राजनीति


जसपा तीन टुक्रा, पहिचानवादी मोर्चा घोषणा

जसपा तीन टुक्रा, पहिचानवादी मोर्चा घोषणा

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १८:४३, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालको तेस्रो पक्षले छुट्टै मोर्चा घोषणा गरेको छ। 

संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण गरी जसपा नेपालमा समाहित भएका नेताहरूले बिहीबार पहिचानवादी मोर्चा घोषणा गरेका हुन्।

यसअघि जसपा उपेन्द्र यादव र अशोक राईको नेतृत्वमा दुई टुक्रा भइसकेको छ। 

यी दुवै पक्षमा नलागेकाहरूले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पहिचानवादी मोर्चा घोषणा गरेका हुन्।

उनीहरूले प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गरेका हुन्। 

पहिचानका मुद्दालाई सशक्त बनाउन, पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्ति सबैलाई नयाँ शिराबाट एकताबद्ध भई अघि बढ्न मोर्चाले आह्वान गरेको छ। 

जसपा नेपालका तत्कालीन राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टी विभाजनलाई आत्मघाती कदमको संज्ञा दिँदै आफूहरू दुवै पक्षसँग बस्ने अवस्था नबनेको बताए।

‘पार्टीभित्र घटना घटिरहँदा हामी इलाम-२ को निर्वाचनमा अहोरात्र खटिइरहेका थियौँ। हामीलाई थाहा भएन कि पार्टीमा के हुँदै छ? पार्टी विभाजन भयो, यसमा हाम्रो कुनै हात छैन। अहिले जसपा र जसपा नेपाल भएर आयो’, उनले भने, ‘यो पार्टी अगाडि बढिरहँदा जसपा र जसपा नेपाल दुवैमा रहिरहने अवस्था बनेन।’ 

जसपा नेपाल उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उपेन्द्र यादवले नेतृत्व गरेका छन् भने अशोक राईको अध्यक्षतामामा ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भइसकेको छ। जसपाका १२ सांसदमध्ये राई पक्षमा ७ र यादव पक्षमा ५ जना बसेका छन्। 

जसपाबाटै अलग्गिएर बिहीबार घोषित मोर्चाले प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिलाई सघाउने पनि उद्घोष गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .