राजनीति


शीतल निवासको गुनासो : राष्ट्रपति संस्थालाई नै विवादमा पार्न खोजियो

शीतल निवासको गुनासो : राष्ट्रपति संस्थालाई नै विवादमा पार्न खोजियो

फाइल तस्बिर


नेपालखबर
बैशाख १३, २०८० बुधबार १८:५५, काठमाडौँ

शीतल निवसाले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारलाई लिएर भइरहेको आलोचना र टिप्पणीले राष्ट्रपति संस्थालाई नै बदनाम गर्न खोजिएको गुनासो गरेको छ। 

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत राष्ट्रपति पौडेलबारेका समाचार र टिप्पणीलाई लिएर उनका प्रेसविज्ञ किरण पोखरेलले बुधबार एक वक्तव्य निकालेका छन्। 

'एम्समा उपचाररत चिकित्सकहरूका अनुसार उहाँको स्वास्थ्य अवस्था क्रमिकरुपले सुधारोन्मुख छ। उहाँको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकहरूले बताएका छन्', उनले भनेका छन्, 'छातीको इन्फेक्सनका कारण शिक्षण अस्पतालमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकहरूको सुझावअनुसार उहाँको भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको छ।'

पोखरेलले राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदा हुँदै पनि चिकित्सकहरू, प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको आग्रहमा उनी भारत जान तयार भएको पनि बताएका छन्। 

'यो कुरा सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा नै बताइसक्नुभएको यथार्थलाई यहाँ स्मरण गराउन चाहन्छौँ', उनले अगाडि भनेका छन्। 

पोखरेलले सरकारको निर्णयबमोजिमको उपचार पद्धति कानुन, नियम र निश्चित विधिअनुसार हुने स्पष्ट भए पनि राष्ट्रपति संस्थालाई नै विवाद पार्न खोजिएको बताएका छन्। 

'सबै कुरा स्पष्ट हुँदा हुँदै पनि राष्ट्रपति संस्थालाई नै विवादमा पार्ने समनसायले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र दुष्प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ', उनले भनेका छन्, 'राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग-अलग व्यवस्था गरिएको प्रष्ट छ।'

तर ऐन कानुन नै नबुझेजस्तो गरी राष्ट्रपतिका परिवारका सदस्यले दैनिक भ्रमण भत्ता पाउनेजस्ता आमनागरिकलाई दिग्भ्रमित पार्ने सूचना सम्प्रेषण भएको पनि उनले जिकिर गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .