राजनीति


प्रधानमन्त्री प्रचण्डप्रति ओलीको कटाक्ष : हातमा चक्कु लिएर फूल लिएको छु भन्नुभयो

प्रधानमन्त्री प्रचण्डप्रति ओलीको कटाक्ष : हातमा चक्कु लिएर फूल लिएको छु भन्नुभयो

नेपालखबर
फागुन १४, २०७९ आइतबार १५:५२, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई झुक्याउने प्रयास गरेको बताएका छन्। 

विभिन्न आन्दोलनका घाइते, बेपत्ता तथा सहिद परिवारको सम्मानमा आयोजित कार्यक्रममा ओलीले प्रचण्डलाई व्यक्तिगत स्वार्थका निम्ति जसलाई पनि झुक्याउन सक्ने पात्र’का रुपमा चित्रित गरे। 

उनले आफूलाई पनि झुक्याउन खोजेको तर प्रचण्डलाई राम्रोसँग चिनेकाले आफू नझुक्किएको ओलीको दाबी थियो।

‘उहाँ (प्रचण्ड) हातमा चक्कु लिएर बस्नुभएको थियो। तर, फूल भनेर झुक्याउन खोज्नुभयो’ उनले भने, ‘ मेरो आँखाले धोका खाएको थिएन। तपाइँले भनेपछि फूलै होला भनेर बसेँ।’

प्रधानमन्त्री प्रचण्डले दुई महिनासम्म एमालेसँग सत्तामा बस्दा तीतो अनुभव गरेकोप्रति ओलीले आफूसँग ‘काले काले मिलेर खाम भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिएको बताए।

‘हरियो देख्नै नहुने। दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि’ उनले भने, ‘म सँग काम गर्दा काले काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ। त्यतै जानुभयो।’

अध्यक्ष ओलीले प्रचण्ड जता मौका मिल्छ उसैसँग मिल्ने गरेको भन्दै बिरालोको उखान पनि सुनाए।

उनले भने, ‘एउटा उखान छ नि, घरमा बिरालो किन्नु पर्दैन। कचौरामा दूध र भात दियो भने छिमेकीको बिरालो खुत्रुक्क आइपुग्छ।’ 
उनले प्रचण्डले चलाएको जनयुद्ध कसका लागि थियो भनी प्रश्न पनि गरे। जनयुद्धका नाममा प्रचण्डले २०५२ हिंसाको नयाँ अभियान सुरु गरेको ओलीको आरोप थियो। 

जनयुद्धबाट प्रचण्डको परिवारलाई फाइदा भएपनि देशलाई दुखेको उनले बताए।

राज्यको तर्फबाट र माओवादीका तर्फबाट थुप्रै मानिसको हत्या भएको स्मरण गर्दै उनले मैना सुनुवार, यदु गौताम, खोटाङका शिक्षक गुरु लुइँटेललगायतको उदाहरण दिए।

‘कसैलाई दुख्ला, कसैलाई नदुख्ला, तर नेपाललाई दुख्छ। नेपाल राष्ट्रलाई दुख्छ। त्यसको घाउ अहिलेसम्म छ।’ उनले भने, ‘त्यसको प्रमुख अहिले देशको कार्यकारी प्रमुख छन्। प्रधानमन्त्री भएको तीन पटक भयो। सरकारमा गएको त कति भयो कति? कहिले कसैसँग मिलेर कहिले कसैसँग मिलेर।’

ओलीले २०६२/०६३ पछि त्यति लामो समयसम्म सरकारमा माओवादी जति अरु कोही नबसेको बताउँदै जनयुद्धका घाइते, अपाङ्ग, सहिद र बेपत्तालाई बिर्सिएको बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .