राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले एमालेको टोली राष्ट्रपतिका लागि भोट मागेर फर्किएको बताएका छन्।
'उहाँहरुले राष्ट्रपति चुनावमा सहयोग गर्न आग्रसहित भोट माग्नु भयो', उनले भने, 'हामीले शुभकामना दिएर पार्टीले निर्णय गरिनसकेकाले पछि मात्रै निर्णय गर्ने जवाफ दियौँ।'
उपसभापति अर्यालका अनुसार पुस १० मा पनि एकै ठाउँ उभिएकाले अहिले पनि मिलेर जानुपर्ने आग्रह एमाले नेताहरुले गरेका थिए।
'पार्टीले निर्णय नगरिसकेकाले त्यसअगाडि हामीले शुभकामना मात्रै दियौँ', उनले भने, 'केही दिनमै यसबारे पार्टीले ठोस निर्णय लिन्छ।'
रास्वपासँग भोट माग्न बिहीबार दिउँसो एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका थिए।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेपछि नेम्वाङसहित एमालेको टोली वसुन्धरा पुगेको थियो।
उक्त टोलीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराईसहित रहेका थिए।
रास्वपा पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धनको घटक हो। उसलाई अहिले बनेको आठ दलीय गठबन्धनमा ल्याउने कोसिस भइरहेको छ।
Shares
प्रतिक्रिया