राजनीति


गणतन्त्रका लागि लडेका शक्तिबाटै गणतन्त्र खतरामा परेको छ : केसी

गणतन्त्रका लागि लडेका शक्तिबाटै गणतन्त्र खतरामा परेको छ : केसी

नेपालखबर
पुस १६, २०८० सोमबार २१:५०, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रका लागि लडेका शक्तिहरुबाटै गणतन्त्र खतरामा परेको बताएका छन्।

सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा केसीले शासन सत्तामा बसेकाहरुले आ–आफ्नो कमजोरीबारे गम्भीर बहस गर्नुपर्ने बेला आएको बताए।

‘लोकतन्त्र र गणतन्त्रबारे हामी बसेर गम्भीर बहस गर्नुपर्छ। कसको कहाँनेर कमजोरीले लोकतन्त्रमाथि कालो बादल मडारिरहेको छ’ केसीले भने, ‘हाम्रै कारणले जनतामा सिस्टमप्रति जुन वितृस्णा आएको छ, त्यो वितृस्णालाई भजाएर लोकतन्त्रको औचित्य छैन, गणतन्त्रको औचित्य छैन भन्ने बढिरहेको छ।’

लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आफूहरू नेपाली कांग्रेस लगायत राजनीतिक दलहरुसँग सहकार्य गरेको उनको भनाई थियो। संविधानका कैयौँ प्रावधानप्रति बिमति भएपनि लोतान्त्रिक दलहरु एक ठाउँमा आउनुपर्ने अवस्था रहेको केसीले बताए।

राष्ट्रिय जनमोर्चाले संविधान बनेदेखि नै संघीयता लगायत कतिपय विषयमा बिमती राख्दै आएको छ।

‘संविधानभित्रका कतिपय विषयमा हामीले बिमती राखेका छौँ । त्यो लोकतन्त्र भएकाले विमती राखेका हौँ’ केसीले भने, ‘संसदभित्र, बाहिर, त्यो नेपाली जनताले फैसला गर्ने कुरा हो। जबर्जस्ती गर्ने कुरा होइन।’

उनले कांग्रेससँग कैयौँ आफ्नो पार्टीको तीब्र मतभेद रहेको र कांग्रेसलाई हेर्ने बेग्लै दृष्टिकोण रहेपनि लोकतन्त्र रक्षाका लागि सहकार्य गर्नुपरेको दोहोर्याए।

उनले भने, ‘सुरुमा नेपाली कांग्रेससँग हाम्रो तीब्र मतभेद थियो, किनभने कांग्रेसको वामन्थीलाई हेर्ने दृष्टिकोण बेग्लै थियो। हाम्रो पनि नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोण बेग्लै थियो। हामीलाई के ले एक ठाउँमा ल्यायो भने लोकतन्त्रको लागि। र अहिले पनि नेपाली कांग्रेस र हाम्रोबीचको एकता मुख्य लोकतन्त्र र गणतन्त्रको लागि हो।’

अध्यक्ष केसीले बिपी कोइरालामा दूरदर्शी राजनीतिक सोच रहेको पनि स्पष्ट पारे। केसीले लोकतन्त्र र राष्ट्रियताका लागि खतरा मोलेर बिपी नेपाल आएको प्रशंग उल्लेख गरे।

केसीले भने, ‘२०३३ सालमा पञ्चायती व्यवस्थालाई हामीले विरोध गर्दा नेपालमा बस्ने सम्भावना धेरै राजनीतिक पार्टीहरुलाई थिएन। हामी धेरै राजनीतिक पार्टीको बसाई बनारसमै हुन्थ्यो, प्राय। र संजोगले गणेशमान बिपीजीहरु त्यतिबेला २०३३ साल पुस १६ गते नेपालतिर आउँदाखेरि संजोगबस म आफैँ त्यहीँ थिएँ। प्रदीपजी, हामी बसेर चियाँ खाँदै थियौँ। त्यतिबेला बिपीजी नेपाल आउँदाखेरी हामीलाई केही भ्रम थियो। यहाँको यस्तो निरंकुश शासन, लोकतन्त्रको कुरै गर्न नहुने, यस्तोमा बिपीबाबु आत्मसमर्पण गर्न जानुभयो भन्ने हाम्रो बुझाई थियो। र स्वयम् नेपाली कांग्रेसका कतिपय साथीहरुले यो बेला उहाँ जान हुँदैनथ्यो भनेर हामीसँग तर्क गर्नुहुन्थ्यो।’

उनले थपे, ‘पछिल्ला दिनमा हामीलाई के महसुस भयो भने लोकतन्त्रको खातिर उहाँ सबै प्रकारको खतरा मोलेर नेपाल आउनुभयो। र लोकतन्त्रकै लागि उहाँले जीवन अर्पण गर्नुभयो, लड्नुभयो, त्यसको लागि हामी सबै आभारी छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .