जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताएका छन्।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद अधिकारीले संसदलाई सुचारु गर्न सबैले ध्यान दिनुपर्ने बताएका हुन्।
उनले संसद सुचारु भएमा सुन प्रकरणको छानबिनमा सघाउ पुग्ने बताए।
‘हामीले पक्ष, प्रतिपक्ष भन्दा पनि संसदलाई सुचारु गराउनेतिर नै बल गर्नुपर्छ जस्तो लाग्छ। जहाँ हामी धेरै कुराहरू उठाउन पाउछौँ। धेरै कुराहरू त्यहाँबाट व्यक्त पनि हुन्छन्,’ उनले भने, ‘त्यसकारणले संसदलाई सुचारू गराउनेतिरै बढी प्रभावकारी होला कि संसद अवरुद्ध हुनुभन्दा हामी छानबिन होस् भन्ने चाहिरहेका छौँ, अझ यो कुरा राम्रोसँग उजागर होस् भन्ने चाहीँ राखेका छौँ। यो अवरुद्धले सरकारलाई त मद्दत पुगिराखेको छैन? त्यतातिर सोच्नुपर्ने हुन्छ।’
उनले ललिता निवास जग्गा प्रकरणमा जग्गा फिर्ता गर्नेहरुलाई कानुुनी कारबाहीबाट चोख्याइने गरेको भन्दै यसो गर्नु नहुने पनि बताए।
उनले जग्गा फिर्ता गर्नेहरूलाई कानुनी कारबाही नगर्ने हो भने यस्ता प्रकरणहरु दोहोरिइरहने बताए।
‘ललिता निवास काण्डमा पनि जग्गा फिर्ता गर्दै जाने, चोखिँदै जाने? यो प्रश्न त उठेको छ। जग्गा फिर्ता गरेपछि चोखिने भनेर आजकाल ज–जसले किनेका थिए, लिएका थिए, तिनीहरु धमाधम फिर्ता गर्न थालेका छन्। यो कानूनी दायरा अथवा न्यायिक दायरामा पर्ने हो?,’ उनले भने।
Shares
प्रतिक्रिया