राजनीति


उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

फाइल तस्बिर


नेपालखबर
पुस २७, २०८० शुक्रबार १०:३, काठमाडौँ

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज (शुक्रबार) इच्छुक उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ। 

यसपछि भोलि पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका छ।

राष्ट्रिय सभाका १९ सदस्य चयन गर्न माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म चुनाव हुँदै छ। 

त्यसका लागि गत सोमबार सातै प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका छन्। 

मतदानका लागि सा प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र तोकिएका छन्। 

निर्वाचनबाट प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्य चयन हुनेछन्।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल पूरा हुँदै छ। तीमध्ये १९ जना चुन्न आगामी माघ ११ गते निर्वाचन गर्न लागिएको हो। एक जना भने राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। 

यी हुन् फागुन २० गते बिदा हुने २० सदस्य 
आगामी फागुन २० गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सदस्यको ६ वर्षे कार्यकाल पूरा हुँदै छ। जसमा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका १ र एक जना स्वतन्त्र निर्वाचित सदस्य छन्।  

जसअनुसार एमालेका गणेशप्रसाद तिमिल्सिना (अध्यक्ष) दीपा गुरुङ (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दिलकुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपती लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल हुन्। 

यस्तै फागुन २० गते नेपाली कांग्रेसका अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी) पनि राष्ट्रिय सभा सदस्य पदबाट बिदा हुँदै छन्। 

यसैगरी नेकपा माओवादी केन्द्रका महेश कुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) को कार्यकाल सकिँदै छ।

यस्तै एकीकृत समाजवादीबाट नन्दा चपाईं (कर्णाली) र सिंगबहादुर विश्वकर्मा (बागमती) को कार्यकाल पनि फागुन २० मा सकिँदै छ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) की प्रमिला कुमारी (मधेश प्रदेश) र बागमती प्रदेशबाट स्वतन्त्र रूपमा निर्वाचित खिमलाल देवकोटाको कार्यकाल पनि सकिँदै छ। 

राष्ट्रिय सभाका कूल ५९ सदस्यमध्ये गोला प्रथाबाट एकतिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एकतिहाइको ४ वर्ष र बाँकी एकतिहाइ सदस्यको २ वर्ष कार्यकाल निर्धारण गरिएको थियो। फागुन २० गते ६ वर्षेवाला २० सदस्यको कार्यकाल पूरा हुने भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .