राजनीति


गठबन्धन फेरबदल गर्ने प्रधानमन्त्री प्रचण्डको कदम गलत : जनमोर्चा

गठबन्धन फेरबदल गर्ने प्रधानमन्त्री प्रचण्डको कदम गलत : जनमोर्चा

नेपालखबर
फागुन २२, २०८० मंगलबार १६:४७, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले गठबन्धन फेरबदल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदम गलत भएको बताएको छ।

पूर्व गठबन्धन विघटन हुँदा प्रतिगमनलाई बल पुग्ने सम्भावना रहेको जनमोर्चाको ठहर छ।

अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक विज्ञप्ति जारी गरी देशमा बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध खतरा बढ्दै गएको आशंका व्यक्त गरेका छन्।

जनमोर्चाले २०६२–६३ सालको ऐतिहासिक आन्दोलनका उपलब्धिको रक्षामा हाम्रो जोड दिने नीति लिएको केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यसका साथै राजमोले राष्ट्रियता र जनजीविकाको सवालमा दृढतापूर्वक सङ्घर्ष गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ,
प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनको विघटन भएको कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। पूर्व गठबन्धनको विघटन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नयाँ गठबन्धनको सरकार निर्माण भएको छ।

यो बताइरहनुपर्ने आवश्यकता छैन कि विगतमा प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनले प्रतिगमनलाई परास्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। प्रतिगमन विरुद्ध सङ्घर्षको दौरान नै त्यसको निर्माण भएको थियो। प्रतिगमनका विरुद्धमा महत्त्वपूर्ण भूमिका खेलेको गठबन्धनलाई विघटन गराउने कार्यको हाम्रो दलले तीव्र विरोध र आलोचना गर्दछ। गठबन्धनको विघटनबाट प्रतिगमनलाई बल पुग्ने सम्भावना देखा परेको छ।

वर्तमान सरकारले अपनाउने नीति र कार्यक्रमको आधारमा सरकारप्रति हाम्रो पार्टीले आफ्नो नीति निर्धारित गर्ने छ।

आज देशमा बहुदलीय व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षता विरुद्ध खतरा बढ्दै गएको हुनाले २०६२–६३ सालको ऐतिहासिक आन्दोलनका उपलब्धिको रक्षामा हाम्रो जोड हुने छ। त्यसका साथै देशको राष्ट्रियताको अगाडि पनि गम्भीर रूपले खतरा बढ्दै गएको छ। यी सबै प्रश्नका साथै जनजीविकाको सवालमा हाम्रो पार्टीले दृढतापूर्वक सङ्घर्ष गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .