राजनीति


प्रधानमन्त्रीले आफ्नो सचिवालय विघटन गरिदिए हुन्छ : राजेन्द्र पाण्डे

अहिलेको बजेटलाई सन्तुलित भन्न नसकिने तर्क
प्रधानमन्त्रीले आफ्नो सचिवालय विघटन गरिदिए हुन्छ : राजेन्द्र पाण्डे

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८० शुक्रबार १७:५, काठमाडौँ

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालय विघटन गर्नुपर्ने बताएका छन्।

‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एकजना सांसदले गरेको प्रश्नको जवाफसमेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको उनको भनाइ थियो। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री दाहालको सचिवालय अस्तव्यस्त रहेको दाबीसमेत गरे। 

प्रतिनिधिसभाका सांसद उनले मन्त्रालयहरु तपाईंको नेतृत्वमा चलिरहेका छन कि छैनन? भनेर पनि प्रधानमन्त्री दाहाललाई प्रश्न गरे। 

प्रधानमन्त्री दाहालले आफूमा शक्ति केन्द्रित हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत निकायहरुलाई कायमै राखेकोमा पनि उपाध्यक्ष पाण्डेले आपत्ति जनाए।

‘प्रधानमन्त्रीज्यूको सचिवालय अस्तव्यस्त छ। अस्तव्यस्त रहेको कुरा प्रधानमन्त्रीले आज उत्तर दिँदै गर्दा एक जना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेनछ। यो त ३ दिन अगाडि प्रश्न गरेको हो नि। उहाँको सचिवालयले तयार गरिदिनु पर्थ्यो कि पर्दैन थियो?’, उनले भने, ‘अहिले मन्त्रीहरुले मन नपराएका सचिवहरु त्यहाँ कवाडी खानाजस्ता थन्क्याउने स्थिति रहेछ। हरेक फ्रष्टेड सचिवहरु त्यहाँ जम्मा हुने भएपछि उनीहरुले काम गर्छन?’

उपाध्यक्ष पाण्डेले सरकारले ल्याएको बजेट सन्तुलित नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। उनले अहिलेको बजेटलाई सन्तुलित भन्नै नसकिने बताए। 

‘तराई-मधेश समृद्धि कार्यक्रम उल्लेख गरिएको यो संघीय मामिला मन्त्रालयसँग सम्बन्धित पुस्तक हो। ६९ करोड ६५ लाख त्यो पैसा छ २५ जिल्लाको लागि। तर, एउटा निर्वाचन क्षेत्रको लागि ४० प्रतिशत खन्याइएको छ एउटा मन्त्रीले’, उनले भने, ‘यही हो सन्तुलित बजेट? यसलाई सन्तुलित भन्न मिल्छ? मन्त्रीले भएभरको रकम आफ्नै मन्त्रालय र आफ्नै निर्वाचन क्षेत्रमा खन्याउने यो परिपाटी छ। यो परिपाटीलाई अन्त्य गर्नुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .