प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दोस्रोपटक विश्वासको मत लिनुपर्ने स्थिति आउला भन्ने आफूले नसोचेको बताएका छन्। प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्नुअघि सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
‘फेरि विश्वासको मतका लागि यति छिट्टै संसदसँग अनुरोध गर्नुपर्ने अवस्था आउला भन्ने मैले सोचेकै थिइँन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राजनीतिक स्थिरताको प्रतिवद्धतासहित सरकार गठन गरेका थियौं। मैलेमात्र नभई सहयात्री दलहरुले पनि संसदमा स्थायीत्वको वाचा गर्नुभएको थियो।’
प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रको पुर्नउत्थान, सेवा प्रवाहमा सरलीकरण, राष्ट्रिय हितको अभिवृद्धि लगायतका कामहरू गरेको पनि दाबी गरे।
‘११ पौस ०७९ गठन भएको सरकालाई पुस २६ गते संसदबाट अभूतपूर्ण मत प्राप्त भएको थियो। त्यसयता सरकार अर्थतन्त्रको पुर्नउत्थान, सेवा प्रवाहमा सरलीकरण, राष्ट्रिय हितको अभिवृद्धिका लागि क्रियाशिल रहेको सम्मानित सदनलाई अवगत छ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले राजनीतिक सन्तुलनका लागि राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति बनाउन आफूले भूमिका खेलेको भएपनि सफल हुन नसकेको स्वीकार गरे।
Shares
प्रतिक्रिया