कर्णाली प्रदेश सभामा एक कार्यकाल बिताइसकेका नेताहरु नै प्रदेशको मुख्यमन्त्री बन्ने आकांक्षाले पुनः प्रदेश सभा सदस्यको चुनावी मैदानमा ओर्लिएका छन्। मुख्यमन्त्रीका आकांक्षी केही नयाँ अनुहार पनि उम्मेदवार बनेका छन्।
१० जिल्ला रहेको कर्णाली प्रदेशमा प्रत्यक्ष तर्फ २४ वटा क्षेत्रबाट निर्वाचित र समानुपातिक निर्वाचन प्रणालीबाट १६ जना गरी जम्मा ४० जना प्रदेशसभा सदस्य रहने व्यवस्था छ। तीमध्ये सुर्खेत, दैलेखमा चार÷चार र जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा दुई/दुई गरी २४ वटा निर्वाचन क्षेत्र छन्।
०७४ मा वाम गठबन्धन हुँदा माओवादीको साथ पाएको एमालेले प्रदेश सभा अन्तर्गतका २४ क्षेत्र मध्ये १४ वटा जितेको थियो। माओवादीले प्रदेश सभामा ९ सिट हात पारेको थियो।
कांग्रेसले प्रदेश सभा अन्तर्गत हुम्ला (ख) मात्र जितेको थियो। उनी अहिले कर्णाली सरकारको मुख्यमन्त्री छन्।
कर्णाली प्रदेशको भावी मुख्यमन्त्रीका लागि नेकपा एमालेबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) मा उम्मेदवार बनेका यामलाल कँडेल आकांक्षी हुन्। उनले अघिल्लो पटक पनि मुख्यमन्त्री बन्न बुताले भ्याएजति बल गरेका थिए। तर, त्यो मुख्यमन्त्री बन्न नसकेकाले उनी फेरि प्रदेश सभामै उम्मेदवार बनेका छन्।
एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल संघीय सरकारको पर्यटनमन्त्री समेत बनिसकेका छन्। राष्ट्रिय राजनीतिमा उदाए पनि मुख्यमन्त्री बन्नकै लागि उनी प्रदेशतर्फ लागेका थिए।
०७४ को निर्वाचनमा प्रदेश सभामा सुर्खेत २ (क) मा कँडेलले कांग्रेसका कमलराज रेग्मीलाई पराजित गरेका थिए। कँडेलले २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँदा रेग्मीले १५ हजार ९४७ मत प्राप्त गरे।
यसपटक कँडेलसँग प्रतिस्पर्धाका लागि वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पुराना नेता कालीप्रसाद शाक्य उम्मेदवार बनेका छन्। कँडेलपछि मुख्यमन्त्रीको लाइनमा एमालेका पोलिट्ब्युरो सदस्य तथा कर्णाली सह–इन्चार्ज सल्यानका गुलाबजंग शाह र एमाले कर्णाली अध्यक्ष दैलेखका विनोदकुमार शाह छन्।
गुलाबजंग सल्यान प्रदेश सभा (ख)बाट उम्मेदवार बनेका छन्। उनको कांग्रेसका उम्मेदवार सुरेश अधिकारीसँग प्रतिस्पर्धा हुनेछ। गुलाबजंगलाई पार्टीले प्रतिनिधि सभाका लागि एकल सिफारिस गरे पनि उनी प्रदेशमै उम्मेदवार बनेका छन्।
२०७४ को निर्वाचनमा सल्यान प्रदेश सभा (क) बाट गुलाबजंग १९ हजार ६५८ मत ल्याएर निर्वाचित भएका थिए। उनले कांग्रेसका एकराज डाँगीलाई पराजित गरेका थिए। डाँगीले १० हजार ६१२ मत मात्रै प्राप्त गरेका थिए।
यस्तै, नेकपा एमाले दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (ख)बाट उम्मेदवार बनेका विनोदकुमार शाह पनि कर्णालीको भावी मुख्यमन्त्री बन्ने दाउमा छन्।
यसअघि दैलेख–२ बाट प्रतिनिधि सभाका लागि सिफारिसमा परे पनि उनि प्रदेश सभाका लागि उम्मेदवार बनेका छन्। उक्त क्षेत्रमा एमालेबाट टिकट नपाएपछि एकै रातमा माओवादी प्रवेश गरेर टिकट हात पारेका योगेन्द्र शाही र विनोदकुमार शाहको भिडन्त हुने भएको छ। शाह पाका नेता हुन् भने शाही युवा नेता हुन्।
यस्तै, नेपाली कांग्रेसबाट हाल कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः मुख्यमन्त्री बन्ने दाउमा प्रदेश सभामै उम्मेदवार बनेका छन्। यसअघि कांग्रेस हुम्लाले मुख्यमन्त्री शाहीलाई प्रतिनिधि सभा र प्रदेश सभामा एकल सिफारिस गरेको थियो। हुम्लामा गठबन्धन भएपछि प्रतिनिसभाको सिट माओवादी केन्द्रको भागमा परेको छ। हुम्ला जिल्लामा रहेका प्रदेश सभाका दुई सिटमा एक माओवादी र एक कांग्रेसको भागमा परेको छ।
जीवनबहादुरलाई मुख्यमन्त्री बनाउने तयारीका साथ कांग्रेसले प्रदेशको उम्मेदवार बनाएको कांग्रेस स्रोतको दाबी छ। उक्त निर्वाचन क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा ४ हजार ५१९ मत ल्याएर जीवनबहादुर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका विजय भण्डारीले ३ हजार ९९५ मत प्राप्त गरेका थिए।
आगामी चुनावमा सो क्षेत्रमा २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा स्वतन्त्र रुपमा विजयी भएका छक्कबहादुर लामाले जीवनबहादुरसँग प्रतिस्पर्धा गर्ने भएका छन्। लामा एमालेबाट उम्मेदवार बनेका छन्।
यस्तै, नेपाली कांग्रेस केन्द्रीय सदस्य राजीव विक्रम शाह पनि मुख्यमन्त्रीको दौडमा छन्। उनी जाजरकोट प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका छन्। यसका अलावा कांग्रेस कर्णाली सभापति रहेका ललितजंग शाह पनि मुख्यमन्त्रीको आकांक्षी हुन्।
नेकपा माओवादी केन्द्रबाट पनि दुई जना बलिया नेता मुख्यमन्त्री बन्ने चाहना लिएर प्रदेश सभामा उम्मेदवार बनेका छन्। नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेशको पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व कर्णाली अध्यक्ष राजकुमार शर्मा मुख्यमन्त्री बन्ने दाउमा छन्।
विष्ट सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन्। विष्ट सोही निर्वाचन क्षेत्रबाट २०७४ को प्रदेश सभा निर्वाचनमा एमाले–माओवादी चुनावी तालमेलहुँदा १५ हजार ६४८ मत ल्याएर निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका तप्तबहादुर विष्टलाई पराजित गरेका थिए। तप्तबहादुरले १२ हजार ४७७ मत प्राप्त गरेका थिए।
यस्तै, शर्मालाई रुकुम पश्चिम प्रदेश सभा (ख)बाट माओवादीले उम्मेदवार बनाएको छ। यस पटकको निर्वाचनमा शर्माको नेकपा एमालेका उम्मेदवार कर्णबहादुर घर्ती मगरसँग प्रतिस्पर्धा हुनेछ।
२०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट माओवादीले जित हात पारेको थियो। माओवादीबाट गोपाल शर्माले १८ हजार ५८७ मत प्राप्त गरि विजयी भएका थिए। उनले कांग्रेसका खडकबहादुर डाँगीलाई हराएका थिए। डाँगीले ८ हजार १२७ मत प्राप्त गरेका थिए।
Shares
प्रतिक्रिया