राजनीति


अर्थमन्त्री महतको गुनासो– कर्मचारीतन्त्रलाई चलाउन सजिलो छैन

अर्थमन्त्री महतको गुनासो– कर्मचारीतन्त्रलाई चलाउन सजिलो छैन

नेपालखबर
भदौ १८, २०८० सोमबार २१:३०, काठमाडौँ

संघीय सरकारका अर्थमन्त्री डा।प्रकाशशरण महतले नेपालको कर्मचारीतन्त्रलाई चलाउन सजिलो नरहेको गुनासो गरेका छन्।

अर्थतन्त्र सुधारका लागि ‘खुकुलो’ मौद्रिक नीतिको वकालत गर्दै आइरहेका अर्थमन्त्री महतले कसैको नाम त लिएनन् तर नेपाल राष्ट्र बैंकले आफ्नो चाहना ‘कसिलो’ मौद्रिक नीतिप्रति घुमाउरो पाराले असन्तुष्टि व्यक्त गरे। 

‘कर्मचारीतन्त्रमा पनि समस्या छ। पहरोसँग सोझै टाउको ठोक्यो भने टाउकोमै चोट लाग्छ,’ सोमबार पोखरा पर्यटन परिषदको २३ औं साधारण सभा उद्घाटन क्रममा उनले भने, ‘पहरोलाई बिस्तारै चोइट्याएर टुक्रा–टुक्रा पारेर निकाल्नुपर्ने छ।’

अर्थमन्त्री महतले पछिल्लो समय बैंकहरुले कर्जाको ब्याजदर घटाउँदै लगेको र स्थिति सहज हुने भन्दै व्यवसायीहरुलाई आश्वस्त भने गराए। 

‘तपाईंहरुले ब्याजका कुरा गर्नुभा’छ, १६/१७ प्रतिशत छैन । ११÷१२ प्रतिशतमा झरेको छ। म चाहन्छु राष्ट्र बैंकले अझ सहज वातवारण बनाओस्, शेयर मार्केटलाई सहज बनाओस्, चालु पूँजी कर्जालाई अझ सहज बनाओस्। केही सुधार भएको छ,’ उनले भने।

उनले कोभिडपछि नेपाल राष्ट्र बैंकले एकाएक बजारमा पूँजी प्रवाह गरेको र त्यो बेला लगानी गरेका व्यवसायीहरुले पछिल्लो समय प्रतिफल पाउन छाडेको पनि स्वीकारे।

‘जुन परिवेशमा लगानीकर्ता साथीहरुले लगानी गर्नुभयो, त्यसको रिटर्न आउन गाह्रो छ,’ उनले थपे,‘ मैले उहाँहरु (बैंकहरु)लाई पनि भनेको छु। यसमा तपाईंको पनि जिम्मेवारी छ, ऋणीलाई मात्र दोष दिन हुँदैन भनिरहेको छु, यसमा पनि बिस्तारै सुधार आउँछ।’ 

उनले, युद्ध, भुकम्प, कोभिड र रसिया–युक्रेन युद्धले ल्याएको अन्तर्राष्ट्रिय मन्दीका कारण राजश्वमा प्रभाव पर्दा अर्थतन्त्रमा शिथिलता देखिएको पनि बताए।

‘भूकम्प र कोभिडबाटै सुरु भएको अर्थतन्त्रको शिथिलता पछिल्लो समय विशिष्ठ किसिमले देखियो,’ उनले थपे। समस्या छन् भन्दैमा निराशाको कुरा गरेर बस्न नहुने र थोरै समस्या आयो भन्दै हामीले निराशाको कुरा गर्ने हो भने यसले राम्रो नगर्ने बताउँदै उनले भने, ‘पूँजीगत खर्च प्रभावकारी ढंगबाट कार्यान्वयन गरिनेछ। ठेक्का समयमा लगाइने छ। ठूलठूला आयोजनाबाहेक सरकारले तीन वर्षे योजना समयमै सम्पन्न गर्ने हिसाबले ठेक्कामा लगाउँछ। यसबाट पूँजी प्रवाह हुन्छ।’

उनले भनेजस्तो पर्यटकको आगमन नभएको, पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको तथा पृथ्वी राजमार्ग समयमै स्तरोन्नति नभएको विषयमा सरकार गम्भीर रहेको पनि बताए।

पोखरा पर्यटनको ‘हब’ भएको बताउँदै उनले यसलाई ट्रान्जिटकै रुपमा विकास गर्नुपर्ने धारणा पनि राखे।

कार्यक्रममा बोल्दै गण्डकीका उद्योग,पर्यटन,वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गण्डकीको पर्यटन प्रवद्र्धनको लागि धर्मगुरुहरुको भ्रमण गराउने योजना दोहो¥याए।

उनले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपाल ल्याउने पहल गरिएको पनि जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले आर्थिक असमानता बढ्दै गएको र नियमन नभए खुला अर्थतन्त्र नै जोखिममा पर्ने खतरा रहेको जिकिर गरे।

सांसद देवका पहारीले जलवायू परिवर्तनले पारेका असरहरुप्रति संघ सरकारले ध्यान दिन नसकेको धारणा राखिन्। पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र राजमार्ग स्तरोन्नतिको माग गरे।

निवर्तमान अध्यक्ष गोपी भट्टराईले पर्यटन उद्योगप्रति राज्य अनुदार भएको धारणा राखे। होटल संघका अध्यक्ष लक्ष्मण सुवदीले मन्दीको मारले पर्यटन उद्योग धराशायी भएको गुनासो गरे।

साधारण सभाले महासचिव संजयकान्त सिग्देलको वार्षिक प्रतिवेदन पारित गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .