राजनीति


प्रदेशको नाम राख्दा माओवादीले पहिचानको मुद्दा छाडेपछि कार्यकर्ता ‘आगो’

प्रदेशको नाम राख्दा माओवादीले पहिचानको मुद्दा छाडेपछि कार्यकर्ता ‘आगो’

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १२:३५, काठमाडौँ

प्रदेश १ ले साढे ५ वर्ष लामो कसरतपछि आफ्नो नाम जुराउँदै गर्दा नेकपा माओवादी केन्द्रले पहिचानको मुद्दा चटक्कै छाडिदिएको छ।

बिहीबार प्रदेश १ को नाम 'कोशी' राखिएपछि हिजो जनयुद्ध लडेका माओवादी कार्यकर्ताहरु नेतृत्वसँग खनिएका हुन्। 

जनयुद्धकै समयदेखि माओवादीले किरात, लिम्बुवान, मधेश, ताम्सालिङ, मगरातसहितका प्रदेश घोषणा गरेको थियो।

तर जनयुद्ध छाडेयता माओवादीले पहिचान र सभ्यता मुद्दा छाड्दै जाँदा सातवटा प्रदेशको नाम राखिसक्दा कुनैमा आफ्नो एजेन्डा स्थापित गर्न सकेन। 

बिहीबार विराटनगरस्थित प्रदेश १ को नाम कोशी राख्ने नेकपा एमालेका सांसद रामबहादुर मगरको प्रस्तावमा माओवादीले समर्थन गर्यो।

मगरको प्रस्तावलाई नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन जनाएपछि बहुमतले कोशी नाम पारित भयो।

यसलाई लिएर माओवादी कार्यकर्ताहरुले भने आक्रोश पोखेका छन्। विगतमा जनयुद्ध लडेर अहिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा रहेका नेता दीपेश किरातीले कोशी नाम राखेर संघीयताको मर्ममै प्रहार गर्ने काम भएको बताए। 

'पश्चगमनकारी दृष्टिकोण भएका नेतृत्वहरुको राजनैतिक व्यावस्थापन गर्न मात्रै बनेको देखावटी संघीयतामा, जनताको वास्तविक संघीयताको मर्म विपरित 'किरात प्रदेश'माथि आतंककारी हमला भएकोमा आक्रोश पैदा भएको छ', उनले भनेका छन्, 'जनताको वास्तविक 'समाजवादी संघीयता' स्थापना गर्नका लागि आन्दोलनको तयारीमा लाग्न सबैमा आग्रह छ।'

नेकपा माओवादीकै कार्यकर्ता एवम् भोजपुरको हतुवागढी गाउँपालिका उपप्रमुख सुनिता किरातीले कोशी प्रदेश नाम राखिएको बुधबारको दिनलाई एक कालो दिनको संज्ञा दिएकी छन्। 

'फागुन १७ एक कालो दिन', उनले भनेकी छन्, 'नेकपा माओवादी केन्द्रको आधिकारिक धारणा १ नं. प्रदेशको नाम स्पष्टरुपमा पहिचानमा आधारित हुनेछ भन्ने थियो। आज किन यस्तो गरियो? उत्तर छ पार्टी नेतृत्वसँग?'

त्यसैगरी माओवादी केन्द्रनिकट पत्रकार एवम् लेखक राजेन्द्र किरातीले कोशी प्रदेश बनाउने निर्णयलाई वैचारिक लगामबिनाको परम्परागत ढर्रा भनेका छन्।  

'वैचारिक लगाम बिनाको परम्परागत/बहकिएका/बरालिएका जनजातिजन्य बिल्ला भिरेका साथीहरुले पहिचानविरोधीहरुलाई जिताएपछि आउने स्वभाविक परिणाम यही हो', उनले भनेका छन्, 'त्यही मान्छे सडकमा चाहिँ नआए हुन्थ्यो?'

अर्का माओवादी नेता दिलकुमार राई बिहीबारलाई कालो दिनको संज्ञा दिएका छन्। 

'राज्य पुन:संरचनाको नाममा हिजोका ओल्लो किरात, माझ किरात र पल्लो किराँतका सभ्यता र संस्कृतिले आफ्नो पहिचान गुमाएको कालो दिन २०७९/११/१७।', उनले भनेका छन्।'

त्यसैगरी जनयुद्ध लडेका एकजना नेता निकाश किरातीले संघीय संरचनामा प्रदेशहरुलाई निरीह बनाइएको बताएका छन्। 

'भौगोलिक संरचना र प्रशासनिक संरचनामै गलत भएको बताएका छन्। 'संघीय संरचनामा प्रदेश्हरुलाई नै निरीह बनाएर खेतला बनाएपछि के नै अर्थ छ?', उनले अगाडि भनेका छन्। 

त्यसैगरी एकजना गायक भीषण मुकारूङले कोशी प्रदेश नाम राखिनुलाई पुरातन मानसिकता भनेका छन्। 'यिनका मानसिकता कति पुरातन र यथास्थितिवादी नि?  छि छि', उनको आक्रोशयुक्त प्रतिक्रिया छ। 

त्यसैगरी किरात र खम्बुवान प्रदेशको वकालत गर्दै आएका पत्रकार केशर राईले बिहीबारको दिन कू भएको बताएका छन्। 'आजको 'कू' हामीलाई कदापि मान्य छैन', उनले भनेका छन्। 

प्रगतिशील साहित्यकार राजन मुकारुङले कोशी प्रदेश भारतको भन्दै कटाक्ष गरेका छन्। 

'यो 'कोशी' भनेको चाहिँ हिजो भारतलाई बेचेको कोशी फिर्ता ल्याएको हो कि? 'कोशी प्रदेश' चाहिँ भारतको प्रदेश भनेको हो?', उनले कटाक्ष गरेका छन्, 'ज-जसले, जुनजुन दलहरूले हाँकका साथ कोशी प्रदेश नाम राखेर गर्व गरिरहेका छन्, तिनले निकै गम्भीर भएर जवाफ दिनुपर्ने हुन्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .