ad ad

राजनीति


गठबन्धनको नम्बर बलियो बनाउन जब प्रचण्ड–ओलीले खोजे माधव नेपालको साथ

गठबन्धनको नम्बर बलियो बनाउन जब प्रचण्ड–ओलीले खोजे माधव नेपालको साथ

रुपक चौलागाईं
फागुन २२, २०८० मंगलबार १४:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धनको औपचारिक घोषणा गर्दैगर्दा घरमै आराम गरिरहेका थिए, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। 

केही दिनदेखि स्वास्थ्यमा समस्या आएपछि उनी घरमै थिए।

प्रचण्डका विश्वासमा लामो समयदेखिका सहयात्री छाडेर एमाले फुटाएका थिए नेपालले। उनका लागि कांग्रेससँग गठबन्धन फुटेको खबर अप्रत्याशित थियो। नयाँ गठबन्धन बनेको थाहा पाएका नेपालले सुरुमा प्रचण्डसँग कुनै सोधीखोजी गरेनन्। 

तीन जना मन्त्रीलाई शपथको  वातावरण मिलाइसकेपछि प्रचण्डले बालुवाटारमा ८ बुँदे सहमति ड्राफ्ट गरे। सहमति सार्वजनिक गर्नुअघि पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठलाई लिएर प्रचण्ड कोटेश्वर पुगे। 

नेकपा हुँदा दिएको साथ होस् वा कांग्रेससँगको गठबन्धनको बेलामा होस्, उनले लगाएको गुन बिर्सिएको देखाउन प्रचण्ड चाहँदैनथे। त्यसैले पहिले जानकारी नदिए पनि साँझ माधवलाई भेटेर मनाउन प्रचण्ड उनको निवासमा पुगेका थिए।

ओलीको फोन
लामो समयदेखि तिक्ततापूर्ण सम्बन्धमा छन्, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल। उनीहरूबीच केही समययता राजनीतिक सम्बन्ध मात्रै होइन, व्यक्तिगत बोलचाल पनि बन्द छ। 

प्रायजसोः सार्वजनिक सभा समारोहमा एकले अर्कालाई घोचपेच गरिरहेने उनीहरूबीच नयाँ गठबन्धन बनेलगत्तै टेलिफोन संवाद भयो। 

बालुवाटारमा प्रचण्डसँगै बसेर ओलीले नेपाललाई फोन गरेका थिए। उनीसँगै रहेका एक नेताका अनुसार सुरुमा ओलीले नेपाललाई स्वास्थ्यलाभको कामना गरे। 

‘अस्वस्थ हुनुहुँदो रहेछ, स्वास्थ्यलाभको कामना छ है,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने। त्यसपछि आफू अहिले भेट्न आउन नपाएको सुनाउँदै उनले नेपाललाई नयाँ गठबन्धन बनेको र प्रचण्ड र नारायणकाजी भेट्न आउन लागेको फोनमै जानकारी गराए। 

‘अहिले म आउन भ्याइनँ, प्रचण्डजीले भन्ने कुरा नै मेरो हो, नयाँ गठबन्धन बनेको छ, उहाँको कुरा सुनिदिनुहोला,’ ओलीले भनेका थिए। 

नेपालले ओलीलाई ‘छलफल गरौँला’ भन्दै फोन राखे।

अनि पुगे प्रचण्ड–नारायणकाजी
ओलीसँगको फोन राखेको केहीबेरमै प्रचण्ड र नारायणकाजी बालुवाटारबाट कोटेश्वर पुगेका थिए। एकीकृत समाजवादीका एक नेताका अनुसार ओलीकै आग्रहमा प्रचण्ड र नारायणकाजी कोटेश्वर पुगेका थिए। 

‘केपी ओलीकै कन्साइनमा प्रचण्ड र नारायणकाजी हिजो भेट्न आउनुभएको हो,’ एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले भने, ‘जसरी वाम गठबन्धनको कुरा गरिरहनुभएको छ, त्यसलाई सार्थक बनाउने प्रयास पनि होला।’

तर, उनले यसैलाई मात्रै वाम गठबन्धन वा एकताको आधारको रुपमा लिन नहुने बताए। पाण्डेका अनुसार प्रचण्ड र नारायणकाजी झण्डै २० देखि २५ मिनेट मात्रै कोटेश्वरमा बसेका थिए। 

भेटमा प्रचण्डले यसअघि पनि सँगै रहेको र अब पनि सँगै जानपर्ने बताएका थिए। ‘सुरुदेखि नै सँगै जाऔँ भनेको छु, अहिलेसम्म जे–जे भयो भयो, अब ती कुराहरू बिर्सेर अघि जानुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेपाल निकट एक नेताले बताए।

ती नेताका अनुसार माधव नेपालले उक्त भेटमा धेरै बोलेनन्। बरु, उनले पार्टी बैठक राखेर छलफल गर्ने र अनि मात्रै निर्णय सुनाउने बताए। 

माधवलाई मनाउनुपर्ने बाध्यता
नयाँ गठबन्धन बनाउँदा ओली र प्रचण्डले नेपालसँग कुनै सल्लाह गरेनन्। नयाँ सरकारका मन्त्रीले शपथ खाइसकेपछि पनि नेपालले औपचारिक जानकारी पाएका थिएनन्।  

तर, आठ बुँदे सहमति ‘ड्राफ्ट’ गरेर प्रचण्ड बालुवाटारबाट कोटेश्वर पुग्नु र वर्षौंदेखिको मतभेद बिर्संदै ओलीले फोन गर्नुको अर्थ भने फरक छ।

स्रोतका अनुसार नयाँ बनेको सत्ता समीकरणमा कुनै पनि भागबन्डाका कारण समस्या आउने परिस्थितिमा अंकगणित बलियो बनाउन पनि प्रचण्ड र ओलीले नेपालको साथ खोजेका हुन्। 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भागबन्डामै असन्तुष्टि जनाएर जुनसुकै बेलामा पनि सरकारबाट हात झिक्न सक्ने सम्भावनालाई पनि ओली–प्रचण्डले बुझेका छन्। 

रास्वपाले हात झिकेको खण्डमा सरकार पूर्ण सुरक्षित हुँदैन।

अहिले केन्द्रमा  नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाको चार दलीय गठबन्धन छ। नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपा २१ र जसपाका १२ सांसद छन्। सरकार गठनका लागि आवश्यक संख्या १३८ हो। 

यी दलहरू मिल्दा १४३ सांसद हुन्छन् र बहुमत जुट्छ। रास्वपा बाहिरिएको खण्डमा १ सय २२ जना मात्रै सांसद हुन्छन्। तर, अन्य साना दललाई ल्याएर सरकार टिकाउन एकीकृत समाजवादीको १० सिट महत्वपूर्ण हुन पुग्छ।

त्यसो त बागमतीसहितका केही प्रदेशमा नेपालको निर्णायक मतलाई पनि उनीहरूले नजरअन्दाज गर्न सकेका छैनन्। 

जस्तो कि बागमती प्रदेशमा एकीकृत समाजवादीका ७ जना सांसद छन्। यहाँ सरकार बनाउन ५६ सांसद चाहिन्छन्। कांग्रेस एक्लैको ३७ सिट छ भने माओवादी २१ र एमालेका २७ सांसद छन्। 

यो अवस्थामा एमाले र माओवादी मात्रैले सरकार बन्न सक्ने अवस्था छैन। एकीकृत समाजवादी समेतको जोड्दा पनि अझै २ सिट पुग्दैन। 

राप्रपालाई सरकारमा नल्याउने रणनीति केन्द्रबाटै बन्दा बागमतीमा रहेको हाम्रो नेपाली पार्टी (हानेपा) समेतलाई फकाउनुपर्ने बाध्यता छ। यस्तो अवस्थाको आकलन गर्दै नेपाललाई फकाउन उच्च कसरत भइरहेको सो नेताहरू बताउँछन्। 

उता, गण्डकीमा पनि माओवादी र एमालेको मात्रै मतले सरकार बनाउन बहुमत पुग्दैन। यस्तो बेलामा त्यहाँ राप्रपा निर्णायक बन्नसक्ने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .