सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पछिल्लो समय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको गतिविधिबारे नेताहरूले आक्रोश पोखेका छन्।
मंगलबार मध्यान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा बोल्ने क्रममा नेताहरूले कांग्रेस सात दलीय गठबन्धन र संविधानको विरोधमा लागेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
तीन पटकसम्म स्थगित भएर बसेको माओवादी स्थायी समिति बैठकमा कांग्रेसले सत्ता गठबन्धन र संविधानविरुद्ध गतिविधि बढाएको भन्दै नेताहरू आक्रोशित भएका हुन्।
‘आजको स्थायी समिति बैठकमा नेपाली कांग्रेसका पछिल्लो महासमिति बैठक र नेताहरूका अभिव्यक्तिका विषयमा गम्भीर बन्नुपर्ने कुरा उठेको छ’, नेतृ ओनसरी घर्तीले बैठकपछि नेपालखबरसँग भनिन्,‘कांग्रेसका पछिल्ला गतिविधिहरूले गठबन्धनमा समस्या पार्न सक्ने देखिएको छ। यसबारे स्पष्ट पारिनु पर्छ भन्ने कुरा अधिकांश नेताहरूले बैठकमा राख्नु भएको छ।’
नेतृ घर्तीले कांग्रेसले हिन्दु धर्मको पक्षमा अभियान चलाएर संविधानविरोधी गतिविधि गरेको कुरा पनि बैठकमा उठेको बताएकी छन्।
‘कांग्रेसका गतिविधिले संविधानविरूद्ध धावा बोल्ने काम भएको छ’, उनले भनिन्, ‘गठबन्धनमा सहकार्यको नीति भनिएको छ तर किन पालना नभएको हो? नेताहरूले यसबारेमा गम्भीर कुरा उठाउनु भएको छ।’
स्थायी समिति बैठकमा कांग्रेस महासमिति बैठकमा आपत्तिजनक कुराहरू उठेको भन्दै यसलाई प्रष्ट पार्नुपर्ने कुरा पनि नेताहरूले उठाएका छन्।
माओवादी नेताहरूले यसबारेमा कांग्रेससँग जवाफ माग्नुपर्ने कुरा पनि अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उठाएका छन्।
माओवादी नेताहरूले माओवादी महासमिति बैठकमा जनयुद्धलाई हिंसात्मक घटना भनेको, देश धर्मनिरपेक्ष हुँदा हुँदै चुनौती दिने गरी कांग्रेसमा हिन्दु धर्मको पक्षमा हस्ताक्षर अभियान चलाएर संविधानमाथि धावा बोलेको र गठबन्धनको विपक्षमा गएर कांग्रेस महामन्त्री गगन थापाले रुखमा मात्रै मत हाल्न दिने गरी लगेको प्रस्तावप्रति प्रश्न उठाएका हुन्।
‘यसबारेमा स्वभाविक रुपमा कांग्रेसले जवाफ दिनुपर्छ स्पष्ट पार्नुपर्छ। हामीले सहकार्य गर्दै आएको हो’, एकजना नेताले भने, ‘कांग्रेसका नेताहरूले खुलेआम संविधान र गठबन्धनविरुद्ध बोल्न थालेपछि हामी पनि चुप बस्नु भएन।’
माओवादी नेताहरूले कांग्रेस बैठकमै जनयुद्धविरुद्ध बोलेको र हिन्दु राष्ट्रको पक्षमा थालिएको अभियान संविधानको मर्म र भावनाविपरीत रहेको बताएका छन्।
बैठकमा गठबन्धनमा हुँदा पनि कांग्रेसले आफूहरूलाई पटक पटक धोका दिएको कुरा राखेका थिए। ‘धोका खाए पनि हामी इमान्दार छौँ। कोसीको राष्ट्रिय सभा निर्वाचनमा पनि हामीलाई कांग्रेसबाट धोका भयो’, बैठकमा नेताहरूले भने, ‘चुनावमा पनि सहयोग भएन। कांग्रेसले अप्ठ्यारोमा पार्यो। स्थायी समितिका सदस्यहरू आक्रोशित हुनु हुन्छ।’
Shares
प्रतिक्रिया