ad ad

राजनीति


सुहाङलाई भित्र्याएर इलाम २ को उम्मेदवार बनाउने रास्वपाको प्रयास

सुहाङलाई भित्र्याएर इलाम २ को उम्मेदवार बनाउने रास्वपाको प्रयास

रुपक चौलागाईं
फागुन २२, २०८० मंगलबार १२:३१, काठमाडौँ

वैशाखमा इलाममा २ हुने उपनिर्वाचनको जति चर्चा छ, त्यहाँभन्दा बढी चर्चा छ– सुहाङ नेम्वाङको।

बुवा सुवास नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैन। निर्वाचनको मिति घोषणालगत्तै ‘जनताका भावना बुझ्ने’ भन्दै अहिले उनी इलाममै छन्। 

एमालेले सुहाङलाई नै उम्मेदवार बनाउने चर्चा छ।

तर, सुहाङलाई इलाम २ को उपनिर्वाचनको टिकट दिने चाहना एमालेले भन्दा अर्को पार्टीले बढी राखेको छ र त्यही अनुसार उनलाई आफ्नो पार्टीमा भित्र्याउन प्रयास पनि गरिरहेको छ। पुराना दलहरुलाई चुनौती दिने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुहाङलाई नै उम्मेदवार बनाउने चाहना राखेर त्यो प्रयास अगाडि बढाएको हो।

रास्वपाका केही सांसदहरूका अनुसार सो पार्टीका केही नेताले सुहाङलाई पार्टीमा प्रवेश गराउने प्रयास निरन्तर गरिरहेका छन्। 

सुहाङ केही दिनअघि इलाम जानुअघि नै रास्वपाका केही नेताहरूले उनीसँग छलफल थालिसकेका थिए। तर, सुहाङले ‘बुवाको सपना पूरा गर्नेगरी मात्रै आफू राजनीतिमा आउने’ जवाफ फर्काए। 

‘युवाहरूकै सहभागितामा बनेको नयाँ दलमा सुहाङ नेम्वाङ पनि आउनुभयो भने काम गर्ने ट्युनिङ मिल्छ भनेर हाम्रो नेताहरूले चरण–चरणमा छलफल गर्नुभएको हो,’ रास्वपाका एक केन्द्रीय सदस्य तथा सांसदले भने, ‘उहाँले अहिलेसम्म त्यस्तो ठोस जवाफ दिइसक्नुभएको छैन।’

सुहाङलाई उठाउँदा एमालेसहितको भोट तान्न सकिने, उम्मेदवार पहिचानको समस्या टर्ने र जनजाति पहिचानवादीको भोट समेत तान्न सहज हुने रास्वपाको बुझाइ छ।

रास्वपालाई इलाममा उम्मेदवारको संकट छ। गत शनिबार मात्रै रास्वपाका सांसदहरू सोही निर्वाचन क्षेत्रका ६ वटा पालिका पुगेर फर्किएका थिए। 

‘युवा, जातीय सेन्टिमेन्ट, सुवासको लिगेसी लगायत सबै कारणले सुहाङलाई उठाउँदा जित्न सहज हुन्छ भन्ने हाम्रो बुझाइ हो,’ रास्वपाका ती नेताले भने।

चुनावी तयारीका लागि इलाम पुगेको रास्वपा टोलीले पनि सुहाङसँग भेट्ने प्रयास गरेको थियो। यद्यपि, उनी दमकमै रहेको जानकारी पाएपछि नभेटी रास्वपा टोली फर्किएको थियो। 

विशेषगरी सांसद सोविता गौतमले सुहाङलाई रास्वपामा तान्ने प्रयास तीव्र बनाएकी छिन्। स्रोतका अनुसार उनले सुहाङलाई इलामबाट फर्किएपछि पनि टेलिफोन गरेकी छिन्। 

तर, सुहाङले ‘बुवाले लामो समय त्याग गरेको पार्टीभन्दा बाहिर बस्ने कुरा अहिले सोच्न नसकिने’ जवाफ दिएका छन्।

सुहाङले एमाले पार्टी नेतृत्वले इलामबाट निर्वाचनमा उम्मेदवार हुने अवसर दिएको खण्डमा आफूले खुट्टा नकमाउने बताएका छन्।

तर एमाले नेतृत्वले अहिलेसम्म सुहाङलाई टिकटबारे औपचारिक जानकारी गराएको छैन। यद्यपि पार्टी उच्च तहमा भने इलामको उपनिर्वाचनमा सुहाङलाई नै उठाउँदा सहज हुने राय नेताहरुले दिएका छन्।

एमाले इलामकै निर्वाचनमा खटिनेमध्येका एक नेताका अनुसार सुहाङलाई टिकट दिनेमा नेतृत्वमा कुनै असहमति छैन।

रास्वपाले पार्टीमा भित्र्याउन गरेको प्रयासबारे प्रश्न गर्दा सुहाङले नेपालखबरसँग आफूले एमालेबाहेक अरु केही सोच्न नसक्ने बताए। 

‘राजनीतिमा आउने हल्ला भएपछि धेरै दल वा व्यक्तिबाट अनेक प्रस्ताव आउँदा रहेछन्,’ सुहाङले इलामबाटै टेलिफोनमा भने, ‘म बुवाको सपना पूरा गर्न राजनीतिमा आउँछु भनेको हुँ, अहिले अन्य कतैबाट आएका प्रस्तावमा मेरो ध्यान छैन।’

रास्वपा सांसद सोविता गौतमले अब उम्मेदवार तय हुने बताइन्।

‘मतदाताको चासो उम्मेदवारमा छ। को उम्मेदवार पठाउने, कहिले पठाउने भनेर,’ इलामबाट फर्किएपछि उनले भनिन्, ‘हामीले इलाममा बुझेका कुरा पार्टी बैठकमा भन्न पाएका छैनौँ। त्यसपछि मात्रै उम्मेदवारबारे टुंगो लाग्छ।’

फेरियो सत्ता समीकरण, के हुन्छ अंकगणित?
उपनिर्वाचन घोषणा भएसँगै सत्ता गठबन्धनमा पनि फेरबदल आएको छ। एक वर्ष बढी समय कांग्रेससहितको सरकार चलाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारबाट नयाँ समीकरण बनाएका छन्। 

गत वर्ष पुस १० मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुँदा लिएको साथ १४ महिनापछि प्रचण्डले फर्काएका हुन्। 

यस्तोमा इलामको उपनिर्वाचनको अंकगणित समेत फेरिने भएको छ। गत निर्वाचनमा यो क्षेत्रबाट एमालेकै उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। 

एमालेले एक्लै चुनाव लडेको थियो। गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का भने झिनो मतले पराजित भए।

निर्वाचन आयोगको विवरण अनुसार, एमालेका नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका थिए। कांग्रेसका खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए। 

अब चार पार्टीको नयाँ गठबन्धन बनेको अवस्थामा पहिले कांग्रेसका उम्मेदवार खड्कालाई गएको माओवादी केन्द्रको मत संभवतः एमालेको मतमा जोडिनेछ। तर गठबन्धनबाटै एमाले र रास्वपाका दुई उम्मेदवार भएको अवस्थामा माओवादीले कसलाई समर्थन गर्छ वा आफ्नै उम्मेदवार खडा गर्छ भन्ने प्रष्ट भैसकेको छैन। 

अघिल्लो निर्वाचनमा रास्वपाको मत निकै कम थियो। प्रतिस्पर्धामा समेत पुग्न नसकेका रास्वपाका त्यहाँका उम्मेदवार प्रकाश सापकोटाले जम्मा १ हजार ३ सय ८० मत ल्याएका थिए। रास्वपाले जहिले एक्लै निर्वाचन लड्ने बताउँदै आएपनि यस्तो कमजोर अवस्थामा गठबन्धनका एमालेकै उम्मेदवारलाई ससमर्थन गर्दैन भन्न पनि सकिन्न्। 

कोसीमा पछिल्लो समय भएको जनजाति पहिचानवादीको आन्दोलन, स्वतन्त्र उम्मेदवार र निर्णायक मानिने ‘धर्मगुरु’ को भोटले यसपटक चुनावी नतिजा रोचक आउनसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .