राजनीति


संसदीय समितिमा आ-आफ्नै दाबी, योग्यलाई सभापति बनाउनुपर्नेमा सांसदहरूको जोड

संसदीय समितिमा आ-आफ्नै दाबी, योग्यलाई सभापति बनाउनुपर्नेमा सांसदहरूको जोड

नेपालखबर
चैत २६, २०७९ आइतबार १७:५१, काठमाडौँ

संसदीय समितिहरुको सभापतिमा दक्ष र योग्य व्यक्तिलाई चयन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्। प्रतिनिधि सभा नियमावली प्रतिनिधि सभाबाट पारित भएसँगै संघीय संसद सचिवालय संसदीय समिति गठनको प्रक्रियामा अगाडी बढेको छ। 

यससँगै समिति सभापति कुन दलले कति पाउने र क–कसलाई सभापति बनाउने भन्नेतर्फ दलहरु र सांसदहरुको ध्यान गएको छ।

सांसदहरुले समिति सभापतिमा योग्य, दक्ष र नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने मान्छेलाई चयन गर्नुपर्नेमा जोड दिएका छन्। 

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रभावकारी काम गर्नसक्ने र समितिलाई गतिशिल बनाउनसक्ने मान्छे समिति सभापति बन्नुपर्ने बताए। विगतमा राजनीतिक जिम्मेवारी नपाएकाहरुलाई समिति सभापति बनाउँ भन्ने दलहरुको धारणा हुँदा समिति निष्प्रभावि भएको उनको तर्क छ। सांसद पौडेलले ३ वटा समितिको सभापतिमा माओवादी केन्द्रको दाबी रहेको पनि बताए। 

उनले भने,‘प्रचलित मान्यता अनुसार लेखा समिति प्रतिपक्षलाई दिने चलन छ। त्यसबाहेकका नौ वटा समितिहरुमध्ये मैले बुझे अनुसार सरकारमा रहेको हुँदाखेरी र केही कानूनहरु बनाउनुपर्ने भएको हुँदाखेरी ३ वटासम्म समितिको माओवादी पार्टीले दावा गर्छ। प्रभावकारी काम गर्नसक्ने, समितिलाई गतिशिल बनाउन सक्ने र प्रतिनिधि सभाका प्रस्तुत गर्नका निम्ति आवश्यक तयारी गरेर अगाडी बढाउनसक्ने व्यक्तिहरुलाई जिम्मेवारी दिन सकियो भने राम्रो हुन्छ र विगतमा जिम्मेवारी प्राप्त नगरेकाहरुलाई जिम्मा दिने भन्ने जुन प्रकारको दलहरुले सोच्ने गरियो त्यसले गर्दा कतिपय समितिहरु निष्प्रभावि, प्रभावहिन भएको कुरापनि सत्य हो। यो पटक सदनलाई प्रभावकारी बनाउने हो भने समितिका जिम्मेवारीहरु पनि क्षमता भएका व्यक्तिहरुलाई बनाउँदा राम्रो हुन्छ।’

त्यस्तै माओवादी केन्द्रकै सांसद लेखनाथ दाहालले राजनीतिक दलहरुका बीचमा सहमतिमा सभापति चयन गर्ने कुरालाई प्राथमिकतामा राखेको बताए। उनले सहमतिका आधारमा हुँदा माओवादी केन्द्रले कम संख्यामा सभापति स्वीकार गर्ने तर निर्वाचन प्रक्रियामा सभापति चयन गर्ने अवस्थामा धेरै संख्यामा दाबी रहने बताए।

उनले समिति सभापतिमा सक्रिय र ऊर्जाशील व्यक्ति चाहिने बताए। निस्क्रिय मान्छेलाई पार्टीको वरिष्ठ नेता भएको आधारमा सभापति बनाउन नहुने उनको भनाई छ। वरिष्ठ नेताहरुलाई सम्मान गर्ने र कनिष्ठ नेताहरुलाई काम दिने परिपाटी बसाउन आफूहरुले आवाज उठाउने उनले बताए। 

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा(एमाले)का सांसद राजेन्द्रकुमार राईले समितिलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सक्ने व्यक्ति सभापति बन्नुपर्ने बताए। उनले योग्य र दक्ष व्यक्तिको चयन गर्नुपर्नेमा जोड दिए।

अन्य राजनीतिक दलमा समिति सभापति चलाउने योग्यता र दक्षता भएकाहरु निकै कम भएको भन्दै उनले पाँचदेखि सातवटा समिति सभापतिमा एमालेको दाबी रहेको बताए। 

नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले संसदीय अभ्यास बुझेका र अध्ययनशील व्यक्तिलाई समिति सभापति छनौट गर्नुपर्ने बताए। उनले कांग्रेसले पाँचवटा भन्दा बढी समिति सभापति पाउनुपर्ने माग गरे। 

यता, समिति सभापति चयन गर्दा महिलाहरुको समान प्रतिनिधित्वको आवाज पनि महिला सांसदहरुले उठाइरहेका छन्। नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले दशवटा विषयगत समितिमध्ये महिलाहरुलाई ५० प्रतिशत समिति सभापति दिनुपर्ने बताए। सो आवाज आफूहरुले पार्टीभित्र पनि राखिसकेको बताए। 

नेपाली कांग्रेसकै सांसद नागिना यादवले सक्षम महिलालाई समिति सभापति बनाउनुपर्ने माग आफूहरुले पार्टीभित्र राखिसकेको बताएन्। समिति सभापति चयन गर्दा समानुपातिक र समावेशि रुपमा गर्नुपर्नेमा उनको जोड छ। 

सांसद यादवले  नेपाली कांग्रेसले पाँच वटा समिति सभापतिमा दाबी रहेको भन्दै त्यति पाएमा महिलालाई कम्तिमा दुईवटा समिति सभापति अनिवार्य दिनुपर्ने माग रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .