ओखलढुंगाकी माओवादी नेतृ चम्पादेवी कार्कीलाई राष्ट्रिय सभा निर्वाचनको टिकट दिँदै अध्यक्ष प्रचण्डले भनेका थिए, ‘धेरै पहिलेदेखि सांसद बनाउन खोजे पनि सकेको थिइनँ, यसपटक बोल्ड डिसिजन गरेको छु।’
बालुवाटारमा कार्कीको हातमा टिकट थमाउँदै प्रचण्डले ‘तपाईंलाई न्याय गरेँ’ पनि भन्न भ्याए।
अध्यक्ष प्रचण्डले टिकट दिएपछि खुसी हुँदै विराटनगर पुगेकी कार्की यसपटक संसद भवन छिर्न पाउनेमा ढुक्क थिइन्। तर, परिस्थिति उनले सोचेजस्तो भइदिएन।
एमाले–राप्रपा गठबन्धनको चेपुवामा परेकी कार्कीले गठबन्धनकै अर्का उम्मेदवार कृष्ण सिटौलाले जित्दा आफू भने हार्न पुगेकी छन्।
कार्कीले ९४ मत कम पाउँदा एमालेकी रुक्मणी कोइरालासँग पराजित भइन्।
पार्टीले तीनपटकसम्म समानुपातिक उम्मेदवार बनाएर बन्द सूचीमा नाम पठाउँदा पनि उनलाई सांसद बन्ने भाग्य जुरेको थिएन।
यसपटक भने जितप्रति ढुक्क रहेको दाबी थियो, कार्कीको। देशभरिबाट १९ मध्ये १८ सिटमा गठबन्धनले जित्दा त्यस खेमाबाट पराजित हुने उनी एक्लो उम्मेदार भइन्।
२६ वर्षदेखि लगातार पराजित
कार्कीको राजनीतिक इतिहासमा एउटा मात्रै जित दर्ज छ। विसं २०५४ सालमा नेकपा एमालेबाट वडा सदस्य निर्वाचित भएकी कार्की त्यसयता कहिल्यै जित्न सकिनन्।
झण्डै दुई वर्ष वडा सदस्य चलाएपछि उनी माले हुँदै २०५६ को अन्तिमतिर माओवादीमा लागिन्।
उनलाई चिन्ने माओवादी नेताहरूका अनुसार, २०५७ वैशाखबाट कार्की पूर्णकालीन छापामारको रुपमा युद्धमा होमिइन्।
माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो संविधान सभाको चुनावमा समानुपातिक उम्मेदवारको सूचीमा उनको नाम चढ्यो।
पार्टी केन्द्रीय समितिबाटै उनको नाम समानुपातिक सूचीमा राखिएको थियो। तर, पछि उनको नाम लाजिम्पाट (अध्यक्ष प्रचण्डको तत्कालीन निवास) बाटै काटियो।
त्यसपछि ०७० को निर्वाचनमा पनि उनको नाम समानुपातिककै सूचीमा परेको थियो। त्यतिबेला पार्टीका महासचिव थिए, पोष्टबहादुर बोगटी।
पार्टीले त्यतिबेला समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने नीति लिएको थियो। तर, कार्कीलाई त्यो कुरा चित्त बुझेन।
समानुपातिक सांसदको सूची निर्वाचन आयोग पुर्याउन लाग्दा बाटोमै कार्कीले नाम हेर्न ‘जबरजस्ती’ गरेकी थिइन्। जानकार नेताहरूको भनाइमा, त्यतिबेला उनले जबरजस्ती नगरेको भए नाम काटिँदैन थियो।
तर, महासचिवले लिएको सूची हेर्नैपर्ने उनको ढिपीपछि त्यतिबेला उनको नाम काटियो।
उनले पार्टी राजनीतिलाई निरन्तरता दिइरहेकी थिइन्।
०७४ को स्थानीय निर्वाचन आयो। उनले ओखलढुंगाको सुनकोसी गाउँपालिका अध्यक्षको लागि टिकट हात पारिन्।
पार्टी केन्द्रबाटै ‘लबिइङ’ गरेर बल्लतल्ल टिकट हात पारे पनि उनले जित निकाल्न सकिनन्।
त्यसपछि ०७९ को निर्वाचनमा पनि उनी समानुपातिक सांसदको बन्दसूचीमा परिन्। बन्दसूचीको चौथो नम्बरमा थियो कार्कीको नाम।
यो सूचीबाट पनि उनको नाम निर्वाचित सूचीमा प्रवेश गरेन।
युद्धमा हात गुमाइन्, पाइनन् पद
कार्की माओवादी सशस्त्र युद्धकी घाइते हुन्। माओवादी नेताहरूका अनुसार, उनी रामेछाप र ओखलढुंगाको सिमानामा खडा गरिएको मोर्चामा थिइन्।
ओखलढुंगाबाट ब्लकिङमा खटिएकी कार्कीले युद्धमा पूर्णकालीन होमिएको १४ महिना नहुँदै दाहिने हात गुमाउनुपरेको थियो।
अहिले माओवादी युद्धको उति धेरै कुरा गर्न नरुचाउने कार्कीको जीवनमा अर्को एउटा नमीठो हार बिहीबार दर्ज भएको छ।
संसदको माथिल्लो सदनको सांसद बनेर नयाँ बानेश्वर छिर्ने उनको रहर हारसँगै तुहिएको छ।
Shares
प्रतिक्रिया