राजनीति


खालिस्तानी विद्रोही पापलप्रित समातिए, कमाण्डर अमृतपाल सिंहको मिडिया व्यवस्था गर्थे

खालिस्तानी विद्रोही पापलप्रित समातिए, कमाण्डर अमृतपाल सिंहको मिडिया व्यवस्था गर्थे

अमृतपाल सिंह


गोकुल जोशी
चैत २७, २०७९ सोमबार १९:३२, कञ्चनपुर

भारतको पञ्जाबलाई छुट्टै खालिस्तान राज्य बनाउनुपर्ने माग चर्काइरहेका अमृतपाल सिंहका निकटतम् सहयोगी पापलप्रित सिंह पक्राउ परेका छन्।

‘वारिस पञ्जाब दे’ का प्रमुख पापलप्रितलाई प्रहरीले होशियारपुरबाट पक्राउ गरेको हो। खालिस्तान पृथकतावादी आन्दोलनका कमाण्डर अमृतपाल सिंह भने अझै फरार छन्। उनको खोजीमा प्रहरीले तीव्रता दिएको जनाएको छ।

भारतीय प्रहरीका अनुसार पापलप्रित अमृतसरको आफ्नो गाउँमा आत्मसमर्पण गर्न चाहन्थे, तर त्यसअघि पञ्जाब प्रहरी र काउन्टर इन्टेलिजेन्सले उनलाई पक्राउ गरेको हो। 

पापलप्रित गत चैत १८ गते अमृतपालसँगै फरार भएका थिए। उनीहरु हरेक पटक सँगै देखिने गरेका थिए। पटियाला, कुरुक्षेत्र र दिल्लीमा सँगै बसेको उनीहरुको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो।

यस बाहेक दुवैको इनर्जी ड्रिंक पिउँदै गरेको सेल्फी पनि भाइरल भएको थियो। प्रहरी स्रोतका अनुसार पापलप्रितले अमृतपाललाई सरबत खालसा (सिखहरूको धार्मिक भेला) बोलाउन अपिल गर्न भनेका थिए। यसका लागि उनले अकाल तख्तका जथेदारलाई दबाब दिन सुझाव पनि दिएका थिए।

अमृतपाल र पापलप्रित मोटरसाइकलमा फरार भएको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको थियो। 

सुदूरपश्चिमसँग जोडिएको उत्तराखण्डका सीमावर्ती बस्ती तथा नेपाल प्रवेश गर्ने नाकामा भारतीय सुरक्षा संयन्त्रले सिंहको खोजीका लागि केही सातायता जाँचमा तीव्रता दिइरहेको छ। 

सिंह भागेर नेपाल पसेको हुनसक्ने भारतीय सुरक्षा संयन्त्रको आशंका छ। केही समयअघि भारतीय दूतावासले सिंह नेपालमा लुकेर बसेको भनेको थियो।

भारतीय प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका सिंहको घटनाले सोमबार प्रतिनिधि सभामा समेत प्रवेश पायो। नेकपा (एमाले)का सांसद रघुजी पन्तले सिंहको खोजविनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन्।  

आकस्मिक समयमा बोल्दै उनले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक भएको बताए।

‘कुनै पनि बाह्य देशका सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपालभित्र पसेर यसरी खोजविन गर्ने अधिकार दिएको छैन, नेपाल स्वतन्त्र सार्वभौम देश हो, यसले आफ्नो आत्मनिर्णयको अधिकार आफैँ प्रयोग गर्छ,’ उनले भने। 

यस्तो छ पापलप्रितको फेहरिस्त
पापलप्रित अमृतसरको मजिठा हलकेको मर्दी कलान गाउँका बासिन्दा हुन्। उनकी आमा सरकारी शिक्षक थिइन्। बुवा कृषि कार्यमा संलग्न छन्।

पापलप्रित वारिस पञ्जाब दे मा सामेल हुनु अघि सिमरनजित सिंह मानको समर्थक खालिस्तान पार्टीमा आवद्ध थिए। यसबाहेक उनी सामाजिक सञ्जालबाट लगातार खालिस्तान आन्दोलनको प्रचार गरिरहेका थिए।

पञ्जाबमा अकाली दलको सरकार हुँदा सन् २०१५ मा सरबत खालसा बोलाइएको थियो। यसको आयोजकमध्ये एक थिए, पापलप्रित।

अनुसन्धानका क्रममा प्रहरीले आईएसआईसँग सम्बन्ध रहेको भन्दै पापलप्रित सिंहविरुद्ध देशद्रोहको मुद्दा दायर गरेको थियो। उनको भड्काउने भाषण पनि नोभेम्बर १२, २०१५ मा अमृतसरको चाटीविन्ड प्रहरी चौकीमा दर्ता एफआईआरमा सामेल गरिएको थियो।

पापलप्रित सुरुदेखि नै अमृतपालसँग निकै नजिक थिए। उनी अमृतपालका मिडिया सल्लाहकार पनि हुन्। ‘वारिस पञ्जाब दे’ को कुनै कार्यक्रम भएमा मिडियाको सम्पूर्ण व्यवस्था पापलप्रितले गर्थे।

प्रहरी स्रोतका अनुसार अमृतपालसँग सम्बन्धित हरेक समाचार र हरेक पलका सामाजिक गतिविधिका समाचार, सामाजिक सञ्जालमा के पोस्ट गर्ने र के नगर्ने भन्ने काम पापलप्रितको थियो। 

उनले युट्युब च्यानल पनि चलाउँथे र इन्स्टाग्राममा पनि निकै सक्रिय थिए। उनले विदेशी च्यानलमा काम गरिसकेका छन्। अमृतपाल गत चैत १८ गतेदेखि फरार छन्। पञ्जाब प्रहरीले उनीविरुद्ध एनएसए (राष्ट्रिय सुरक्षा ऐन) अन्तर्गत मुद्दा दर्ता गरेको छ। 

अमृतपाल प्रहरी घेरालाई चकित पारेर जालन्धरको शाहकोटबाट भागेका थिए, त्यसपछि प्रहरीले पञ्जाब, हरियाणा, उत्तर प्रदेश र उत्तराखण्डमा उनको ठेगाना पत्ता लगाएको थियो। यद्यपि उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .