राजनीति


एमालेको योजना : काम गर्नेलाई ‘प्रोत्साहन’ नसक्नेलाई ‘सम्मानसहित बिदा’

एमालेको योजना : काम गर्नेलाई ‘प्रोत्साहन’ नसक्नेलाई ‘सम्मानसहित बिदा’

नेपालखबर
जेठ २३, २०८० मंगलबार २१:३०, काठमाडौँ

नेकपा एमालेले संगठनमा बसेर सक्रिय काम गर्न नसक्ने नेताहरुलाई हटाउने योजना अघि सारेको छ।

वैशाख २८ देखि ३० सम्म बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय लिएको हो।

एमालेले सबै नेताहरुलाई मंगलबार पठाएको अन्तर पार्टी सर्कुलरमा काम गर्नेलाई ‘प्रोत्साहन’ र गर्न नसक्नेलाई ‘सम्मानसहित बिदा’ योजना अघि सारिएको उल्लेख छ।

एमालेले पठाएको अपानीमा भनिएको छ, ‘मिसन ग्रासरुट’मा आमरुपमा सुनियो– हाम्रा कमिटीहरु भद्दा भए। कमिटीमा रहन मरिहत्ते गर्ने तर बैठकमा मन लागे आउने, मन नलागे नआउने जस्तो देखियो। काममा नजुट्ने, कमिटीमा नाम राखिरहने सदस्यको औचित्य के हुन्छ? यसलाई व्यवस्थित गर्नुपर्यो। यस्ता भावनालाई महसुस गर्दै संगठनको सुदृढीकरण र संगठनात्मक व्यवस्थापनमा निम्न कार्ययोजना लागू गर्ने।’

अन्तर पार्टी सर्कुलरमा अगाडि भनिएको छ, ‘सूचना पाएर पनि बिना कारण लगातार ३ बैठकमा अनुपस्थित हुनेहरुलाई विधानतः सम्बन्धित कमिटीबाट बिदा गर्ने। भद्दा कमिटीलाई छरितो तुल्याउन पदाधिकारीबाहेकका रिक्त स्थानमा सकेसम्म नयाँ सदस्य नथप्ने।‘बैठकदेखि बैठकसम्म’ मात्र आफ्नो उपस्थिति जनाउने तर काममा नजुट्ने सदस्यहरुलाई सक्रिय हुन समय तोक्ने।

तोकिएको जिम्मेवारी पूरा गर्न प्रेरित गर्ने। सुधार नभए सचेत गराउने, स्पष्टीकरण माग्ने र कमिटीबाट स–सम्मान विदा गर्ने। काम ‘गर्नेलाई प्रोत्साहित’ र काम ‘गर्न नसक्नेलाई सम्मानसहित जिम्मेवारीबाट बिदा गर्ने’ परिपाटीलाई क्रमशः बलियो बनाउँदै लैजाने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .