राजनीति


मैदानमा पूर्वराजा

मैदानमा पूर्वराजा

शुक्रबार झपाको भद्रपुर विमानस्थलमा पूर्वराजा शाह (तस्बिरः मोहन कुमार श्रेष्ठ/राप्रपा)


रामबहादुर रावल
मंसिर ८, २०८० शुक्रबार २१:४६, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘व्यवस्था उल्टाईछाड्ने अठोट’सहित देशभरिबाट काठमाडौँमा समर्थक भेला पारेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने काठमाडौँ छाडेर झापातिर लागेका छन्।

प्रसाईंका समर्थकहरू काठमाडौँका सडकमा ‘राजा आऊ, देश बचाऊ’ भनेवापत् धरपकडको सामना गरिरहँदा स्वयं ‘राजा’ भने सहानुभूतिको एउटा सन्देशसमेत जारी नगरी झापा झर्नु कम अर्थपूर्ण छैन। 

बरु विभिन्न मानव अधिकारवादी संस्था र गणतन्त्रवादी नागरिक अगुवाहरूले बोल्न पाउने, शान्तिपूर्ण प्रदर्शन र आलोचना गर्न पाउने अधिकारको सम्मान गर्न सरकारलाई सचेत गराइरहँदा निर्मलनिवास मौन छ।

जबकि, विशुद्ध सांस्कृतिक अवसरहरूमा समेत पूर्वराजाका नाममा जारी हुने सन्देशमा राजनीतिक टिप्पणी एवं वर्तमान व्यवस्थाप्रति कटाक्ष हुनु नियमित परिकारजस्तै देखिन्थ्यो।

धार्मिक भनेर गरिने भ्रमण र शक्तिपीठहरूको दर्शनका क्रममा समेत शाहले ‘बेलाबेला भुईँचालो गइरहेकाले विचार गर्न’ भन्दै चेतावनीको भाषा प्रयोग गर्न भ्याउँथे।

प्राकृतिक विपत्तिसँग जोडेर उनले गरेको यो राजनीतिक टिप्पणी मानवीय संवेदनशीलताका दृष्टिले कति उचित हो भन्ने बेग्लै पक्ष छ। 

तर, उनका यी व्यवहार र प्रस्तुतिले उनीभित्रको शक्तिको आशक्ति र राजनीतिक छटपटाहटलाई भने छर्लंगै पार्छन्।

यति हुँदाहुँदै पनि पूर्वराजा ज्ञानेन्द्रसँगै दुर्गा प्रसाईंको फोटो बोकेर काठमाडौँमा भेला भएका हजारौँ नागरिकलाई उनले सम्बोधन गरेनन्। कृतज्ञताको एक शब्द व्यक्त गरेनन्।

उनले राजनीतिक भाषण गर्नैपर्छ भन्ने होइन। दुर्गा प्रसाईंका समर्थकलाई सम्बोधन गर्नैपर्छ भन्ने पनि होइन। तर, शाहले आफ्नो राजपाठ फर्काउन चाहेका हुन् र प्रसाईंले उनकै लागि यो सब कसरत गरिरहेका हुन् भने कहीँकतै यिनीहरूको बीचमा तालमेल देखिनुपर्ने हो।

कम्तीमा युवा संघको मुक्का, प्रहरीको लाठी र अश्रुग्यास अनि धरपकड खाने हतियारविहीन जोकोही नागरिकप्रति उनले सहानुभूति भने व्यक्त गर्न सक्थे। त्यो पनि नगरेपछि अब बुझ्नुपर्ने हुन्छ, सायद पूर्वराजा ज्ञानेन्द्रलाई प्रसाईंप्रति भरोसा छैन। 

गत वर्षको फागुन १ मा यिनै प्रसाईंले ‘नागरिक बचाउ महाअभियान’ झापाबाट सुरु गर्दा उद्घाटन समारोहमा पूर्वराजपरिवार नै मञ्चमा उपस्थित थियो। पूर्वराजा ज्ञानेन्द्र, उनकी पत्नी कोमल र छोरा पारस उपस्थित भएर सुरु गरिएको अभियानको एउटा कोशेढुंगा थियो, मंसिर ७ को काठमाडौँ प्रदर्शन। जसलाई निर्मल निवासले देखेको नदेख्यै गरेको छ।

निर्मल निवासबाट स्याबासी पाउनुको साटो यस खालको व्यवहार बेहोर्नुपरेपछि प्रदर्शनका अगुवा प्रसाईं पनि सायद खुसी छैनन्। भलै राजतन्त्रसँग झुकाव भएका बौद्धिकहरू सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा प्रसाईंलाई ‘क’ दर्जाकै राजावादीका रूपमा देवत्वकरण गरिरहेका होऊन्।

प्रसाईंले बिहीबारको प्रदर्शनका क्रममा सकेसम्म पूर्वराजा ज्ञानेन्द्रलाई नै मैदानमा उतार्न चाहेका थिए। प्रसाईं निकटस्थहरूका अनुसार आफै उपस्थित हुन नसके ‘एक चिर्कटो सन्देश’ भए पनि दिनुपर्ने उनको अडान थियो। 

तर, निर्मल निवासले उनको आग्रह र अपेक्षाको वास्ता गरेन। आफ्ना समर्थकले लाठी–मुंग्री खाँदा पनि मौन बसेका शाह राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको कार्यक्रममा सहभागी हुन झापा पुगेपछि प्रसाईं झनै बेचैन बनेका छन्।

प्रसाईं र लिङ्देनबीच को बढी राजावादी हुने भन्ने अघोषित प्रतिस्पर्धा पनि गत फागुनबाटै प्रकट रूपमा देखिएको हो। 

फागुन १ मा पूर्वराजपरिवारलाई मञ्चमा राखेर प्रसाईंले अभियानको उद्घाटन गरेपछि त्यसको केही दिनमै इलाम पुगेर लिङ्देनले कडा टिप्पणी गरेका थिए।

लिङ्देनले प्रसाईंको नामै लिएर भनेका थिए, ‘५ अर्बभन्दा बढी ऋण लिएर, ब्याज र किस्ता नतिरेर, अहिले त ८ अर्ब पुग्न लागेको छ। कति पैसा विदेशमा पठाएर बसेको छ। त्यो मान्छेले अब बैंकको ब्याज नतिर्ने, ऋण नतिर्ने भन्दाखेरी ताली बजाएर कुद्छन् मान्छे। उसले राजा ल्याइदिन्छ, हिन्दु राष्ट्र ल्याइदिन्छ भनेर मान्छे कुद्छन्।’

त्यसपछि प्रसाईं र लिङ्देनबीच अरू धेरै चरणमा जुहारी चलेको छ। प्रतिवादमा प्रसाईंले लिङ्देनलाई ‘ओलीको असली धर्मपुत्र’ भन्न भ्याएका छन्। गत कात्तिक २१ को एक कार्यक्रममा प्रसाईंले भनेका थिए, ‘मेरो घर छेउको राजेन्द्र लिङ्देन कुरा राजा ल्याउने गर्छन्। गणतन्त्रमा गएर असलमा केपी ओलीको धर्मपुत्र नै हो उहाँ। केपी ओलीले जे भन्यो त्यही गर्नुहुन्छ। राजा ल्याउने भन्यो, गणतन्त्रमा गएर मन्त्री खाइहाल्यो।’

उनीहरूको यस खालको प्रतिद्वन्द्विताकै उपज हुन सक्छ, प्रसाईंको काठमाडौँ प्रदर्शनलाई राप्रपाले औपचारिकरूपमा समर्थन गरेन। केही नेताले अभियानमा समर्थन गर्नुपर्छ र पार्टी सहभागी हुनुपर्छ भन्दा पनि अध्यक्ष लिङ्देनले वास्ता गरेनन्। बरु उनी उस्तै प्रकारको अर्को कार्यक्रमको तयारीका लागि झापा हान्निए। रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाहीलगायतले व्यक्तिगत रुपमा मात्र सहभागिता जनाए।

प्रसाईं समूहभित्र पनि राप्रपासँग एक खालको ‘डर’ देखिन्थ्यो, आफूहरूले निकै दुःख गरी देशभरिबाट जम्मा गरेका मान्छेका बीचमा गएर राप्रपाका नेताले भाषण गरिदिन्छन् कि भनेर। बल्लतल्ल जम्मा गरेको ‘मास’ अपहरण गरेर उनीहरू नेता भइदिन्छन् कि भनेर। 

बिहीबार बल्खुको प्रदर्शनमा प्रसाईंको नियन्त्रण देखिएन। पूर्वनिर्धारित कार्यक्रम नै प्रभावित बन्यो। प्रदर्शनका लागि त्यति धेरै मान्छे भेला पारेर पनि प्रसाईंले सभा र सम्बोधन गर्न सकेनन्। दिनभर अवस्था तनावग्रस्त भयो। प्रदर्शनस्थलबाटै प्रसाईं नेतृत्वको अभियानका कार्यक्रम प्रमुख हरि कार्कीले फोन गरी नेपालखबरलाई भनेका थिए, ‘हाम्रो कार्यक्रममा घूसपैठ भएको अनुभूति भयो। अब हामी पत्रकार सम्मेलन गरी बाँकी कुरा भन्छौँ।’

नभन्दै प्रसाईंले साँझतिर भक्तपुरस्थित आफ्नै घरमा गएर पत्रकार सम्मेलन गरे र भने, ‘भोलिबाट हामी तीनकुनेमा प्रदर्शन गछौँ।’

प्रदर्शन तीनकुनेमा पनि सम्भव भएन। प्रहरी–प्रशासनले बिथोलिदियो। अब त धेरै समर्थक–कार्यकर्ता लाखापाखा लागिसकेका छन्। तीन दिनसम्म गर्ने भनिएको कार्यक्रम लगभग पहिलो दिनमै तुहिएको छ।

राजा फर्काउँछु भनेर लागेका प्रसाईंको अभियानको यो हालत भइरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह भने झापा ओर्लिएका छन्।

प्रसाईंको पछिल्लो कार्यक्रममा मौनता साँधेका शाह राप्रपाको कार्यक्रमका लागि झापा पुग्नु काठमाडौंका राजावादीहरूका लागि पक्कै पनि प्रिय खबर होइन।

यसबाट तत्काल बुझिने कुरा हुन् :

एक, राजावादी शक्तिहरू एकजुट छैनन्। उनीहरू ‘आफू मात्र’ अब्बल राजावादी ठानिरहेका छन्। अनि तत्कालै राजा आइहाल्ने भएकाले राजतन्त्रको लाभ अरूलाई बाँड्नु नपरोस् र आफूले मात्र खान पाइयोस् भन्ने सोचमा छन्। (यो निष्कर्ष राप्रपाभित्रको विवाद र प्रसाईंको अभियानलाई नजिकबाट नियालेका राजावादी नेतासँगकै कुराकानीबाट निकालिएको हो।)

दुई, पूर्वराजा ज्ञानेन्द्रले प्रसाईंको असंगठित अभियानको पाइन जाँचेका छन् र उनीबाट पार लाग्दैन भन्ने निष्कर्ष निकालेका छन्।

तीन, स्थानीय, प्रदेश र संघीय तहका चुनावमा सहभागी भएर संसदीय राजनीतिको खेलमैदानमा रहेको दललाई पूर्वराजाले रोजेका छन्।

चार, पूर्वराजा ज्ञानेन्द्र आफै मैदानमा उत्रिएका छन् र दर्शक मात्र भएर नबस्ने संकेत गरेका छन्। राजनीतिक दलको आयोजनालाई ग्रहण गरेका छन्। उनको यो कदम यसअघि विभिन्न धार्मिक मठहरूमा गएर समर्थक भेला पार्ने अनि जयजयकार खानेभन्दा बिल्कुल भिन्न छ। एउटा राजनीतिक दलको आयोजनामा प्राप्त मञ्चको उपयोग गर्न पूर्वराजा ज्ञानेन्द्र पहिलोपल्ट तम्सेका छन्।

संघीय गणतन्त्रको रंगशालामा दर्शकदीर्घाबाट मैदानमै उत्रिने जोखिम उनले लिनुमा हाल जनतामा व्याप्त निराशा र शासकीय अक्षमताको लाभ आफैलाई पुग्नेछ भन्ने एक मात्र बुझाइ देखिन्छ।

पूर्वराजपरिवारका सदस्य आफैमा कति आशा र भरोसाका केन्द्र हुन् भन्ने त शाही शासनकाल बेहोरेको पुस्तालाई राम्रैसँग थाहा छ। त्यो शाहीकाल नबेहोरेको अर्को पुस्ता आउँदासम्म त राजा र राजतन्त्र शब्दकोशकै लागि पनि बिराना भइसक्नेछन्।

अर्को बुझ्नुपर्ने कुरा, अहिले आमनागरिकको निराशा मूलतः व्यवस्थाप्रति होइन, अवस्थाप्रति हो। तिनको असन्तोष शासक र तिनका कार्यक्षमता, शैली अनि आचरणप्रति हो।

यिनको अक्षमता र भ्रष्ट आचरणको विकल्प इतिहासमा विलीन भइसकेको एक अध्यायको पुनरोदय होइन। जनताले यही व्यवस्थाभित्रैबाट विकल्प खोज्छन्।

गएका स्थानीय, प्रदेश र संघीय चुनावमा जसरी नयाँ र युवा रोजे, आउँदो चुनावमा झन् नयाँ खोज्न सक्छन्। त्यसमा पूर्वराजपरिवारका सदस्य पनि सामेल भएर जनताको मत जित्ने सुविधा त छँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .