नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीहरुको क्रीडास्थल बनाउन एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली सेना र नेकपा एमाले कमजोर बनाउन सके पाल राष्ट्रलाई विदेशीहरुको क्रीडास्थल बनाउन सकिने मनशायले नेकपा एमालेमाथि प्रहार भइरहेको बताए।
‘यतिबेला दुई शक्तिमाथि प्रहार भइरहेको छ। एउटा नेकपा एमाले र अर्को नेपाली सेना। यी दुई वटा शक्तिलाई कमजोर पार्न सकियो भने नेपाल राष्ट्रलाई विदेशीहरुको क्रीडास्थल बनाउन सकिन्छ, पकेट बनाउन सकिन्छ, नेपाल राज्यलाई भन्ने मान्यताका आधारमा नेकपा एमालेमाथि प्रहार भइरहेको छ,’ उनले भने।
उनले सत्तामा रहनेहरुको प्रहारको निशाना, आफूलाई वैकल्पिक शक्ति भनेर आउनेहरुको निशानामा र प्रतिगामीहरुको निशानामा नेकपा एमाले किन? भन्दै प्रश्न गरे।
‘हामीले भन्नसक्नुपर्छ, नेकपा एमाले यतिबेला सरकारमा छैन, तर प्रहारको निशानामा नेकपा एमाले छ। सत्तामा रहनेहरुको प्रहारको निशाना एमाले, आफूलाई वैकल्पिक शक्ति भनेर पुराना होइन, नयाँ भन्नेहरुको प्रहारको निशाना पनि एमाले, परिवर्तन असफल भयो, अब राजा नै चाहिन्छ भन्नेहरू प्रतिगामीको प्रहारको निशाना पनि एमाले। के नेकपा एमाले अहिले सरकारमा छ र?,’ उनले प्रश्न गर्दै भने।
यो प्रहार एमालेमाथिको प्रहार नभइ देशभक्त शक्तिमाथिको प्रहार भएको उनको दाबी छ। उनले एमाले नेतृत्वमाथिको प्रहार नेपाली जनताको भविष्यमाथिको प्रहार भएको पनि बताए।
‘प्रतिपक्षमा रहेको यो पार्टीमाथिको प्रहार किन? हामी सबैले गम्भीरतापूर्वक मनन गर्नुपर्छ । यो एमालेमाथिको प्रहार होइन, देशभक्त शक्तिमाथिको प्रहार हो। यो एमाले नेतृत्वमाथिको प्रहार होइन, नेपाली जनताको भविष्यमाथिको प्रहार हो,’ उनले भने।
महासचिव पोखरेलले राष्ट्रनिर्माणको नयाँ यात्रा आरम्भ गर्नका लागि अब नेकपा एमाले संवद्ध युवा विद्यार्थी संगठनहरु जुर्मुराएको पनि बताए।
Shares
प्रतिक्रिया