राजनीति


संकटमा जोगाउने, सबैलाई मिलाउने ‘आमा’ थिइन् सीता

संकटमा जोगाउने, सबैलाई मिलाउने ‘आमा’ थिइन् सीता

सीता दाहालको शवयात्रा


नेपालखबर
असार २७, २०८० बुधबार १९:८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमा रूपमा स्मरण गरेका छन्। 

पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिन पुगेका नेता तथा कार्यकर्ताले सीतालाई माओवादीका सर्वोच्च नेता प्रचण्डको असली सल्लाहकारका रूपमा व्याख्या गरे।  उनीहरुले प्रचण्डलाई सफल बनाउन सीताले खेलेको भूमिकाको चर्चा गरे। 

माओवादीका नेता दीनानाथ शर्माले सीताले पार्टीभित्र विभिन्न सङ्कट र अप्ठ्यारो अवस्थामा पनि सबैलाई सम्झाईबुझाई पार्टीमा आमाको भूमिका निर्वाह गरेको स्मरण गरे। 

‘हप्कीदप्की र माया गरेर सबैलाई ठीक ठाउँमा राख्ने अभिभावकको भूमिका, सबैलाई मिलाउने, क्रान्तिका कठिन घडी र सङ्कटबाट पार्टीलाई जोगाउने, प्रचण्डलाई यहाँसम्म पुर्‍याउन राजनीतिक सल्लाहकारले दिनुपर्ने सबै भूमिका निर्वाह गर्नुभयो’, उनले भने। 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिवङ्गत सीताको योगदान पार्टी र आन्दोलनमा धेरै रहेको बताए। ‘अध्यक्षको भूमिकालाई प्रभावकारी बनाउने र पार्टी आन्दोलनलाई अघि बढाउने सन्दर्भमा गृहणीमात्र नभई सक्रिय योद्धाकै भूमिका रह्यो’, उनले भने, ‘अध्यक्ष प्रचण्डलाई सहयोग गर्ने, चित्त नबुझेको कुरा सोझै भन्ने र रोक्न सक्ने क्षमता थियो।’

गजुरेलले सीताको मुख्य विशेषता भनेको मानिसको अनुहारलाई पढेर कुन मानिस कसरी प्रस्तुत भयो, बाहिरी आवरण मात्रै हो कि हृदयदेखि हो भन्ने अनुहार अध्ययन गरेर प्रचण्डलाई सुझाव दिनेखालको क्षमता भएको स्मरण गरे। 

पार्टीमा सङ्कट आएका बखत एकताबद्ध गर्न भेटघाट र छलफल गर्ने गरेको सन्दर्भ स्मरण गर्दै उनले सीताको योगदान पार्टीमा अतुलनीय रहेको बताए। सीताको निधनले अपूरणीय क्षति पुगेको गजुरेलको भनाइ छ। 

माओवादी केन्द्रका केन्द्रीय सदस्य कल्पना धमलाले सीता पार्टीको अभिभावकका रूपमा रहेको बताइन्। ‘आज हामीले अभिभावक गुमाएका छौँ। सिङ्गो पार्टी पङ्क्ति मर्माहत छ। पार्टी आन्दोलन र सङ्गठन निर्माणका क्रममा नेता तथा कार्यकताको संरक्षणका क्रममा उहाँले गर्ने मूल्याङ्कन असाध्यै न्यायिक थियो’, उनले भनिन्। 

पूर्वमन्त्री शशी श्रेष्ठले पुष्पकमललाई ‘प्रचण्ड’ बनाउन सीताको धेरै ठूलो योगदान रहेको बताइन्। ‘घर परिवार सम्हाल्ने मात्र होइन, जनयुद्धका समयमा साथै हिँडेर प्रचण्ड बनाउने काम उहाँले नै गर्नुभयो’, उनले भनिन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .