राजनीति


उपनिर्वाचनले देखाइदिएको राजतन्त्रवादीको हैसियत

उपनिर्वाचनले देखाइदिएको राजतन्त्रवादीको हैसियत

राप्रपाबाट इलामका उम्मेदवार लक्ष्मी गुरुङ (बायाँ) र बझाङका उम्मेदवार किशोर कुमार खड्का।


नेपालखबर
बैशाख १८, २०८१ मंगलबार ८:५९, काठमाडौँ

केही समययता राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रहरू ठूलठूलो स्वरमा भनिरहेका छन्- ‘अवस्था बदल्न, व्यवस्था बदलौँ’ अर्थात् गणतन्त्र मासेर राजतन्त्र फर्काऔँ। 

यसबीच उनीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हौस्याउँदै गणतन्त्रवादी दलप्रति जनतामा वितृष्णा पैदा भइसकेको र राजतन्त्र पुनःस्थापनाका पक्षमा जनमत उर्लिएको दाबी पनि गरे।  

तर यही वैशाख १५ गते प्रतिनिधि सभा सदस्य इलाम–२ र प्रदेश सभा सदस्य बझाङ १ (१) मा सम्पन्न उपनिर्वाचनले नागरिक गणतन्त्रका पक्षमा छन् कि राजतन्त्रका पक्षमा भन्ने विषयमा एउटा झलक देखाइदिएको छ। 

यो भनिरहनु परेन, दुवै क्षेत्रमा राजतन्त्रका कट्टर विरोधी केपी ओली नेतृत्वको नेकपा एमालेका उम्मेदवार विजयी भए। 

तर राजतन्त्रवादी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भने दुवै क्षेत्रमा कन्तबिजोग भएको छ। राप्रपाले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरुङ र बझाङ १ (१) मा किशोरकुमार खड्कालाई उम्मेदवार बनाएको थियो।

तर दुवैले जमानत पनि जोगाउन सकेनन्। कूल सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसक्दा उनीहरूको जमानतै जफत भएको हो।

राप्रपाका उम्मेदवारले इलाममा जम्मा ४०४ र बझाङमा २४२ मत पाएका छन्। 

यसबाट पनि के बुझ्न सकिन्छ भने नागरिक गणतन्त्रकै पक्षमा छन्, राजतन्त्र फर्काउने पक्षमा छैनन्। 

तर राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ कुनै क्षेत्र विशेषमा भएको चुनावबाट निराश हुन नपर्ने जिकिर गर्छन्। 

उनी भन्छन्, ‘यथास्थितिमा देश अघि बढ्न सक्दैन, बदलिनैपर्छ र बदल्छौँ भन्ने हाम्रो संकल्प कमजोर भएको छैन। यो उपचुनावले हामीलाई हाम्रो रणनीति र कार्यनीतिको समीक्षा र पुनरवलोकन गर्ने मौका दिएको छ। हाम्रा प्रयत्नहरु जारी रहनेछन्, कुनै क्षेत्र विशेषमा भएको चुनावबाट निराश हुने कुरै छैन।’

पछिल्ला जुनसुकै चुनावमा धेरै जना मतदाताले मतदान नगर्ने अवस्था यसपटक पनि देखिएको दाबी गर्दै उनी थप्छन्, ‘यो वर्तमान राजनीतिक प्रणालीप्रति मतदाताहरूको निराशाको सामूहिक अभिव्यक्ति हो, यसलाई नजरअन्दाज गर्न मिल्दैन।’

देशको भविष्य, दीर्घकालीन हित, एकता र समृद्धि राप्रपाले लिएको बाटोबाट मात्रै सम्भव छ भन्ने कुरामा आफूहरू विश्वस्त रहेको जिकिर श्रेष्ठले गरेका छन्। 

त्यसो त यो उपनिर्वाचनले राजावादी दलको मात्र होइन, आफूलाई नयाँ र क्रान्तिकारी ठान्ने गणतन्त्रवादी दलहरूको हैसियत पनि देखाइदिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .