ad ad

राजनीति


अरूलाई र्‍याखर्‍याख्ती पार्थिन्, आफैँ जवाफ दिने ठाउँमा पुगिन् सुमना

अरूलाई र्‍याखर्‍याख्ती पार्थिन्, आफैँ जवाफ दिने ठाउँमा पुगिन् सुमना

रुपक चौलागाईं
फागुन २३, २०८० बुधबार २०:२५, काठमाडौँ

संघीय संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठक चलिरहेको थियो। अतिथि थिए– तत्कालीन शिक्षा राज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारीलगायत। विषय थियो– त्रिविको उपकुलपति नियुक्ति। 

बैठकको सुरुमै बोलेकी एक सांसदले पहिलो प्रश्न नै सभापति भानुभक्त जोशीमाथि उठाइन्। 

‘बौद्धिक चोरीको लिंक नै राखेर मैले योयो मान्छेले बौद्धिक चोरी गरेको छ, यो आर्टिकल यहाँ पब्लिस भएको छ, उहाँहरूले यहाँ पब्लिस गर्नुभयो। टर्कीको मान्छेले यहाँ पब्लिस गरेको छ भनेर एभिडेन्सका साथ दिएको थिएँ, प्रधानमन्त्रीज्यूलाई पनि दिएको थिएँ, अब यसमा अस्पष्टता के भयो सभापतिज्यू?’ ती सांसदले सोधिन्।

उनको प्रश्नमा सभापति मात्रै होइन, अतिथि पनि नाजवाफ भए। 

यसरी तीखो प्रश्न सोध्ने सांसद थिइन्– रास्वपाकी सुमना श्रेष्ठ। उनी संसदीय अभ्यासमा अब्बल देखिएका सीमित सांसदमध्ये एक हुन्। 

संसदको बैठकमा उनी निकै तयारीका साथ खरो रूपमा प्रस्तुत हुन्छिन्। अनुसन्धानमा आधारित तथ्य–तथ्यांकसहित तार्किक प्रस्तुति दिइरहेकी हुन्छिन्। उनका प्रश्नले सदनमा मात्र होइन, सामाजिक सञ्जालमा समेत बहस सिर्जना गर्छ।

पार्टीको तर्फबाट संसदमा शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा रहेकी उनी प्रायः बैठक छुटाउँदिनन्। सुमनाका खरा प्रश्नको सामना गर्न विषयगत छलफलमा आएका अतिथिहरूलाई निकै समस्या पर्ने गर्छ।

यसरी अरूलाई प्रश्न सोधेर र्‍याखर्‍याख्ती पार्ने सांसद श्रेष्ठ अब जवाफ दिने ठाउँमा पुगेकी छन्।

उनी संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी छन्। सत्ता समीकरण फेरिएसँगै सरकारमा सहभागी भएको रास्वपाले श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। 

यतिबेला शिक्षा क्षेत्रले निकै ठूलो संकट बेहोरिरहेको छ। एकातिर ‘ब्रेन ड्रेन’को समस्या छ भने अर्कातिर शिक्षालयहरू लथालिंग छन्।

राजनीतिमा व्यस्त शिक्षक कक्षाकोठामा भेटाउन मुस्किल पर्छ भने नियमित कक्षामा पुग्ने शिक्षकको गुणस्तर सुधारको पक्ष कहिल्यै सुधार हुन नसकेको समस्या हो। विश्वविद्यालयहरू अभूतपूर्व संकटको सामना गरिरहेका छन्। यस्तो स्थितिमा शिक्षा मन्त्रालयको नेतृत्व लिएकी सुमनाले अब अनेकौँ कठिन प्रश्नको जवाफ कामबाटै दिनुपर्नेछ।

को हुन सुमना?
सुमनाको जन्म २०४१ असोज १५ मा काठमाडौँमा भएको थियो। उनले एसएलसीसम्मको अध्ययन काठमाडौँकै क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ उच्च माध्यमिक विद्यालयबाट गरिन्। 

त्यसपछि बुढानीलकण्ठ स्कुलबाट उनले ए लेभल (अर्थशास्त्र, गणित) अध्ययन गरेकी थिइन्। 

उच्च शिक्षाका लागि अमेरिका गइन्। सुमनाले अमेरिकाको मासाचुसेट्स् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाईटी) स्लोन स्कुल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेकी छिन्। 

त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी थिइन्।

२०७२ सालअघि सुमनाले अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी) मा परामर्शदाताका रूपमा काम गरिन्। 

उनी २०७२ सालको महाभूकम्पपछि नेपाल फर्किएकी हुन्। नेपालमा विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) सँग काम गर्ने गरी उनलाई बीसीजी ग्रुपले नै नेपाल पठाएको थियो। 

त्यसपछि उनी अमेरिका फर्किइनन्। 

भूकम्पपछि नेपाललाई नै कार्यक्षेत्र बनाएकी उनी विभिन्न अभियान र कार्यक्रममा संलग्न भइन्। सुमनाले काष्ठमण्डप पुनर्निर्माणसम्बन्धी अभियानमा समेत काम गरेकी छन्। 

सुमनाले कोरोना महामारीको बेला पनि अमेरिकी सरकारलाई त्यहाँको सिनेटमार्फत सहयोग गर्न अनुरोध गरेकी थिइन्।

सुमना उद्यमी पनि हुन्। कारपुर काठमाडौँ र मेडिकेसन फर नेपाल लगायतका परियोजनाको सुरुवात उनले गरेकी थिइन्। मेडिकेसन फर नेपाललाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१६ मा क्यालिफोर्नियामा भएको ग्लोबल आन्टरप्रेनरसिप समिटमा प्रशंसा गरेका थिए।

अमेरिकामै रहँदा सुमनाको बिहे भयो। पोल्यान्डका नागरिक पावेल लुकास स्कान्भिन्सीसँग उनको विवाह भएको थियो। पोल्यान्डका नागरिक भए पनि उनका श्रीमान् अहिले बेलायत बस्दै आएका छन्। 

श्रेष्ठ रास्वपाबाट समानुपातिक सांसद हुन्। उनलाई पार्टीले जनजाति समूहतर्फ समानुपातिक सांसद निर्वाचित गरेको थियो। 

रास्वपा सभापति रवि लामिछाने अमेरिकामै हुँदादेखि सुमना र उनको चिनजान थियो। ०७९ को निर्वाचनअघि रास्वपा गठन हुने भयो। सो पार्टीमा आबद्ध हुने निर्णय उनले गरिन्।

अध्ययनशील, अनुभवी र राम्रो वाक्कला भएकी उनलाई रविले प्राथमकितामा राखे र सांसद बनाएका थिए। रास्वपा पहिलोपल्ट सरकारमा जाँदा शिशिर खनालले यो मन्त्रालय पाएका थिए। यतिखेर शिशिरलाई छाडेर रविको रोजाइमा सुमना परेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .