राजनीति


प्रतिनिधिसभाका ४५ सिटमा प्रतिस्पर्धा गर्दै माओवादी, नेताहरु भन्छन् : सबै जित्ने आधार छ

रुपन्देही १ र रौतहट ३ एमाले छाडेका नेतालाई
प्रतिनिधिसभाका ४५ सिटमा प्रतिस्पर्धा गर्दै माओवादी, नेताहरु भन्छन् : सबै जित्ने आधार छ

फाइल तस्बिर


सागर न्यौपाने
असोज २८, २०७९ शुक्रबार १८:१४, काठमाडौँ

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ ४७ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ।

सत्ता गठबन्धनको माओवादीले रुपन्देही क्षेत्र नम्बर १ र रौतहट क्षेत्र नम्बर ३ एमालेबाट विद्रोह गरेका दुई नेतालाई छोडेको छ। 

रुपन्देही १ मा एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई समर्थन गरेको माओवादीले रौतहट ३ मा दिएको उम्मेदवारी समेत निस्क्रिय बनाएर एमाले छोडेका प्रभु साहलाई समर्थन गरेको छ।

माओवादीले यसपटक महिलातर्फ ९ जनालाई प्रत्यक्षतर्फ टिकट दिएको छ। 

यस्तै युवासहित २० भन्दा बढी नेतालाई संसदीय राजनीतिमा माओवादीले डेब्यु गराएको छ।

दलित, जनजाति, मधेश, आदिवासी, मुस्लिम, पिछडा वर्गलाई समेटेर उम्मेदवार बनाएको माओवादीले दाबी गरेको छ।

४७ जना उम्मेदवारमध्ये चारजना ४० वर्ष मुनिका छन्। 

माओवादीले अन्य दलसँगको सहकार्यका कारण २०७४ को प्रतिनिधि सभाको भन्दा कम सिट प्रत्यक्षतर्फ लिएको छ।

पाँच वर्षअघि एमालेसँग तालमेल गरेको माओवादीले ६८ स्थानमा उम्मेदवारी दिएको थियो। तर, त्यसबेला ३७ क्षेत्रमात्रै जित्यो। 

यसपटक माओवादीले गठबन्धन गरेर उठाएका सबै ४५ जना उम्मेदवारले जित्ने दाबी गरेको छ।

माओवादी सचिव देवेन्द्र पौडेलले सबै स्थानमा जित्ने दाबी गरेका छन्। 

‘हाम्रा सबै उम्मेदवारले चुनाव जित्ने भरपर्दो र विश्वासिलो आधार छ,’ पौडेलले नेपालखबरसँग भने, ‘नीति मात्रै होइन, राजनीतिक एजेण्डा र संविधानको रक्षाका लागि यसपटक माओवादीसहित सत्ता गठबन्धनलाई जनताले मत दिनुहुनेछ।’

माओवादीले निर्वाचन क्षेत्र विश्लेषण गरेर जित्ने उम्मेदवारलाई मात्रै टिकट दिएको अर्का एक नेताले बताएका छन्।

‘अहिलेको लडाइँ प्रतिगमनविरुद्ध हो, यसलाई परास्त गर्न पनि संसदमा बलियो उपस्थिति हुनैपर्छ,’ ती नेताले भने, ‘टिकट वितरणमा सावधानी अपनाइएको छ, सबै ठाउँमा जित्ने उम्मेदवारले टिकट पाउनुभएको छ।’

माओवादीले यसपटकको चुनाव प्रतिष्ठाको भएकोले देशैभर नेता र कार्यकर्ता परिचालन गरेको जनाएको छ। अहिलेबाटै नेताहरु निर्वाचन क्षेत्रमा खटिएका छन्।

कांग्रेससहित, नेकपा एकीकृत समाजवादी, तराईका केही जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चासँग माओवादीको गठबन्धन छ।

गठबन्धनबाट धोका नहुने विश्वास माओवादीको छ। स्थानीय तह निर्वाचनका कमजोरी सच्चिएको माओवादीले विश्वास लिएको छ।

‘त्यसकारण हामी बढी आशावादी छौँ, गठबन्धनमा यसपटक धोकाधडी हुँदैन, सबै गम्भीर भएर लाग्छौँ,’ ती नेताले थपे। 

‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गरेर गोरखा २ लिनुको कारण नै अन्य क्षेत्रमा क्रियाशील हुन हो,’ उनले बताए। 

यसपटक चुनावमा माओवादीको मत मागिदिनको लागि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई साथमा छन्।

उनले माओवादीको चुनाव चिन्ह लिएर आफ्ना ४ जना उम्मेदवार उठाएका छन्।

भट्टराईकी छोरी काठमाडौं ७ बाट उठेकी छन्। यस्तै अध्यक्ष महेन्द्र राय यादव सर्लाही क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्।

यसैकारण माओवादीका उम्मेदवार जिताउन भट्टराई पनि खटिँदैछन्। 

माओवादी केन्द्रका उम्मेदवार

प्रदेश १
१. ताप्लेजुङ-खेलप्रसाद बुडाक्षेत्री
२.झापा २-हरिकुमार रानामगर
३. भोजपुर-सुदन किराती
४.मोरङ ४-अमनलाल मोदी
५.मोरङ ५- शिवकुमार मण्डल
६.सुनसरी १-मुक्साम हाङ सुब्बा
७. खोटाङ-रामकुमार राई

मधेस प्रदेश 
१. सिरहा ३-विश्वनाथ साह
२.धनुषा १. मात्रिकाप्रसाद यादव
३. महोत्तरी १. गिरीराजमणि पोखरेल
४.सर्लाही-३ नरेन्द्र साह कलवार
५.रौतहट ३-प्रभु साहलाई सहयोग (रविन्द्र पटेलको फिर्ता लिएर समर्थन)
६. बारा २, शिवचन्द्र प्रसाद कुसवाह
७.सर्लाही २-महेन्द्र राय यादव

बागमती प्रदेश 
१.दोलखा-गंगा कार्की 
२. सिन्धुली २-लेखनाथ दाहाल
३.नुवाकोट १-हीतबहादुर तामाङ
४. काठमाडौं ७-अस्मिता सिंह(मानुषी)
५.काठमाडौं ९-कल्पना धमला
६. काठमाडौं २-ओनसरी घर्ती 
७. काठमाडौं १०. अञ्जना विसंखे
८. भक्तपुर १-सुनिल गोठे 
९. ललितपुर ३-पम्फा भुसाल
१०. काभ्रे १-सुर्यमान दोङ
११. सिन्धुपाल्चोक १-माधव सापकोटा
१२. चितवन ३-भोजराज अधिकारी 

गण्डकी प्रदेश 
१.गोरखा २-प्रचण्ड
२. लमजुङ-देवप्रसाद गुरुङ
३. कास्की ३-रामजीप्रसाद बराल
४.बाग्लुङ २-देवेन्द्र पौडेल

लुम्बिनी प्रदेश 
१.रुपन्देही १-घनश्याम भुसाललाई समर्थन गरेको 
२. कपिलबस्तु १-चक्रपाणि खनाल
३.रुकुम पूर्व-पूर्णबहादुर घर्तीमगर
४.रोल्पा-वर्षमान पुन
५.दाङ २-रेखा शर्मा
६. बाँके १-महेश्वरजंग गहतराज
७. बर्दिया २-सुरेश पन्थ

कर्णाली प्रदेश 
१.जुम्ला -गोमा गौतम कुँबर
२. कालिकोट-महेन्द्र बहादुर शाही
३.हुम्ला -छिरिङ डम्दुल लामा (भोटे)
४. जाजरकोट-शक्ति बस्नेत
६. रुकुम पश्चिम-जनार्दन शर्मा

सुदूरपश्चिम प्रदेश 
१. कैलाली २-भगतबहादुर बडुवाल
२. कैलाली ३-कृष्णकुमार चौधरी
३. बैतडी-नरेन्द्र बहादुर कुँवर
४.कञ्चनपुर १-बीना मगर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .