राजनीति


‘नेकपा’ शब्दले रोकियो समाजवादी केन्द्र घोषणा

कांग्रेससँगै मिलेर चुनाव लड्ने प्रचण्डको लाइन
‘नेकपा’ शब्दले रोकियो समाजवादी केन्द्र घोषणा

फाइल फोटो


सागर न्यौपाने
साउन १३, २०७९ शुक्रबार २१:५१, काठमाडौँ

नेकपा माओवादी केन्द्रसहित तीन कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी छाड्न लागेका डा. बाबुराम भट्टराईबीच एउटा शब्दमा सहमति नजुट्दा समाजवादी केन्द्र घोषणा रोकिएको छ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा (एकता राष्ट्रिय अभियान) र निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गराएका डा.भट्टराईबीच नेकपा शब्दलाई लिएर सहमति जुट्न नसकेको हो।

तीन कम्युनिष्ट घटक नेताहरु र भट्टराईबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एकै मोर्चा वा गठबन्धनबाट जानेगरी छलफल भए पनि सहमति जुटिसकेको छैन। 

शीर्ष तहमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र एकता अभियानका संयोजक वामदेव गौतमबीच छलफल भइरहेको छ।

प्रचण्ड–बाबुराम, बाबुराम–माधव, बाबुराम–वामदेवबीच १६ असार, १९ असार, ३, ५ र ९ साउनमा समाजवादी केन्द्रलाई लिएर वार्ता भइसकेको छ।

चुनावअघि नै समाजवादी केन्द्र बनाउनेगरी छलफलमा शीर्ष नेता मात्रै नभइ दोस्रो तहका पनि सहभागी छन्।

माओवादीबाट वर्षमान पुन, हितमान शाक्य, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाल र  कर्णाली इन्चार्ज प्रकाश ज्वाला, भट्टराई पक्षबाट गंगा नारायण श्रेष्ठ लगायतबीच निरन्तर छलफल भइरहेको छ।

तर, छलफलमा ‘नेकपा’ शब्दमा सहमति जुट्न नसकेको एक नेताले बताएका छन्। 

ती नेताका अनुसार दैनिकजसो छलफल भए पनि सहमति नजुट्नुको कारण नेकपा शब्द नै हो।

पछाडि समाजवादी केन्द्र राख्न सबै सहमत भए पनि अगाडि ‘नेपाल र नेकपा’ मध्ये एक राख्ने विषयमा कुरा मिलेको छैन।

‘समाजवादी मोर्चा-गठबन्धन बनाएर चुनावमा जाने प्रक्रिया अघि बढिसकेको छ,’ छलफलमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘तर, नामको अगाडि नेपाल राख्ने कि नेकपा भन्नेमा मत बाझिएको छ।’

बाबुराम भट्टराई र उनी पक्षका नेताहरु नेकपा राख्न तयार छैनन्। भट्टराईले प्रष्टैसँग नेकपा अब नबिक्ने बताएका छन्। माओवादी छाडेसँगै उनी आफूलाई समाजवादी नेताका रुपमा स्थापित गर्न खोजिरहेका छन्। 

‘नेकपा नराखौँ, बिक्दैन, नेपाल समाजवादी केन्द्र राखौँ', भन्ने बाबुरामजीको प्रस्ताव छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘माओवादी केन्द्र, वामदेवजी र हाम्रो समाजवादीका साथीहरुले त्यो कुरा मानेनौँ।’

ती नेताका अनुसार, झलनाथ र माधव नेपालले नेकपा नराख्ने हो भने उक्त शब्द एमालेको मात्रै हुन पुगेर जनतामा झन् केपी शर्मा ओली नै चर्चित हुने बताएका थिए।

‘हामीले नेकपा नराख्ने हो भने ओलीको मात्रै हुन्छ त्यो त, जनतामा उनी मात्रै कम्युनिष्ट जस्तो पर्छ। त्यहीकारण नेकपा राख्नैपर्छ, नेकपा समाजवादी केन्द्र बनाउनुपर्छ,’ बैठकमा झलनाथ–माधव लगायत नेताहरुको भनाइ उद्धृत गर्दै उनले भने।

अर्को, नेपाल समाजवादी गठबन्धन बनाए जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने नेताहरुले बताएका थिए।

‘उपेन्द्रजी ‘नेकपा समाजवादी केन्द्र’ बनाए गठबन्धनमा आउनुहुन्न, उहाँले अलग रुपमा गठबन्धनमा रहने बताउनुभएको छ,’ छलफलमा उठेको कुरा उद्धृत गर्दै अर्का नेताले भने, ‘उपेन्द्रजीको जोड नयाँ गठबन्धन आवश्यक छैन भन्ने हो, त्यसको मुख्य कारण नेकपा हो, यसबारे हामी लचक हुनैपर्छ।’

स्रोतका अनुसार नेकपा राख्ने कि नराख्ने सहमति नजुट्दा घोषणा पनि अड्किएको छ।

उनीहरुबीच कांग्रेससहितको गठबन्धन कायम राखेर चार दलबीच मोर्चा बनाउने विषयमा सहमति जुटेको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार कांग्रेससँगको गठबन्धन कायम गर्दै वाम कम्युनिष्टबीच समाजवादी मोर्चा बन्ने बताएका छन्।

पेरिसडाँडामा बिहीबार (१२ साउन)मा बसेको स्थायी समिति बैठकमा प्रचण्डले चार दलबीच मोर्चा वा एकता संयोजन समिति बन्ने ब्रिफिङ गरेका थिए।

‘हामीले चाहेको कम्युनिष्ट एकता तत्काल संभव छैन, बरु एकता संयोजन समिति वा मोर्चा बन्छ,’ प्रचण्डको भनाई उधृत गर्दै एक नेताले नेपालखबरसँग भने, ‘कांग्रेससँगको गठबन्धन चुनावसम्म रहन्छ। यसबाट दायाँबायाँ गर्ने सोच्नुहुन्न।’

तर, उनैले प्रेस सेन्टर नेपालको बैठकलाई शुक्रबार सम्बोधन गर्दै तत्काल समाजवादी केन्द्र नबन्ने घोषणा गरे।

दाहालले यदि समाजवादी केन्द्र बनेमा चुनावपछि मात्रै सम्भव हुने उल्लेख गरे। उनले अहिलेलाई कांग्रेससँगको गठबन्धन कायमै राखेर चुनावमा जाने पनि प्रष्ट्याए। अझ अघि बढेर उनले यो गठबन्धन चुनावपछि पनि कायमै रहने उद्घोष गरे।

'समाजवादी केन्द्र तत्कालै बन्नेवाला छैन। हामीले समाजवादी केन्द्र बनाइहालौँ भनेर छलफल पनि गरेका छैनौँ । केही–केही साथीहरुले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो। तर हाम्रा बैठकहरूमा समाजवादी केन्द्र तत्काल बन्ने कुरा भएको छैन,' प्रचण्डले शुक्रबार भने 'चुनावी मोर्चा निर्माणपछि पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणापत्र र चुनाव चिह्न बनाएर जान सकिन्छ कि भन्ने छलफल चलेको छ, टुंगिसकेको छैन। जे भए पनि यही गठबन्धन चुनावसम्म जान्छ। हामीले यसैबाट देशमा राजनीतिक स्थायित्व र विकास ल्याउनु छ।’

प्रचण्डले बिहीबार एमालेसँग गठबन्धन वा तालमेलको ‘च्याप्टर क्लोज’ भएको पनि बताएका थिए।

माओवादी र एमाले नेताहरुबीच गठबन्धन वा तालमेलको प्रयास भइरहेका बेला प्रचण्डले त्यो सम्भावना तत्कालका लागि अन्त्य भएको बताएका थिए।

‘आगामी चुनावसम्म एमालेसँगको गठबन्धनको च्याप्टर क्लोज भयो,’ प्रचण्डले बैठकमा भनेका थिए, ‘तत्कालका लागि त्यो सम्भावना छैन।’

एकै चुनाव चिह्न
तर एकजना नेताले भने समाजवादी केन्द्र निर्माण अघि बढेको बताउँदै एमालेबाहेकका चार दलबीच एकै चुनाव चिह्न लिएर लड्ने सहमति भइसकेको दाबी गरे। 

एमालेबाहेकका चार दलबीच एउटै चुनाव चिह्न लिएर उठ्न सहमति भइसकेको तीन नेताले ठोकुवा गरे।

‘एउटै चुनाव चिन्ह लिएर प्रत्यक्षमा चुनाव लड्ने र समानुपातिकमा आफ्नै दलको चुनाव चिह्नमा मत माग्ने सहमति बनिसक्यो,’ छलफलमा सहभागी ती नेताले नेपालखबरसँग भने।

तथ्यांकसहितको छलफल
१० र ११ साउनमा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र उपेन्द्र यादवको जसपाका नेताहरुबीच माओवादी पार्टी कार्यालय पेरिसडाँडामा घण्टौँ छलफल भएको छ।

उक्त छलफलमा १ सय ६५ निर्वाचन क्षेत्रमा जितेको हिसाब, अबको चुनावमा कोसँग मिल्दा जित्ने सम्भावना कस्तो छ? एमाले र कांग्रेसको अवस्था कस्तो थियो? लगायत विषयमा तथ्याङ्कसहित विश्लेषण भएको एक नेताले बताए।

माओवादीबाट वर्षमान पुन, हितमान शाक्य, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल र  कर्णाली इन्चार्ज प्रकाश ज्वाला तथा जसपाबाट रकम चेम्जोङसहित नेता छलफलमा थिए।

‘पेरिसडाँडामा उहाहरुबीच आगामी चुनाव केन्द्रित छलफल भएको हो,’ ती नेताले भने, ‘०७४ को निर्वाचन परिणाम विश्लेषण भयो। कुन दल मिल्दा जितिन्छ भन्ने पनि मोटामोटी विश्लेषण भयो। यो अझै एक दुई चरणमा हुनेछ।’

यता बाबुराम भट्टराई पक्षलाई भने उक्त छलफलमा सहभागी गराइएको थिएन। 

दुई दिनको छलफल र निष्कर्षबारे बिहीबार (१२ साउन) मा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा ब्रिफिङ भएको थियो।

‘सबै दलसँग भएको छलफलबारे बैठकमा ब्रिफिङ भयो,’ माओवादीका एक नेताले नेपालखबरसँग भने, ‘एमालेबाहेक सबै कम्युनिष्ट आन्दोलनभित्रका धाराहरुलाई एकै ठाउँमा ल्याउने प्रयत्न भइरहेको छ।’

एमालेबाहेकका सबै दल मोर्चा बनाएर जान तयार भएको ती नेताले बताए। ‘उपेन्द्रजी र माधवजीसँग आगामी चुनावमा मोर्चा बनाएर जाने कुरामा सहमति छ,’ ती नेताले भने, ‘बाबुराम पनि मिल्न तयार हुनुहुन्छ तर, अझै प्रष्ट भइसकेको छैन।’

राजमो पनि प्रचण्डकै मोर्चामा
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले पनि वाम गठबन्धनमा सहभागी हुने संकेत गरिसकेका छन्।

मसालको खुला मोर्चा राष्ट्रिय जनमोर्चा गत वैशाख ३० को चुनावमा सत्ता गठबन्धनबाट सहभागी भइरहेको छ।

प्रचण्डनिकट एक नेताका अनुसार सिंहले मोर्चामा आउने कुरामा सकारात्मक रहेको जवाफ दिइसकेका छन्। 

‘राजमो पनि हामीले बनाउने मोर्चामा आउन सकारात्मक छ,’ ती नेताले भने, ‘मोहन विक्रमले हाम्रा अध्यक्षसँगको छलफलमा त्यही भन्नुभएछ। तर, अझै निष्कर्षमा पुग्न बाँकी नै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .