राजनीति


प्रस्तावित न्यायाधीशद्वयमाथि संसदीय समितिमा आरोप : गम्भीर अपराधका घटनामा संलग्नता छ

प्रस्तावित न्यायाधीशद्वयमाथि संसदीय समितिमा आरोप : गम्भीर अपराधका घटनामा संलग्नता छ

आइतबार बसेको संसदीय सुनुवाइ समिति बैठक


नेपालखबर
मंसिर २४, २०८० आइतबार १८:८, काठमाडौँ

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शारंगा सुवेदी उच्च अदालतको न्यायाधीश पदमा रहँदा गैरकानुनी फैसला गरेको उजुरीकर्ताहरूले आरोप लगाएका छन्।

आइतबार सर्वोच्च अदालतमा प्रश्तावित ६ जना सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध परेको उजुरीमाथिको छलफलमा भाग लिँदै उजुरीकर्ता पुष्पप्रसाद गुरागाईंले संविधान र कानुन विपरित उच्च अदालत पाटनमा रहँदा ढुंगानाले भन्सारको मुद्दा, चमेलियाको मुद्दामा राज्यलाई करोडौँ नोक्शान बनाएर मुद्दा फैसला गरेकाले उनको नाम सर्वोच्च अदालतको न्यायाधीश पदका लागि अनुमोदन नगर्न संसदीय समितिका सदस्यहरूलाई आग्रह गरे।

‘धरौटी नराखि दर्ता भएका भन्सारको मुद्दा फैसला गर्दा २८ करोड १७ लाख २६ हजार ७३३ रुपैयाँ राजस्व खातामा दाखिला नभई निर्णय बदर भएको छ। नेपाल सरकारले अधिकार प्रत्यायोजन गरेको प्रमाण मिसिल रहँदारहँदै चमेलियाको फैसला गर्दा ३७ करोड ९७ लाख ११ हजार २१ रुपैयाँ फैसला गर्दा नेपाल सरकारलाई नोक्सान भएको छ,’ उनले भने, ‘उहाँबाट यी फैसलाहरू पुनः हेर्ने उहाँ आफैँले त हेर्न मिल्दैन। त्यसैले यस्ता मुद्दाको पुनरावेदन समेत सर्वोच्चबाट हुने अवस्था नरहेकाले उहाँलाई न्यायाधीश पदमा नियुक्ति गर्न मिल्दैन भन्ने मेरो उजुरी हो। संविधान, कानुनमा भएका कुरालाई पनि तलमाथि पारेर उहाँले मुद्दा फैसला गर्ने गम्भिर त्रुटी गर्नुभएकाले उहाँको नियुक्ती अनुमोदन नहोस भनेर हार्दिक अनुरोध गर्दछु।’

अर्का उजुरीकर्ता चिरिञ्जीविभक्त पौडेलको तर्फबाट बोल्दै खडकभक्त पौडेलले राकेशभक्त पौडेल हत्याकाण्डको फैसलामा पीडित पक्षको समेत सुनुवाई नगरेकाले सारंगा सुवेदीलाई पनि सर्वोच्च अदालतको न्यायाधीशमा गरिएको सिफारिस अनुमोदन नगर्न समितिसमक्ष आग्रह गरे। 

उनले ३३ किलो सुन प्रकरणका अभियुक्तलाई रिहा गर्ने फैसला पनि सुवेदीले गरेको आरोप लगाए।

‘३३ किलो सुन तस्करीका अभियुक्तलाई रिहा गर्ने उहाँको छवि रहेछ। त्यसमा सर्वोच्च अदालतले बोलाएर उहाँलाई हाजिर गराएर प्रारम्भिक कारबाही पनि गरेको रहेछ। राकेशभक्त पौडेल हत्याकाण्डमा पीडित र जनप्रतिनिधिहरुको हस्ताक्षर समेत नगराई, हामीलाई सोधपुछ समेत नगराई सो मुद्दाको फैसला गर्नुभएको छ,’ उनले भने।

सर्वोच्च अदालतका लागि ढुंगाना, सुवेदीसहित ६ जना न्यायाधीश न्यायपरिषद्ले सिफारिस गरेको थियो।

उनीहरुविरुद्ध १० वटा उजुरी संसदीय सुनुवाई समितिमा परेको थियो। सो उजुरीमाथि छलफल सकिएको छ।

संसदीय सुनुवाई समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। समितिको अर्को बैठक आगामी मंसिर २९ गते बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .