राजनीति


रास्वपाको दबाबमा सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भयो : रवि लामिछाने

रास्वपाको दबाबमा सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भयो : रवि लामिछाने

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०८० सोमबार १४:४६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन्।

सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको जिकिर गरे। उनले भ्रष्टाचारको फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरुको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरु पनि भ्रष्टाचारविरोधी अभियानमा लागेको बताए। 

‘मैले सरकारको कामकारबाहीलाई पनि भनेको छु कि जसरी भ्रष्टाचारको बिरुद्ध बुलन्द आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी बजाउँदै अगाडि आयो। सम्भवतः यो आगमनले काँही न काँही सरकारलाई पुराना भ्रष्टाचारका फाइल खोल्न प्रेरणा दिएकै हुनुपर्छ,’ सभापति लामिछानेले भने, ‘र, लाएकै हुनुपर्छ कि अहिले फाइल खोलिएन भने २०८४ सम्म त के हो के? भन्ने लागेकै हुुनुपर्छ। त्यसकारणले यो संकेत देखिएकै छ। ठिक छ। हामी खुसी छौं।’

सभापति लामिछानेले आगामी निर्वाचनसम्म सुशासनको क्षेत्रमा सरकारले केही काम गरे आफ्नो पार्टीका लागि खुसीको कुरा हुने समेत बताए। नेपाली जनता आफैँले कोरेको समृद्धिको खाकालाई सार्थक बनाउन सुशासनको प्रत्याभुति चाहिने उल्लेख गर्दै उनले त्यसमा सरकारले केही गर्नुलाई आफ्नो पार्टीले गलत अर्थमा नलिने पनि पटकपटक दोहोर्‍याए।

‘हाम्रो उपस्थितिले मात्रै पनि जुन ढंगले होसियारी देखिएको छ–ठाउँठाउँमा। सदनदेखि सरकारसम्म र विभिन्न राजनीतिक दलहरूमा जुन किसिमको एउटा चलायमान अवस्था देखिएको छ,’ उनले भने, ‘यो आफैंमा एउटा राम्रो संकेत हो। यसलाई मैले गलत अर्थमा लिएको छैन। राम्रो संकेत हो यो।’

सभापति लामिछानेले आफ्नो पार्टीले आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीहरुलाई मतदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउने प्रयास गरिरहेको बताए।

‘हामीले निर्वाचनमा जानुअघि उठाएको विषयमा सरकारले आउने निर्वाचन सम्ममानै धेरै सरसफाई गर्न सकेछ भने हाम्रो काम सजिलो नै हुनेछ। किनकी नेपाली जनताले अव जुन किसिमको एउटा समृद्धिको खाका कोरेका छन्,’ उनले भने, ‘र, त्यो समृद्धिको खाका कोर्नुभन्दा अगाडि जुन किसिमको सुशासनको प्रतिवद्धता चाहिन्छ। त्यसको छनक देख्न पाएको हुनाले हामी यसमा खुसी नै छौं। हामीले यसमा दुःख मनाउ गर्ने कुरा छैन।’

घरघरमा राष्ट्रिय स्वतन्त्र पार्टी पुर्‍याउने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले सचेत गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .