राजनीति


प्रचण्ड–लेखराज भेटले एमालेमा तरंग, माओवादीमा हर्ष

भेट्न​ अध्यक्ष ओलीसँग अनुमति लिएका थिए भट्टले
प्रचण्ड–लेखराज भेटले एमालेमा तरंग, माओवादीमा हर्ष

आइतबार कैलालीको अत्तरियास्थित भट्ट निवासमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड।


गोकुल जोशी
चैत २७, २०७९ सोमबार ७:३०, कञ्चनपुर

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको कैलालीस्थित निवासमा आइतबार बिहान अरू दिनभन्दा माहोल भिन्न थियो। 

भट्ट निवासमै रहेका बेला भेटघाटका लागि प्रदेशका नेता/कार्यकर्ता भेट्न आइरहने हुनाले यसअघि पनि चहलपहल त भइरहन्थ्यो। 

तर आइतबार बिहान कार्यकर्ताको जमघट मात्रै होइन, भट्ट निवास र त्यहाँसम्म पुग्ने बाटोसम्मै सुरक्षाकर्मीको भीड पनि बाक्लो थियो।

त्यस दिन माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित भट्ट निवास पुगेका थिए। 

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी ओर्लिएलगत्तै भट्टलाई भेट्न उनकै निवास पुगेका थिए। 

उनी दीक्षान्त समारोहमा सहभागी भएर काठमाडौँ फर्किए। तर लामो समयको संवादहीनता तोड्दै भएको प्रचण्ड र भट्टको भेटवार्ताले राजनीतिक वृत्तमा तरंग ल्याएको छ। 

काठमाडौँदेखि धनगढी, गेटा हुँदै महेन्द्रनगरसम्म प्रधानमन्त्री प्रचण्डको भ्रमण राजनीतिक र विकासका दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको स्वकीय सहसचिव गोकर्ण भट्टले सामाजिक सञ्जालमा लेखेका छन्। 

टुट्यो संवादहीनता
लेखराजको निवासबाट प्रधानमन्त्री प्रचण्ड निस्किएपछि उनको नजिक आएर एक कार्यकर्ता भन्दै थिए, ‘सम्बन्ध नवीकरण भयो।’ यो सुनेर लेखराज मुस्कुराए।

लेखराज माओवादी पृष्ठभूमिका नेता हुन्। माओवादीमा हुँदा उनी स्थायी कमिटी सदस्य र सुदूरपश्चिम इन्चार्ज थिए। 

सुदूरपश्चिममा प्रचण्डको विश्वास पात्रका रूपमा रहेका भट्टले अदालतको फैसलाले तत्कालीन नेकपा भंग भई एमाले र माओवादी केन्द्र पुरानै अस्तित्वमा फर्किएपछि उनको साथ छाडेका थिए। 

‘प्रचण्ड’ नजिक रहेर लामो समय सक्रिय नेता हुन्– भट्ट। भट्टले नै सुदूरपश्चिममा माओवादीको जग बसालेका थिए। 

सम्पन्न घरानाबाट प्रतिनिधित्व गर्ने उनले प्रचण्डलाई सुदूरपश्चिममा बलियो साथ दिए। माओवादी सशस्त्र युद्धताका सुदूरपश्चिमको नेतृत्व उनैले गरेका थिए।

त्यसबेला प्रचण्ड यस क्षेत्रमा आउँदा भट्टकै घरमा बस्ने, खाने गर्थे। त्यसैले उनीहरूको सम्बन्ध प्रगाढ थियो। 

१० वर्ष लामो सशस्त्र संघर्ष छाडेर माओवादी शान्तिमा आएपछि भट्टले वि.सं. २०६३ देखि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशका इन्चार्जको जिम्मेवारी सम्हालेका थिए।

२०७५ जेठ ३ गते माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण हुँदा लामो समयदेखि माओवादीको प्रदेश इन्चार्ज रहेका नेता भट्ट पाखा पारिए। 

नेकपा हुँदा सुदूरपश्चिमको इन्चार्ज डा. भीम रावललाई बनाइयो। भट्टलाई स्थायी कमिटी सदस्यमा सीमित राखियो।

इन्चार्ज खोसिएपछि लेखराजलाई चित्त बुझेन। उनले प्रचण्डलाई निर्णय सच्याएर आफूलाई इन्चार्ज बनाउन आग्रह पनि गरे।

तर प्रचण्डले मानेनन् र रावललाई नै इन्चार्ज बनाउन सहमति जनाए। लेखराज आफूलाई इन्चार्ज बनाउन प्रचण्डले सहयोग नगरेपछि उनीबाट टाढिएर केपी शर्मा ओलीसँग नजिकिन थाले।

तत्कालीन नेकपाको ध्रुवीकरणमा भट्ट ओली समूहमा लागे। अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि भट्ट माओवादी केन्द्रमा फर्किएनन्। 

तत्कालीन नेकपामा विवाद हुँदा प्रचण्डले धनगढीमा भएको भेलामा भट्टलाई होच्याएर भाषण गरेका थिए। त्यसपछि प्रचण्ड र भट्टको सम्बन्ध झनै चिसिएको थियो।

माओवादीमा सहयात्रीका रूपमा रहँदा प्रचण्ड भट्टको निवासमा आइरहन्थे। तर भट्ट एमालेमा बसेपछि प्रचण्ड भट्टको घर आउनु त परको कुरा, दुईबीच संवादसमेत रोकियो। 

आइतबारको भेटसँगै प्रचण्ड र भट्टको संवादहीनता टुटेको छ। यसले माओवादीसहित एमालेमा रहेका पूर्वमाओवादी नेताहरूमा पनि खुसियाली छाएको छ। 

प्रचण्ड–भट्ट भेटले ल्याएको तरंग
माओवादी छाडेको लामो समयपछि भट्टले प्रचण्डसँग भेट गरेपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन्। 

लेखराजलाई भेट्न प्रचण्ड निवासमै पुगेपछि एकथरीले भट्ट माओवादीमै फर्किन लागेको विश्लेषण गरिरहेका छन्।

माओवादीबाट एमालेमा प्रवेश गरेका अधिकतर नेता÷कार्यकर्ता सन्तुष्ट छैनन्। पछिल्लो समय जनयुद्धलाई घृणा गर्नेगरी एमाले अध्यक्ष केपी ओलीले हिंसाका रूपमा व्याख्या गर्न थालेपछि पूर्वमाओवादी नेताहरू चिढिएका छन्।

‘जनयुद्धमाथि आक्रमण भइरहेका बेला सँगै काम गरेका सहयात्री भेट्नु सामान्य र सकरात्मक रूपले लिएका छौँ, यसबाट संवादहीनता टुटेको छ’, माओवादी नेता ओमविक्रम भाटले नेपालखबरसँग भने, ‘अब सम्बन्ध सकरात्मक बाटोमा हिँड्यो।’

भट्ट विगतको तिक्तता बिर्सिंदै प्रचण्डसँग करिब २० मिनेट गफिए। भट्ट निवासबाट निस्किँदा प्रचण्डसँग भट्टलगायत नेता/कार्यकर्ताले सामूहिक तस्बिर खिचाए।

प्रचण्डले भट्टको घरसँग आफ्नो चार दशकदेखिको सम्बन्ध रहेको बताए। ‘यो घर मेरो पनि घर हो, यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ, यहाँमाथि एउटा म बस्ने कोठा छ, जहाँ जहिल्यै आउँदा मैले खाने÷बस्ने गर्थें, त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको’, प्रचण्डले भने। 

उनले भट्टसँग भेटको प्रष्टीकरण दिँदै अघि भने, ‘लेखराजजी राजनीतिक व्यक्तित्व हुनुहुन्छ, भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भैहाल्यो, अरू त्यस्तो एजेन्डा केही थिएन।’

‘एमालेमा तरंग ल्याउन खोजियो’
निवासमै आएर प्रचण्डले भेट गरेपछि भट्टलाई सञ्चारकर्मीले पुरानै घरमा फर्किन लाग्नुभएको हो भनेर सोधे। तर एमाले नेता भट्टले माओवादीमा फर्किने सम्भावना नरहेको जवाफ दिए। ‘त्यस विषयमा कुनै छलफल भएन, त्यो सम्भावना पनि छैन’, उनले भने। 

उनले प्रधानमन्त्री प्रचण्डसँग पारिवारिक सम्बन्ध रहेको उल्लेख गर्दै राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भएको बताए। ‘उहाँसँग पारिवारिक सम्बन्ध छ, यहाँ आउनु अस्वाभाविक होइन, अहिलेको राष्ट्रिय राजनीतिक विषयमा छलफल भयो, सञ्चो–बिसञ्चो सोधियो’, उनले भने।

तर भट्टनिकट नेताहरू एमालेभित्र तरंग ल्याउने उद्देश्यले प्रचण्डले भेट गरेको विश्लेषण गर्छन्। ‘हामीले माओवादीको अध्यक्षको हैसियतले होइन, देशको प्रधानमन्त्रीका रूपमा उहाँसँग भेट गरेका हौँ’, भट्टनिकट एक नेताले नेपालखबरसँग भने, ‘हामी एमाले छाड्दैनौँ, एमालेभित्र तरंग ल्याउन योजनाबद्ध हिसाबले भेट गरिएको देखिन्छ।’

ओलीसँगको सल्लाहपछि भट्टको भेट
प्रधानमन्त्री प्रचण्डले भट्टसँग टेलिफोनमार्फत कुराकानी गर्दै दीक्षान्त समारोहमा आउँदा चिया–नास्ता गर्नेगरी निवासमा आउने बताएका थिए। 

प्रचण्डको त्यस्तो प्रस्तावपछि भट्टले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसबारे जानकारी गराएका थिए।

एमाले नेताहरूका अनुसार अध्यक्ष ओलीले हुन्छ भनेपछि भट्ट प्रचण्डसँग राजी भएका थिए। माओवादी नेताहरू भने भट्टसँग लामो संवादहीनता रहेकाले सो टुटाउन भेटघाट गराइएको बताउँछन्।

‘उहाँहरूबीच संवादको अवस्था थिएन, प्रधानमन्त्रीज्यूको यतै कार्यक्रम परेकाले टेलिफोन सम्पर्क गराएर भेटघाटको मेसो मिलाइएको हो’, भेटघाटको मध्यस्थता गर्दा निकट रहेका एक नेताले भने, ‘संवादहीनता तोड्न सफल भएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .