राजनीति


प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल

नेपालखबर
फागुन ७, २०८० सोमबार २१:३७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटार पुगेर छलफल गरेका छन्।

सोमबार साँझ कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक चलिरहेका बेला प्रचण्ड भेट्न देउवा र खड्का बालुवाटार पुगेका थिए।

तीन नेताबीच आधा घन्टा कुरा भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नेपालखबरलाई जानकारी दिए।

‘उहाँहरूबीच कुराकानी भएको हो’ मल्लले भने, ‘अधा घन्टा कुराकानी भयो।’

स्रोतअनुसार, प्रधानमन्त्री प्रचण्ड तत्काल मन्त्रिपरिषद हेरफेर गर्ने पक्षमा छन्। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई तुरुन्त हटाउनुपर्ने दबाबमा प्रचण्ड छन्। मन्त्रिपरिषद नै हेरफेर गर्दा ज्वाला पनि त्यसैमा बहिर्गमनमा पर्ने भएकाले प्रचण्ड रोकिएका छन्। 

प्रचण्डले आफ्नो पार्टी माओवादीबाट हेरफेरको गृहकार्य गरिसकेका छन्। तर, कांग्रेस सभापति देउवाले महासमिति बैठकसम्म कुर्न भनेका छन्। बैठकसम्म कुर्दा ज्वालाकै कारण सरकारप्रतिको धारणा धेरै नै नकारात्मक हुने भएकाले कुर्न नसकिने सन्देश प्रधानमन्त्री प्रचण्डले देउवालाई दिएका छन्।

यस्तै, प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको एक वर्ष पुगेकै बेला गत पुस दोस्रो सातामै सबै मन्त्री फेर्न चाहेका थिए। तर यसबीचमा राष्ट्रिय सभा निर्वाचन भएकाले उनको चाहना पूरा हुन सकेन।

देउवा भने कांग्रेसका सबै मन्त्री नफेर्ने र केहीको जिम्मेवारी मात्र हेरफेर गर्ने पक्षमा छन् र त्यसका लागि पनि महासमिति बैठकपछिको भाका राखेका छन्। 

उता कांग्रेसमा भने माओवादीसँग गठबन्धन नै गर्न नहुने आवाज उठिरहेको छ। यही विषयलाई लिएर सभापति देउवा र महामन्त्री गगन थापाबीच महासमिति बैठकमा प्रस्तुत गरिने दस्तावेजमा कुरा मिल्न सकेको छैन। थापाले गठबन्धन पुनर्विचारको पक्षमा अडान लिएका छन् भने देउवाले त्यसको स्पष्ट विपक्षमा मत महासमिति बैठकमै राखिसकेका छन्।

राजनीतिक दस्तावेजमा सहमति जुटाउने प्रयासस्वरूप कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .