राजनीति


एमालेको आरोप : प्रधानमन्त्री दाहाल संसद् छलेर हिँडिरहेका छन्

एमालेको आरोप : प्रधानमन्त्री दाहाल संसद् छलेर हिँडिरहेका छन्

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार ११:४५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् छलेर हिँडिरहेको आरोप लगाएको छ। 

आफूहरूले संसद्‍मा हप्तौँदेखि उठाएका विषयहरू नजरअन्दाज गर्दै प्रधानमन्त्रीले संसद् छल्नु चिन्ताको विषय भएको एमाले प्रमुख सचेतक पदम गिरिले बताए।

‘प्रधानमन्त्रीले संसद्लाई छलेर बाहिर हिँडिराख्नुभएको छ। यो चिन्ताको विषय हो। हामी संसद् अवरोध होस् भन्ने चाहँदैनौं,’ उनले भने। 

आफूहरू मर्यादित र संयमित ढंगले संसदमा सुशासनका कुरा राख्दा पनि सरकार सुन्न तयार नभएको बताए। 

‘हामी मर्यादित र संयमित ढंगले मुलुकमा सुशासनका निम्ति खबर गर्दै आएका छौँ। संसद्मा हामीले हप्तौंदेखि यो विषय उठाउँदा सुन्न तयार छैन,’ उनले भने। 

गिरीले महत्त्वपूर्ण सवालमा सरकार गैरजिम्मेवार बनेको आरोप लगाए। ‘प्रतिपक्षीको माग सुन्न नचाहने र बलमिच्याँइ गरेर अघि बढ्दा संसद अवरोधका स्थिति सिर्जना भएका छन्। यस्ता महत्वपूर्ण सवालमा सरकार गैरजिम्मेवार नबनोस्,’ उनले भने।

विवादित मन्त्रीको राजीनामा यथावत्
त्यस्तै, एमालेले विवादमा परेका तीनजना मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। 

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गिरीले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका हुन्। 

‘सिंगो संसद्‍बाट भएका रुलिङलाई नस्वीकार्ने हो भने यो लोकतन्त्र कसरी अघि बढ्न सक्छ?’ उनले भने।

गत पुस १३ गते दुईजना युवकको ज्यान जाने गरी भएको बालकुमारी घटनामा गोली चलाउन आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि राजीनामा दिनुपर्ने उनले बताए। 

‘बालकुमारी घटनाका दोषी भौतिकमन्त्री र आदेश दिने गृहमन्त्रीलाई तत्काल बर्खास्तीको माग गरेर आवाज उठाइरहेका छौँ। अख्तियारको निगरानीमा रहेका स्वास्थ्यमन्त्री पदमा बहाल रहन मिल्दैन। पूरातात्विक क्षेत्र रामग्रामलाई ९९ वर्षसम्म लिजमा दिने बदनियतपूर्ण कार्य गर्ने पर्यटनमन्त्री र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारकाललाई तत्काल बर्खास्त गर्नुपर्छ भनेर आवाज उठाइरहेका छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .