सुर्खेत निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का र एमालेबाट निवर्तमान प्रतिनिधि सभा सदस्य ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि खड्काले पत्रमार्फत र शाहीले निर्वाचन अधिकृतको कार्यालय मेहलककुना पुगेर उम्मेदवारी दर्ता गरेका छन्।
आसन्न निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा खड्का र शाहीबीचको भिडन्त रोचक हुने देखिन्छ। पूर्व गृहमन्त्री खड्का कांग्रेसको राजनीतिमा बलियो हुँदै गएका छन्।
यदि खड्काले गठबन्धनका तीन दलको पूरा सहयोग पाएमा जित्न सक्ने आकलन छ।
तर, खड्काविरुद्ध माओवादीका मानसिंह ठकुरी बागी उठेका छन्।
०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता शाहीले खड्कालाई पराजित गरेका थिए।
त्यसबेला एमाले नेता शाहीसँग हारेका खड्काले यस पटकको निर्वाचनमा माओवादीसहितको गठबन्धनको तर्फबाट उनैसँग प्रतिस्पर्धा गर्न मैदानमा उत्रिँदैछन्।
सुर्खेत–१ बाट २०४८, ०५१, २०५६ मा जितेर खड्काले ह्याट्रिक गरेका थिए।
तर, २०६४ सालको संविधानसभा निर्वाचनमा भने लालबहादुर घले संविधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरे।
घले त्यसबेला एमालेकी कमला शर्मासँग पराजित भएका थिए। त्यो चुनावमा खड्का समानुपातिकमा बसे।
खड्काले २०७० को संविधानसभा निर्वाचनमा कमब्याक गरेका थिए। उनी २०७४ मा तत्कालीन वाम गठबन्धनबाट उठेका एमालेका ध्रुवकुमार शाहीसँग पराजित भए।
३६ हजार ७५९ मत ल्याएर शाही विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए।
पाँच वर्षअघि ३ हजार ३८२ मतले पराजित खड्का यसपटक शाख फर्काउने योजनामा छन्।
यद्यपि खड्का गठबन्धनबाट उम्मेदवार बने पनि शाहीसँगको लडाइँ चुनौतीपूर्ण बन्ने कार्यकर्ताहरुको बुझाई छ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सुर्खेत–१ मा पर्ने वडामा दलले प्राप्त गरेको मत हेर्दा भने अंकगणित कांग्रेसको पक्षमा छ।
सुर्खेत–१ मा सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, चिङ्गाड गाउँपालिका, लेकबेँसी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका–१५ र वीरेन्द्रनगर–१६ को भूगोल समेटिएको छ।
स्थानीय तहको वडाको मतलाई आधार मान्ने हो भने सुर्खेत–१ मा कांग्रेस पहिलो शक्ति देखिका कारण खड्काले बाजी मार्ने देखिन्छ।
जसमा कांग्रेसले ३६ हजार नौ सय २८ मत प्राप्त गरेको थियो। वडाध्यक्षले पाएको मत हेर्दा एमाले दोस्रो स्थानमा छ। उसले ३४ हजार आठ सय ४३ मत प्राप्त गरेको छ।
माओवादीले पाँच हजार ७५ मत, राप्रपाले ६ सय ६४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले ६ सय ३४ मत प्राप्त गरेको छ।
कांग्रेससँगै माओवादी र समाजवादीको मत जोड्दा खड्काको पक्षमा ४२ हजार ६ सय ३७ हुन्छ। जुन एमालेको भन्दा सात हजार सात सय ९४ बढी हो।
Shares
प्रतिक्रिया