राजनीति


जसको नाममा इतिहास बन्दैछ– नेपालको पहिलो महिला परराष्ट्रसचिव

जसको नाममा इतिहास बन्दैछ– नेपालको पहिलो महिला परराष्ट्रसचिव

सीताराम बराल
मंसिर २२, २०८० शुक्रबार १९:०, काठमाडौँ

राष्ट्रपति वा प्रधानमन्त्रीको विदेश भ्रमणका बेला परराष्ट्रसचिव पनि सँगै जाने चलन छ। तर, कोप–२८ सम्मेलनका लागि संयुक्त अरब एमिरेट्स (यूएई) को भ्रमण (१४–१७ मंसिर) मा निवर्तमान परराष्ट्र सचिव भरतराज पौड्याल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को साथमा थिएनन्।

प्रधानमन्त्रीको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको तर्फबाट सामेल हुने उच्च अधिकारी मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्साल थिइन्। ‘निमित्त सचिव’ का हैसियतमा उनी भ्रमण दलमा थिइन्। परराष्ट्र प्रवक्ताका अलावा उनी मन्त्रालयको संयुक्त राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख पनि हुन्।

प्रधानमन्त्री प्रचण्ड कोप–२८ का लागि यूएई प्रस्थान गर्नु अघिल्लो दिन (१३ मंसिर) देखि नै परराष्ट्रसचिव पौड्याल एक हप्ताका लागि विदामा बसिसकेका थिए। त्यही कारण ‘निमित्त सचिव’ को हैसियतमा मन्त्रालयकी वरिष्ठ सहसचिव लम्साल यूएई गएकी थिइन्।

परराष्ट्रसचिव पौड्याल विदामा बस्नुको कारण हो, ५८ वर्षे उमेर हदका कारण उनको पदावधि सकिन एक हप्ता मात्र बाँकी थियो। अवकाश हुनुभन्दा केही समयअघि विदा बस्ने प्रचलन रहँदै आएको छ। उनले यही प्रचलन पछ्याएका थिए।

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालले १९ मंसिरमा अवकाश पाइसकेका छन्। उनको अवकाशसँगै परराष्ट्र मन्त्रालयमा सचिवको पद रिक्त भएको छ। नयाँ सचिव नआउञ्जेलका लागि लम्सालले नै ‘निमित्त सचिव’ का रुपमा मन्त्रालयको प्रशासनलाई नेतृत्व दिएकी छन्।

मन्त्रालयमा सबैभन्दा वरिष्ठ सहसचिव लम्साल नै हुन्। त्यसैले, रिक्त परराष्ट्रसचिवको सबैभन्दा बलियो दाबेदार र हकदार उनै हुन्।

सरकारले उनलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गर्नासाथ मन्त्रालयमा ‘सचिव’ को रुपमा उनको नेमप्लेट त टाँसिने छ नै। त्यसबाहेक उनको नाम इतिहासमा पनि दर्ज हुनेछ, ‘नेपालको पहिलो महिला परराष्ट्रसचिव’ का रुपमा।  

नरेन्द्रमणि आचार्य दीक्षित, पहिलो परराष्ट्रसचिव। सौजन्य : प्रदीपमणि आचार्य दीक्षित

७२ वर्षको इतिहास, सबै सचिव पुरुष 
राणाकालको अन्तिम समयताका विदेश मामिला हेर्ने निकायको रुपमा ‘परराष्ट्र विभाग’ थियो। यो विभाग त्यसअघि जैसी कोठा, मुन्सी खाना आदिका नामले चिनिन्थ्यो। यसले ‘परराष्ट्र मन्त्रालय’ को नाम पाएको राणा शासन अन्त्यपछि हो।

राणा शासनको अन्त्यपछि मन्त्रालयको रुप धारण गरेपछि यसले मन्त्री र सचिव दुवै पायो। पहिलो ‘परराष्ट्रमन्त्री’ को जिम्मेवारी प्रधानमन्त्री श्री ३ मोहन शमशेर आफैले सम्हाले। राणाकालदेखि नै परराष्ट्र मामिलाको जिम्मेवारी सम्हाल्दै आएका सरदार नरेन्द्रमणि आचार्य दीक्षितलाई उनले परराष्ट्र सचिव बनाए।

नरेन्द्रमणि आचार्य दीक्षितदेखि भरतराज पौड्यालसम्म मन्त्रालयले २४ जना परराष्ट्र सचिव प्राप्त गर्यो।

यसमध्ये २००८ देखि २०१७ को अवधिमा चार जना परराष्ट्रसचिव भए। तिनमा दीक्षित, रामप्रसाद मानन्धर, शोभागजङ्ग थापा र नरप्रताप शमशेर थापा छन्।

पञ्चायतकालमा आठ जना परराष्ट्र सचिव भए। पञ्चायतकालमा परराष्ट्रसचिव बन्नेहरूमा यदुनाथ खनाल, पद्मबहादुर खत्री, झरेन्द्रनारायण सिंह, भरतराज राजभण्डारी, उद्धवदेव भट्ट, जगदीश शमशेर राणा, विश्व प्रधान र नरेन्द्रविक्रम शाह थिए।

०४६ को राजनीतिक परिवर्तनदेखि अहिलेसम्म १२ जना सचिवले परराष्ट्र मन्त्रालयको नेतृत्व गरेका छन्। तिनमा यादवकान्त सिलवाल, केदारभक्त श्रेष्ठ, कुमारप्रसाद ज्ञवाली, नारायण शमशेर थापा, मुरारीराज शर्मा, मधुरमण आचार्य, ज्ञानचन्द्र आचार्य, डा. मदनकुमार भट्टराई, दुर्गाप्रसाद भट्टराई, अर्जुनबहादुर थापा, शंकरदास बैरागी र भरतराज पौड्याल छन्।

निजामती सेवाको पदसोपानमा सहसचिव भइसकेको अधिकारी सचिवका लागि योग्य हुन्छ। लम्सालअघि परराष्ट्र सेवामा दुई जना महिला अधिकारीले सहसचिव बन्ने अवसर त प्राप्त गरे। तर, उनीहरू परराष्ट्र सचिव बन्न सकेनन्।

तिनमा विन्देश्वरी शाह र अम्बिका मानन्धर (लुइँटेल) छन्। नेपालको पहिलो महिला राजदूत (भारत) शाह नरेन्द्रविक्रम शाह परराष्ट्र सचिव छँदा मन्त्रालयको ‘अतिरिक्त सचिव’ सम्म भइन्। २०४९ मा अकस्मात ल्याइएको निजामती सेवामा ३० वर्षे उमेर हदका कारण सचिव बन्नै नपाई शाहले अवकाश प्राप्त गरिन्। 

विन्देश्वरी शाह, परराष्ट्र सेवाकी पहिलो महिला सहसचिव, नेपालकी पहिलो महिला राजदूत 

फ्रान्सका लागि नेपाली राजदूत मानन्धर पनि परराष्ट्र सेवाको सहसचिवमा सीमित भइन्।

हाल परराष्ट्र सेवामा लम्साल र रीता धिताल गरी दुई जना महिला सहसचिव छन्। यसमध्ये मन्त्रालयमा सबैभन्दा जरिष्ठ सहसचिव भएकाले लम्साललाई परराष्ट्र सचिव बन्ने सौभाग्य जुरेको छ।

त्यसो भए ‘पहिलो महिला परराष्ट्र सचिव’ बन्ने गरी उनको बढुवा कहिले होला त!

आगामी हप्ता बन्न सक्छिन् सचिव 
निजामती सेवा नियमावली (२०५०) को दफा ८७ ले राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीहरूको बढुवा मन्त्रिपरिषदबाट हुने व्यवस्था छ। निजामती सेवामा प्रथम श्रेणीमा सहसचिव, विशिष्ट श्रेणी अन्तर्गत मुख्यसचिव र सचिव पर्दछन्।

नियमावलीको यो व्यवस्था अनुसार परराष्ट्र सचिवमा कसलाई बढुवा गर्ने भन्ने निर्णय मन्त्रिपरिषदले गर्नुपर्नेछ।

सचिव बढुवा सम्बन्धी व्यवस्था निजामती सेवा ऐन (२०४९) ले गरेको छ। ऐनको दफा १९ मा उल्लेख भए अनुसार रिक्त पदका लागि तेब्बर संख्यामा सिफारिस हुनुपर्छ।

अर्थात्, तीन जना सचिवको पद रिक्त छ भने सहसचिव पदका ९ जनाको नाम लोकसेवा आयोग समक्ष सिफारिस गर्नुपर्ने हुन्छ।

तर, यसपटक रिक्त भएको एक पद अर्थात् ‘परराष्ट्र सचिव’ का लागि मात्र हो। यस हिसाबले परराष्ट्र मन्त्रालयले वरीयताका आधारमा तीन जना वरिष्ठ सचिवहरूको नाम लोकसेवा आयोग समक्ष सिफारिस गर्नुपर्छ। 

​सहसचिवद्वय राई र ढकाल, जो लम्सालपछि परराष्ट्र सचिव हुने लाइनमा छन् 

जानकारी अनुसार परराष्ट्रसचिव पौड्यालले १९ मंसिरमा अवकाश प्राप्त गरेपछि लोकसेवा आयोगले तत्काल परराष्ट्रसचिव पदमा बढुवाका लागि मन्त्रालयसँग तीनजना सहसचिवको नाम मागेको थियो।

त्यसअनुसार मन्त्रालयले तीनजना सहसचिवहरू क्रमशः सेवा लम्साल, अमृतबहादुर राई र कृष्णप्रसाद ढकालको नाम पठाइसकेको छ। यसमध्ये राई उत्तरपूर्वी एसिया महाशाखा र ढकाल नीतियोजना, विकास कूटनीति र विदेशस्थित नेपाली मामिला हेर्ने महाशाखाका प्रमुख छन्।

सहसचिवहरूको आन्तरिक वरीयताका आधारमा मन्त्रालयले लम्सालको पहिलो, राईको दोस्रो र ढकालको नाम तेस्रो वरीयतामा राखेर पठाएको हो।

विशिष्ट श्रेणीमा बढुवाका लागि लोकसेवा आयोगका अध्यक्ष वा निजले तोकेका सदस्यको अध्यक्षतामा बढुवा समिति गठन हुने व्यवस्था निजामती सेवा ऐनको दफा २० ले गरेको छ।

समितिमा लोकसेवा आयोगका एक सदस्य, मुख्यसचिव र लोकसेवा आयोगद्वारा मनोनित सम्बन्धित विषयका एक विज्ञ सदस्य रहन्छन्। सामान्य प्रशासन मन्त्रालयका सचिव बढुवा समितिको सदस्य–सचिवको भूमिकामा रहन्छन्।

सचिवमा बढुवाका लागि जे–जति मापदण्ड निर्धारित छन्, त्यसलाई मध्यनजर गरेर समितिले तीन जनामध्ये एकजनालाई बढुवाको सिफारिस गर्छ। लोकसेवाको निर्णय अनुसार सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा हुनेवाला सचिवको नाम सिफारिस गर्छ।

लम्सालको नाम नै सिफारिस हुने स्थिति किन छ भने उनी कहीँकतै विवादमा मुछिएकी छैनन्। लम्सालको अवकाशपछि राई र राईपछि ढकाल परराष्ट्रसचिव बन्ने पक्का भएकाले दुवैजना यसपटक परराष्ट्रसचिव बन्ने दौडमा पनि छैनन्। 

कोप–२८ का क्रममा प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवका साथ लम्साल 

संयोग कस्तोपनि जुरेको छ भने परराष्ट्र सचिवमा बढुवाका लागि प्रस्ताव लैजाने सामान्य प्रशासनमन्त्री (रिना देवी) पनि महिला नै छिन्। उता पहिलो महिला परराष्ट्र सचिव बनाउने अवसर प्राप्त भएको र कोप–२८ मा नेपालको सहभागितालाई प्रभावकारी बनाउन भूमिका खेलेकाले प्रधानमन्त्री प्रचण्ड पनि लम्साललाई परराष्ट्र सचिव बनाउन निकै सकारात्मक छन्।

त्यसैले, लोकसेवा आयोगले नाम सिफारिस गर्नासाथ मन्त्रिपरिषद् बैठकले लम्साललाई परराष्ट्रसचिवमा बढुवा गरिहाल्ने पक्का छ।

लोकसेवा आयोगले सोमबार (२५ मंसिर) नाम सिफारिस गर्यो भने मंगलबार बस्ने मन्त्रिपरिषदले लम्साललाई परराष्ट्र मन्त्रालयको सचिव पदमा बढुवा गर्नेछ। नभए त्यसपछिको हप्ता उनी ‘नेपालको पहिलो महिला परराष्ट्रसचिव’ हुने गरी बढुवा हुनेछिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .