राजनीति


रञ्जुलाई रवीन्द्रको जवाफ: सत्तामा जान तपाईंहरूको यत्रो छिःछिः–दूर्‌दूर् सहनुपर्ने थिएन

रञ्जुलाई रवीन्द्रको जवाफ: सत्तामा जान तपाईंहरूको यत्रो छिःछिः–दूर्‌दूर् सहनुपर्ने थिएन

फाइल फाेटाे : रवीन्द्र मिश्र र रञ्जु दर्शना


नेपालखबर
मंसिर १५, २०८० शुक्रबार २१:१३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाबीच सामाजिक सञ्जालमा सवाल–जवाफ भएको छ। 

हिमालखबरमा प्रकाशित रवीन्द्र मिश्रको अन्तर्वार्ताको लिंक राख्दै रञ्जुले एक्स (पहिलेको नाम ट्विटर) मा ‘एउटा प्रश्न’ गरेपछि मिश्रले लामो जवाफ फर्काएका हुन्। 

अन्तर्वार्तामा ‘एउटा प्रश्न छुट्यो’ भन्दै रञ्जुले मिश्रलाई व्यंग्यात्मक प्रश्न गरेकी छन्, ‘तपाईंको चाँडै सत्ता प्राप्तिको मोह र अस्पष्टताले पार्टीको दुर्दशा हुँदा क्षमता भएका विवेकशील साझाका युवाहरू पनि विदेशिन बाध्य भए। तपाईंलाई यो कुराको बोध कत्तिको हुन्छ?’

जसमा विवेकशील साझा पार्टीका पूर्वअध्यक्षसमेत रहेका मिश्रले रञ्जुलाई सम्बोधन गर्दै लामो पोस्ट गरेका हुन्। 

मिश्रले जवाफमा लेखेका छन्, ‘हो, मैले बीचमा तपाईंहरूको विमति र धेरै ठूलो जमातको छिःछिः-दूर्‌दूर्‌का अलावा मार्ग परिवर्तन गरेँ। तर त्यो परिवर्तन तपाईंले आरोप लगाउनुभएजस्तो सत्ता प्राप्तिको मोह र अस्पष्टताले थिएन।’

व्यक्तिले जित्ने र देशले हार्ने राजनीति नगर्ने दृढताका साथ आफूले मार्ग परिवर्तन गरेको दाबी मिश्रले गरेका छन्। 

मिश्रले लेखेका छन्, ‘व्यक्ति जित्ने, देश हार्ने’ राजनीति गर्दिनँ, यो देश र तपाईंहरूजस्ता युवालाई भविष्यमा घात हुने काम गर्दिनँ भन्ने दृढताको परिणाम थियो त्यो। मभित्र विकसित भएको स्पष्टताको परिणाम थियो त्यो।’

सत्तामै पुग्ने रहर थियो भने आफूसँग कम्तीमा तीनवटा विकल्प रहेको उल्लेख गर्दै मिश्रले त्यसबाट आफूलाई सत्तामा पुग्न कसैले रोक्न नसक्ने दाबी गरेको छ। 

उनले अगाडि भनेका छन्, ‘सत्तामा जान यत्रो छिःछिः–दूर्‌दूर् सहनुपर्ने थिएन।’

वैकल्पिक दलको नारासहित उज्वल थापाको नेतृत्वमा गठित तत्कालीन विवेकशील नेपाली पार्टी र लगत्तै मिश्रको अगुवाइमा गठन भएको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो। 

तर ३ वर्षअघि थापाको निधन भएपछि मिश्र पार्टीमा शक्तिशाली बनेका थिए। त्यस क्रममा उनले ‘विचारभन्दा माथि देश’ नारासहित राजावादी अवधारणा अगाडि सारेपछि विवाद भएको थियो।

यसपछि रञ्जु रहेको पार्टीका तत्कालीन संयोजक मिलन पाण्डेको समूहले मिश्रलाई कारबाही गरेको थियो। अनि मिश्र विवेकशील साझा पार्टीबाट बाहिरिँदै वरिष्ठ उपाध्यक्ष पदका साथ राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थिए। 

यस्तो छ मिश्रको पूरा जवाफ-

प्रिय रञ्जुजी, 
तपाईंप्रति मेरो ठूलो स्नेह र श्रद्धा हुनाले मात्र यो जवाफ दिँदै छु।

हो, मैले बीचमा तपाईंहरूको विमति र धेरै ठूलो जमातको ‘छि:छि:-दूर्‌दूर्‌’का अलावा ‘मार्ग परिवर्तन’ गरेँ। तर त्यो परिवर्तन तपाईंले आरोप लगाउनुभएजस्तो ‘सत्ता प्राप्तिको मोह र अस्पष्टता’ले थिएन।

‘व्यक्ति जित्ने देश हार्ने’ राजनीति गर्दिनँ, यो देश र तपाईंहरूजस्ता युवालाई भविष्यमा घात हुने काम गर्दिनँ’ भन्ने दृढताको परिणाम थियो त्यो। मभित्र विकसित भएको स्पष्टताको परिणाम थियो त्यो।

यदि सत्तामै पुग्ने रहर थियो भने मसँग कम्तीमा तीन अन्य विकल्प थिए र ती विकल्पबाट मलाई सत्तामा पुग्न कसैले रोक्न सक्ने थिएन। सत्तामा जान यत्रो ‘छि:छि:-दूर्‌दूर्‌’ सहनुपर्ने थिएन। 

तपाईंका कैयौँ सहकर्मीहरूले मलाई ‘यो पटक तपाईंका प्रतिद्वन्द्वी कमजोर छन्, तपाईं चुनाव जित्नुहुन्छ, मार्ग परिवर्तन गरे पनि चुनावपछि मात्र गर्नोस्’  नभनेका होइनन्।

तर मैले ‘बरु ५०० भोट लेराएर हार्छु तर मार्ग परिवर्तनुको एजेन्डा नै लिएर जान्छु’  भनेर चुनावमा गएको हुँ।

अर्थ त तपाईं र अरू सबै आआफ्नो तरिकाले लगाउन स्वतन्त्र हुनुहुन्छ नै।

तपाईंको सधैँ भलो चाहने: रवीन्द्र मिश्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .