राजनीति


बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

प्रतिनिधि सभा सदस्यमा विजयी भएपछि उपेन्द्र यादव


नेपालखबर
बैशाख १३, २०८० बुधबार ६:१७, काठमाडौँ

बारा निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार मतान्तरले हराउँदै यादव विजयी भएका हुन्। 

अन्तिम मतपरिणामअनुसार विजयी यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरेका छन् भने पराजित जनमत पार्टीका उम्मेदवार कुशवाहालाई २३ हजार ३ सय ३४ मत प्राप्त भएको छ। यादव र कुशवाहाबीच मतान्तर ५ हजार ८ छ।

यो क्षेत्रमा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल निकै ठूलो मतान्तरका साथ तेस्रो स्थानमा पुगेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले पनि निकै कम मत पाएका छन्। 

एमालेका उम्मेदवार पौडेलले १० हजार २ सय १६ मत पाउँदा खरेललाई २ हजार ८ सय २९ मत मात्र प्राप्त भएको छ। 

आम जनता पार्टीका अरुण ज्ञवालीले पनि खरेलसँग प्रतिस्पर्धी मत पाएका छन्। आम निर्वाचनपछि  स्थापित आम जनता पार्टीका उम्मेदवार ज्ञवालीलाई २ हजार ७ सय ३८ मत प्राप्त भएको छ। यो दल एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारका रुपमा रौतहट–३ बाट निर्वाचित पूर्व माओवादी नेता प्रभु साहले स्थापना गरेका हुन्।

गत मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि यो निर्वाचन क्षेत्र खाली भएको थियो। सोही कारण यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो। 

जसपाले कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, एकिकृत समाजवादीलगायत सत्ता गठबन्धनमा आबद्ध दलहरुको सहयोगमा यो क्षेत्र सुरक्षित गर्न सफल भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलको परम्परागत निर्वाचन क्षेत्र तनहुँ– १ मा भने कांग्रेस उम्मेदवार गोविन्द्र भट्टराईलाई १४ हजार बढी मतान्तरले हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डा. स्वर्णिम वाग्ले विजयी भइसकेका छन्।

यस्तै चितवन २ मा रास्वपाकै सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भइसकेका छन्। 

मंसिर ४ को चुनावमा तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तथा चितवन २ बाट निर्वाचित लामिछानेको सांसद पद नागरिकता मुद्दाका कारण गुमेपछि ती क्षेत्रमा उपनिर्वाचन गरिएको हो।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .