ad ad

राजनीति


यी हुन् ‘गोल्ड मेडलिस्ट’लाई पछि पार्दै त्रिविको उपकुलपति बनेका बराल

प्रचण्डको सचिवालय भन्छ : कतै प्रश्न उठाउने ठाउँ छैन
यी हुन् ‘गोल्ड मेडलिस्ट’लाई पछि पार्दै त्रिविको उपकुलपति बनेका बराल

रुपक चौलागाईं
फागुन १०, २०८० बिहिबार १८:११, काठमाडौँ

लामो रस्साकस्सीपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पहिलो पटक खुला प्रतिस्पर्धाका आधारमा प्रा.डा केशरजंग बराल नियुक्त भएका छन्। बराल त्रिविका २० औँ उपकुलपति हुन्। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई अध्यक्ष रहेको छनोट समितिको सिफारिसपछि उनलाई बिहीबार कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपति नियुक्त गरेका हुन्। 

उनी सिफारिसको दोस्रो नम्बरमा थिए। बरालसँगै प्रा.डा. चित्रबहादुर बुढाथोकी र टंकनाथ धमला पनि सिफारिसमा परेका थिए। बरालले ७६, बुढाथोकीले ७८ र धमलाले ७५ अंक प्राप्त गरेका थिए।

‘गोल्ड मेडलिस्ट’ बुढाथोकीलाई पछि पार्दै बराल उपकुलपति बन्न सफल भएका हुन्।

बुढाथोकी त्रिविको सन् १९८९ ब्याचका टपर हुन्। उनले चान्सलर गोल्ड मेडल पनि पाएका थिए। जर्मनीबाट पीएचडी गरेका बुढाथोकी जर्मन एकेडेमिक एक्सेन्ज सर्भेस र एभीएचबाट फेलोसिप पाएका वैज्ञानिक हुन्।

छनोट समितिको मूल्यांकनमा बुढाथोकीले बरालले भन्दा २ नम्बर बढी पाएका थिए। 

प्रधानमन्त्री प्रचण्डले त्रिविलाई राजनीतिमुक्त बनाउन मेरिटका आधारमा उपकुलपति नियुक्ति गर्ने बताएका थिए। तर, बराल माओवादी निकट मानिन्छन्। 

यद्यपि, उनको निष्ठा र इमान्दारीमा प्रश्न उठाउने कुनै ठाउँ नभएकाले नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालय स्रोतको दाबी छ। 

‘इमान्दार पनि हुनुहुन्छ, निष्ठावान् पनि हुनुहुन्छ र परिपक्व पनि हुनुहुन्छ। कहीँकतै प्रश्न उठाउने ठाउँ नभएको हुनाले उहाँ नै उपयुक्त भनेर निर्णयमा पुगिएको हो,’ स्रोतले भन्यो। 

तर, प्रधानमन्त्रीकै सचिवालयमा कार्यरत एक कर्मचारी भने बुढाथोकीलाई शैक्षिकरूपमा ‘अराजक’ व्यक्ति भन्छन्।

‘भर्खर कार्यकारी परिषद्बाट एउटा कारबाहीमा पनि परेका रहेछन्। शैक्षिकरूपमा अलिकति अराजकता छ। भोलि विवाद हुन्छ,’ ती अधिकारीले नेपालखबरसँग भने।

को हुन् बराल?
बरालको जन्म विसं २०१४ सालमा पाल्पामा भएको थियो। उनले प्राध्यापनको सुरुवात भने विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट गरेका थिए। 

त्यहाँ उनले दुई वर्ष अध्यापन गराए। 

त्यसपछि पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भएर पुगे, बराल। उनी विसं २०५० सालमा विद्यावारिधिका लागि भारत गएका थिए। नयाँ दिल्ली युनिभर्सिटीबाट उनले विसं २०५५ सालमा पीएचडी लिएका थिए। 

पीएचडी सकेर नेपाल फर्किनासाथ उनले विश्व बैंकको एउटा प्रोजेक्टमा काम गरे। त्यहाँ उनले उच्च शिक्षासम्बन्धी परियोजनामा काम गरेका थिए। 

त्यसपछि एसियाली विकास ब्यांकको प्रोजेक्टमा ‘फाइनान्सियल एड्भाइजर’ भएर काम गरे। 

यी दुई प्रोजेक्ट सकेसँगै बराल पुनः अध्यापनमा जोडिए। 

बरालले पोखरा विश्वविद्यालयको स्थापनाकालदेखि नै व्यवस्थापनमा जोडिएर काम गरेका थिए। व्यवस्थापन संकायतर्फ अध्ययन गरेका उनीसँग वित्तशास्त्रको विशेष समितिको सदस्य भएर काम गरेको अनुभव पनि छ। 

त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयको विद्या परिषद्को फ्याकल्टी बोर्डका सदस्यमा नियुक्त भएका थिए।

बराल विसं २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्त भएका थिए। 

पोखरा विश्वविद्यालयको सम्बन्धन दिने क्रममा उनीमाथि अनियमितताको आरोप पनि लागेको थियो। तर, उनले पछि अदालतबाट सफाइ पाए।

त्यहाँको ४ वर्षे कार्यकाल पूरा गरेसँगै उनी विसं २०६८ सालबाट पुनः त्रिविमै जोडिए।

जानकारहरूका अनुसार उनी विसं २०६९ सालमा भिजिटर प्रोफेसर बनेर अध्यापनका लागि चीन गएका थिए। 

चीनमा एक वर्ष अध्यापन गराएर फर्किएपछि उनी त्रिविबाटै विसं २०७७ सालसम्म अध्यापन गराएर सेवानिवृत्त भएका थिए। 

पछिल्ला केही वर्षदेखि उनले विज्ञको रुपमा काम गर्दै आएका छन्। बराल अहिलेसम्म कुनै निजी क्याम्पसमा भने जोडिएका छैनन्। 

बराल मगर संस्कृतिका जानकार पनि हुन्। उनको ‘पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरूको संस्कृति’ नामक अनुसन्धानमूलक पुस्तक प्रकाशित छ।

मगर समुदायका प्रतिष्ठित प्राज्ञिक व्यक्तित्वका रुपमा चिनिने प्रा.डा. बरालले चीन, भारत, अमेरिका, भुटान लगायत देशका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरको रुपमा अध्यापन गराएका थिए।

उनी नेपाल मगर संघका केन्द्रीय सल्लाहकार समेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .