राजनीति


बालेन्द्रको निशानामा बद्री देवकोटा, आखिर किन सार्वजनिक गरे घरको फोटो?

बालेन्द्रको निशानामा बद्री देवकोटा, आखिर किन सार्वजनिक गरे घरको फोटो?

फाइल तस्बिर


नेपालखबर
फागुन २०, २०८० आइतबार १८:२८, काठमाडौँ

गत बुधबार साँझ काठमाडौं मल क्षेत्रका फुटपाट व्यवसायीमाथि नगरप्रहरीले निर्घात कुटपिट गरे। 

स्वरोजगार मजदुरमाथि काठमाडौं मल र सुन्धारा क्षेत्रमा महानगरपालिकाका नगर प्रहरी मनोज लामिछाने नेतृत्वको टोलीले आक्रमण गरेको थियो।

उक्त घटनामा नौजजना स्वरोजगार मदजुर गम्भीर घाइते भए। उक्त घटनामा नेकपा एमालेनिकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का सदस्यहरू पनि घाइते भएका छन्। 

जिफन्टका बागमती प्रदेश अध्यक्ष रामहरि नेपालका अनुसार महानगर प्रहरीले क्षेत्राधिकारभन्दा बाहिर गएर मजदुरलाई मरणासन्न हुने गरि कुटपिट गरेको बताएका थिए। 

घाइतेहरूमध्ये बद्री देवकोटा जिफन्टका केन्द्रीय सदस्य हुन्। जिफन्टकी बागमती प्रदेश कमिटी सदस्य  नानीमैया बस्नेत पनि गम्भीर घाइते भइन्। उनीहरूको ट्रमा सेन्टरमा उपचार गरिएको छ।

फुटपाथ व्यवसायीमाथि भएको निर्मम कुटपिटको घटनाले घेराबन्दीमा परेपछि शनिबार साँझ मेयर बालेन्द्र साहले इन्स्टाग्राम पोस्टमार्फत गम्भीर आरोप लगाउँदै एउटा विवरण सार्वजनिक गरे। 

जसमा गत बुधबार सुन्धारामा नगर प्रहरीमाथि उल्टै आकमण भएको जिकिर उनले गरे। साहले त्यो घटनामा संलग्न फुटपाथ व्यवसायी नभएर नेकपा एमालेका कार्यकर्ता रहेको दाबी उनले गरे। 

उनले नगर प्रहरीले कसैलाई आक्रमण गरेको नभई आत्मरक्षा मात्रै गरेको प्रस्टीकरण दिँदै आफ्नो बचाउ गरे। उक्त घटनाको चौतर्फी आलोचना भइरहँदा साहले नगर प्रहरीको कदमको बचाउ गर्दै दोषजति एमालेमाथि थोपर्ने प्रयास गरे।

फलामका छडले नगर प्रहरीमाथि नै आक्रमण गरेपछि त्यसको प्रतिकार गर्न बल प्रयोग भएको उनको दाबी छ। नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि लात्ती, मुक्का, लाठी बर्साएको दाबी पीडितहरूको छ। यद्यपि नगर प्रहरीले घरेलुसहितका कुनै पनि किसिमका हतियार बोक्न कानुनले निषेध गरेको छ।

फुटपाथ व्यवसायीहरूमाथि भएको दमनको बचाउमा उत्रिएका उनले एमालेमाथि दोष थोपर्नुको कारण थियो, कुटिनेहरू एमालेनिकट हुनु। 

मैनाली र बस्नेतसहितका मजदुरहरू एमालेनिकट जिफन्टको नेतृत्व तहमा थिए। त्यसकै आधारमा उनले उनीहरू फुटपाथ व्यवसायी नभएर एमाले कार्यकर्ता भएको जिकिर गरे। तर बहुदलीय शासन प्रणालीमा कुनै पनि दलसँग आस्था राख्ने र व्यवसाय गर्ने अधिकार संविधानले नै सुरक्षित गरेको छ।

नगर प्रहरीले गरेको दमनको उक्त घटनाको छानबिनसमेत गर्न तयार नभएका उनै बालेन्द्रले आइतबार सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिर सार्वजनिक गरे।

उनै जिफन्ट नेता बद्री देवकोटाको फेसबुक वालबाट एउटा घरको तस्बिर सेयर गर्दै उनले निशाना साँध्न खोजेका छन्।

आफूलाई मजदुर नेताका रुपमा चिनाएका देवकोटाले काठमाडौंमा बनाइरहेको र बनाइसकेको घरको फोटो सेयर गरेका उनले चिया खान बोलाउन पनि भनेका छन्।

‘राम्रो घर रैछ बद्रीजी, कहिलेकाहीँ चिया खान बोलाउनुस् न’, उनले कटाक्ष गर्दै भनेका छन्।

साहको यो पोस्टको आशय मजदुर भनिने बद्रीले काठमाडौंमा कसरी घर बनाए? भनेर प्रश्न गरेको बुझ्न मुस्किल पर्दैन।

मजदुरका नेता देवकोटाको उक्त घर बालेन्द्रले सेयर गरेसँगै अहिले भाइरल भइरहेको छ। अर्कातिर देवकोटाले बनाएको घरलाई लिएर उनका समर्थकहरू पनि अनेक प्रश्न गरिरहेका छन्।

देवकोटा पनि एमालेनिकट जिफन्टको केन्द्रीय सदस्यका रुपमा सक्रिय छन्। उनले आफ्नो फेसबुक पेजमा जिफन्टमार्फत हुने मजदुरका विभिन्न गतिविधिका विवरण फेसबुकमा राखेका छन्।

बालेन नेतृत्वको नगर प्रहरीले गरेको दमनमा फोटो, भिडिओ र समाचार कन्टेन्ट उनले आफ्नो फेसबुकमा राख्दै आएका थिए। नगर प्रहरीको कुटाइ खाएपछि देवकोटा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आक्रमक भएका थिए। 

तर, बालेन्द्रले आइतबार उनले सन् २०२३ राखेको घरको फोटो सेयर गरेसँगै देवकोटाले फेसबुकका सबै पोस्ट लुकाएका छन्। यससँगै देवकोटाले फेसबुक पेज नै लक गरिदिएका छन्। 

पछिल्लो समय मेयर बालेन्द्रको नेतृत्वमा फुटपाथ व्यवसायी र कवाडी व्यसायीमाथि धरपकड जारी छ।

कवाडी व्यवसायमा लगातार डोजर चलाउन थालेपछि आइतबार मात्रै २ हजारभन्दा बढीले काठमाडौंमा प्रदर्शन गरे।

उनीहरूले मेयर बालेन्द्रविरुद्ध चर्का नाराबाजी गर्दै यदि धरपकड नरोके कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन्।

मेयर साह काठमाडौंको नेतृत्वमा आइसकेपछि करिब १० हजार जना साना व्यवसायी पलयान भएर गएको विवरण पनि सार्वजनिक भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .