राजनीति


दुबईमा प्रधानमन्त्रीको ५ दिने तालिका : गोलमेचदेखि यूएईको राष्ट्रिय दिवससम्म

राफेल्स दुबई वाफी होटलमा हुनेछ बास
दुबईमा प्रधानमन्त्रीको ५ दिने तालिका : गोलमेचदेखि यूएईको राष्ट्रिय दिवससम्म

तस्बिरहरू : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
मंसिर १३, २०८० बुधबार २२:१०, काठमाडौँ

संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) का क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलन आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्सको राष्ट्रिय दिवसमा पनि सहभागिता जनाउने भएका छन्। 

सो सम्मेलनका लागि प्रधानमन्त्री नेपाल वायु सेवा निगमको आरए–२२९ उडानबाट बुधबार साँझ दुबई प्रस्थान गरिसकेका छन्। राति १ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन्, जहाँ उनलाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि अब्दुल्ला एम साम्सीले स्वागत गर्नेछन्।  

दुबईमा उनको बास राफेल्स दुबई वाफी होटलमा हुने कार्यक्रम छ। बिहीबार बिहान पौने १० बजे उनले कोप–२८ का अध्यक्ष डा. सुल्तान विन अहमद अब जावेसँग भेटघाट गर्नेछन्। 

दिउँसो १२ बजे नेपाली राजदूतावासमा आयोजना गरिएको परिचयात्मक कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि उनी सेराटन होटलमा नेपाली समुदायको कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन्। 

दुबईमा उनले त्यहाँको विशाल मस्जिद (ग्य्राण्ड मस्क) भ्रमण गर्ने कार्यक्रम पनि तय भएको छ। अपरान्ह ३ बजे मस्जिद पुगेर प्रधानमन्त्रीले २० मिनेट मस्जिद भ्रमण तथा अवलोकन गर्नेछन्।  

बिहीबार साँझ उनको वास राफेल्स दुबई वाफीमा हुनेछ। साँझ ७.३० बजे राफेल्स होटलको बालरुपमा नेपाल च्याम्बर्स अफ कमर्सको दुबई शाखाले आयोजना गरेको कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन्।  

शुक्रबार (१५ मंसिर) बिहान साढे ९ बजे यूएईका राष्ट्रपति मोहम्मद विन जायेद अल नाह्यानसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्नेछन्। राष्ट्रपति नाह्यान र प्रधानमन्त्री प्रचण्डको भेटवार्ता २० मिनेट हुने तय भएको छ। 

त्यसपछि उनले कोप–२८ सम्मेलनस्थलमा राखिएको नेपाली पेभिलियन अवलोकन गर्नेछन् भने ११ः४० मा विश्व वातावरण सम्मेलनमा सहभागी हुनेछन्। साढे १ बजे ‘ट्रान्सफर्मिङ फुड सिस्टम इन द फेस अफ क्लाइमेट चेन्ज’ कार्यक्रममा सहभागिता जनाउनेछन्।  

सम्मेलनस्थलमै उनले यूएईका उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। यी दुई भेटघाट शुक्रबार दिउँसो २ बजेको आसपास हुनेछन्। 

त्यसै दिन ४ः४० मा ‘वातावरण अनुकूलनसम्बन्धी सम्मेलन’ मा सहभागी हुने उनी साँझ ६ः४५ बजे ‘जायेद दिगोपन पुरस्कार वितरण’ कार्यक्रममा सहभागी हुने योजना बनेको छ। त्यसअघि २ः४५ मा ‘क्लाइमेट फाइनान्स’सम्बन्धी अर्काे बैैठकमा पनि उनी सहभागी हुनेछन्। 

शनिबार (१६ मंसिर) मा सम्मेलनस्थलको ‘साइडलाइन’ का रूपमा प्रधानमन्त्री प्रचण्डले पर्वतीय मुलुकका प्रतिनिधिमण्डलका प्रमुखहरूको राउण्ड टेबल बैठक आयोजना गरेका छन्। सो बैठकमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस पनि सहभागी हुने तय भइसकेको छ। 

कार्यक्रमका लागि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिएका छन्। तर, मोदी सहभागी हुने–नहुने टुङ्गो छैन। मध्य–एसियाली मुलुक किर्गिस्तानका राष्ट्रपति सादर जापारोभ बैठकमा सहभागी हुने प्रबल सम्भावना छ।    

नेपालद्वारा आयोजित राउण्ड टेबल बैठक सकिएपछि कोप–२८ अन्तर्गतकै अर्काे कार्यक्रममा उनी सहभागी हुनेछन्।

शुक्रबार साँझ ५ बजे कोप–२८ को समापन कार्यक्रम हुनेछ, जहाँ प्रधानमन्त्री प्रचण्ड पनि उपस्थित हुनेछन्। 

शनिबार साँझ नै कोप–२८ को आयोजक राष्ट्र यूएईले राष्ट्रिय दिवसको उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरेको छ, जहाँ कोप–२८ मा सहभागी प्रतिनिधिमण्डलका प्रमुखहरू उपस्थित हुनेछन्। प्रधानमन्त्री प्रचण्ड त्यसमा सहभागी हुनेछन्।  

आइतबार (१७ मंसिर) मा प्रधानमन्त्री नेपाल फर्कनेछन्। तर, नेपाल फर्कनुअघि दुई कार्यक्रम तय भएका छन्। तिनमा एसियाली विकास बैंकका अध्यक्ष मासात्सुगु आसाकावाले प्रधानमन्त्री प्रचण्डसँग गर्ने भेटघाट र ‘हिन्दुकुश हिमालय क्लाइमेट रिस्क म्यानेजमेन्ट इनिसिएटिभ्स’ सम्बन्धी कार्यक्रम छन्। 

‘हिन्दुकुश हिमालय क्लाइमेट रिस्क म्यानेजमेन्ट इनिसिएटिभ्स’ मा प्रधानमन्त्रीले सम्बोधन गर्ने योजना छ। तर, साढे १२ बजे फ्लाई दुबईको ‘एफजेट ५७५ उडान’ बाट काठमाडौँ प्रस्थान गर्ने पूर्वनिर्धारित कार्यक्रमका कारण ‘हिन्दुकुश हिमालय क्लाइमेट रिस्क म्यानेजमेन्ट इनिसिएटिभ्स’ मा सम्बोधन गर्ने–नगर्ने टुङ्गो लागेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .