ad ad

राजनीति


मन्त्री नआएपछि गलफत्तीमै सकियो समितिको बैठक, सचिवले सुनाए भातको भाउ!

४ दिनदेखि सिन्धुपाल्चोकमा छन् मन्त्री बस्नेत
मन्त्री नआएपछि गलफत्तीमै सकियो समितिको बैठक, सचिवले सुनाए भातको भाउ!

रुपक चौलागाईं
माघ ८, २०८० सोमबार १८:२०, काठमाडौँ

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित गुनासा र समाधानबारे छलफल थियो।

छलफलमा समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतसहित मन्त्रालयका कर्मचारीलाई बोलाएको थियो। समितिका सदस्यहरूकै मागअनुसार सभापति भानुभक्त जोशीले सोमबारका लागि बैठक आह्वान गरेका थिए।

तर, बैठकमा स्वास्थ्यमन्त्री बस्नेत उपस्थित भएनन्। बरु उनले मन्त्रालयका सचिवसहितका कर्मचारीलाई समितिको बैठकमा पठाए। 

सभापति जोशीले बस्नेतलाई समितिमा बोलाउन प्रयास गरे पनि आफू असफल भएको बताए।

‘मैले ५ गते नै मन्त्रीज्यूलाई दुईपटक फोन गरेँ तर उहाँले उठाउनुभएन,’ सभापति जोशीले भने, ‘मेरो नउठेपछि प्रभु हजरा (एमाले सांसद) जीको उहाँसँग राम्रो सम्बन्ध रहेछ, उहाँले पनि पीएलाई खबर गर्दा पछि खबर गर्छौँ भन्ने खबर आयो।’

तर, मन्त्रीले खबर नगरेपछि कर्मचारीसँग सम्पर्क गर्नुपरेको सभापति जोशीले लाचारी व्यक्त गरे।

मन्त्री बोलाउन सांसदको माग
समितिको बैठकमा अधिकांश सांसदले मन्त्री बस्नेतको खोजी गरेका थिए। 

पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेकी रास्वपा सांसद डा. तोसिमा कार्कीले मन्त्री बस्नेत बैठकमा नआउँदा छलफल छलफलमै सीमित हुने बताइन्। 

‘हामीले मन्त्रीज्यूलाई यहाँ बोलाउन माग गरेका थियौँ। समितिबाट उहाँलाई खबर भएन कि के हो? मन्त्रीज्यूले आफ्नो जिम्मेवारी सम्झनुभएन कि?’ उनले बैठकको सुरुमै भनिन्। 

उनले मन्त्री बस्नेतको कार्यसम्पादनमा प्रश्न उठेको भन्दै आरोप–प्रत्यारोपबारे स्पष्टीकरण माग गर्न चाहेको बताइन्। 

‘मन्त्रीज्यूको कार्यसम्पादनको विषयमा प्रश्न उठेका छन्,’ उनले भनिन्, ‘अदालतबाट पनि उहाँले गरेका निर्णयहरू उल्ट्याइएको विषय उठाएका थियौँ। उहाँमाथि भएका आरोप र गुनासाबारे स्पष्टीकरण माग गरौँ भन्ने थियो।’ 

उनले मन्त्रालयबाट उपस्थित कर्मचारीले मन्त्रीको आदेश मान्ने भन्दै मन्त्री नै स्वयं उपस्थित हुनुपर्ने बताइन्। 

त्यस्तै, एमाले सांसद दीपा शर्माले पनि मन्त्री बस्नेत उपस्थित नहुँदा छलफल प्रभावकारी हुन नसकेको बताइन्। 

‘स्वास्थ्यसँग जोडिएर धेरै प्रश्नहरू यत्रतत्र छरिएका थिए, मन्त्रीज्यूलाई पटक–पटक बोलाउने प्रयत्न पनि गर्‍यौँ। आज धेरै जवाफ उहाँबाटै खोजिरहेका थियौँ,’ उनले भनिन्।

कांग्रेस सांसद बद्री पाण्डेले समिति सचिवालयलाई समेत प्रश्न गर्दै मन्त्री बस्नेतको अनुपस्थितिबारे गुनासो गरे। 

‘मन्त्री र मन्त्रालयले समितिमा आउने कुरामा अप्ठ्यारो मान्न हुँदैन, हामी सबै उस्तै दबाबमा छौँ,’ सांसद पाण्डेले भने, ‘यो हाम्रो सामूहिक कर्तव्य हो। यसमा हामी एकाकार हुनुपर्छ।’

आए कर्मचारी
समितिको बैठकमा मन्त्रालयबाट सचिवसहित ४ कर्मचारी उपस्थित थिए। सचिवद्वय देवकुमारी गुरागाईं र डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. विकास देवकोटा र महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल बैठकमा उपस्थित थिए। 

सचिव गुरागाईं र पोखरेलले सांसदहरूले उठाएका सवालको सामान्य जवाफ दिए। सचिव पोखरेलका अनुसार यसरी छलफलका लागि बोलाउँदा सम्बन्धित निकाय सबै उपस्थित नहुँदा छलफल प्रभावकारी नहुने बताए। 

सचिव गुरागाईंले भने अहिले बाहिर हल्ला भएजसरी स्वास्थ्यका कर्मचारीको दरबन्दी तलमाथि नभएको दाबी गरिन्। 

अबको बैठकको समय बेलैमा जानकारी गराउन र मन्त्रीसहितको उपस्थितिका लागि पहल गर्न समितिलाई सुझाव दिनसमेत सचिवहरूले भ्याए।

सिन्धुपाल्चोकमा छन् मन्त्री बस्नेत
स्वास्थ्यमन्त्री बस्नेत केही दिनदेखि गृहजिल्ला सिन्धुपाल्चोकमा छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका मन्त्री बस्नेत विद्यालय उद्घाटनदेखि पार्टी प्रवेशसम्मका कार्यक्रममा सहभागी भइरहेका छन्। 

निर्वाचन क्षेत्रमा रहेका विद्यालयका वार्षिकोत्सव, राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता, गुम्बाको उद्घाटन, पार्टी प्रवेश कार्यक्रमलगायतमा उनको व्यस्तता देखिन्छ।

सचिव डा. पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बिदा स्वीकृत गराएरै जिल्ला गएको भनेर विभागीय मन्त्रीको बचाउ पनि गरे। माघ ५ देखि ९ गतेसम्मको बिदा स्वीकृत गराएको उनको दाबी थियो। 

‘५ गतेदेखि ९ गतेसम्म माननीय मन्त्रीज्यू प्रधानमन्त्री कार्यालयबाटै बिदा लिएर आफ्नो जिल्लामा कार्यक्रममा जानुभएको छ,’ उनले भने। 

क्यान्टिनमा २ सय ५९ रुपैयाँको भात खाएँ : सचिव पोखरेल
समिति बैठकबारे पूर्वजानकारी नहुँदा यसअघि निर्धारित कार्यक्रम नै स्थगित गर्नुपरेको गुनासो बैठकमा डा. पोखरेलले गरे। 

‘आजको कार्यक्रम पनि हामीलाई थाहा थिएन। ११ बजे कोसी प्रदेशको कार्यक्रममा बोलाएको थियो,’ मन्त्रीको विषयमा प्रश्न उठेपछि रक्षात्मक हुँदै सचिव पोखरेलले भने, ‘त्यसका लागि हिजो बेलुकी नै टिकट लिइएको थियो। त्यसलाई क्यान्सिल गराएर यो समितिमा बसेका हौँ।’

उनले आजै बिहानबाट लगातार बैठकहरू हुँदा संसद् सचिवालयकै क्यान्टिनमा पुगेर खाना खाएको समेत सुनाउन भ्याए। 

त्यति मात्रै होइन, उनले क्यान्टिनमा तिरेको खानाको बिलको विवरण बैठकमै सुनाए। उनले खानाको पैसाबारे जानकारी गराउँदा सांसदहरूले हाँसोको फोहोरा छुटाएका थिए। 

‘आज भात खान नपाएर २ सय ५९ रुपैयाँ तिरेर भर्खरै यहीँ क्यान्टिनमा खाना खाएँ। आजको मेरो अवस्था यही हो। मैले अफिस गएर हाजिर गर्न पनि भ्याएको छैन,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .