नक्कली भुटानी शरणार्थी प्रकरणमा धमाधम ठूला नेता पक्राउ परिरहेका बेला बुधबार संसद् बैठकमा धेरैजसो सांसदले भ्रष्टाचारको कडा विरोध गर्दै सुशासनका पक्षमा मन्तव्य राखे।
यसै क्रममा नेपाली कांग्रेसका सांसद डा. शशांक कोइराला भने बोल्दाबोल्दै चिप्लिएका छन्। उनले भ्रष्टाचार गर्ने हामीहरू नै हौँ भन्दै भ्रष्टाचार गर्नुपर्ने तर कम गर्नुपर्ने आशयको अभिव्यक्ति दिएका हुन्। जसका कारण संसद् भवनमा हाँसो गुञ्जिएको थियो।
‘करप्सन (भ्रष्टाचार) भनेको त हामीले न गर्छाैं, अरूलाई दोष किन दिने’, उनले भने, ‘हामीबाट करप्सन कम, कम गरौँ। कम गरौँ, निर्मूल गर्न सकिँदैन।’
उनको भनाइ जस्ताको तस्तै–
भ्रष्टाचारका बारेमा म तपाईंलाई एउटा भनौँ। विश्वेश्वरप्रसाद कोइराला जो उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँको एकजना भाइले एउटा जुत्ता लगाउनुभयो, नयाँ जुत्ता, तीन सय रुपैयाँ पर्ने। अनि बीपीले सोध्नुभयो– ओ हो, कहाँबाट तिमीले पैसा पायौ यो? र, त्यही दिन उहाँले बर्खास्त गरिदिनुभयो। त्यस्तो सहनशीलता हुनुपर्छ। त्यो संवेदना हुनुपर्छ कि करप्सन (भ्रष्टाचार) भनेको त हामीले न गर्छाैं। अरूलाई दोष किन दिने? हामीबाट करप्सन कम, कम गरौँ। कम गरौँ, निर्मूल गर्न सकिँदैन। करप्सन भनेको हेर्नुस् भ्रष्टाचारी भनेको यो एउटा रोग नै हो। यल्लाई निर्मूल गर्न त मलाई लाग्छ, प्रयास गर्यो भने त निर्मूल पनि हुन्छ, कति मुलुकहरूमा त्यो भाको पनि छ। तर हामीले प्रयत्न नै नगर्यो भने त कसरी हुन्छ?
Shares
प्रतिक्रिया