राजनीति


डेढ वर्षअघिकै सहमतिमा माओवादीसँग एकता गर्न लागिएको हो : सहअध्यक्ष श्रेष्ठ

डेढ वर्षअघिकै सहमतिमा माओवादीसँग एकता गर्न लागिएको हो : सहअध्यक्ष श्रेष्ठ

नेपालखबर
चैत ३, २०८० शनिबार १६:३१, काठमाडौँ

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताएका छन्।

श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नै नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताउँदै उनले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्नेकुरा सत्य नभएको बताए।

नेसपाले गत मंसिर ६ गते नै केन्द्रिय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको उनको प्रष्टोक्ति छ। 

‘अहिले त हामीले नेपाल समाजवादी पार्टी र नेकपा(माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक बसेको हो। यहाँ नेपाल समाजवादी पार्टीको फलानो गुटको बैठक बसेको त होइन नि,’ उनले भने, ‘नेपाल समाजवादी पार्टीको बैठक बस्दै गर्दाखेरी नेपाल समाजवादी पार्टीमा फलाना अध्यक्षको पक्षमा कति, अर्का अध्यक्षको पक्षमा कति भन्ने प्रश्न होइन। यो त नेपाल समाजवादी पार्टीको एकता संयोजन समिति र नेकपा(माओवादी केन्द्र) एकता संयोजन समितिको बिचमा संयुक्त बैठक बसेको हो। अल्पमतको कुरा, बहुमतको कुरा, यो पक्ष त्यो पक्ष होइन।’

दुई पार्टीका बीचमा एकता गर्ने भनेर चुनाव अगाडी नै सहमती भएको र पार्टी एकताको शर्तसहित आफूहरुले माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेको बताए। 

‘पार्टी एकता गर्ने भनेर हिजो चुनावभन्दा अगाडी नै हामी तयार भएको हो नि। विविध कारणले गर्दा पार्टी एकता गर्न सकेनौँ। र पार्टी एकता गर्न नसकिसके पछाडी नेकपा(माओवादी केन्द्र)को गोलाकारभित्रको चुनाव चिन्ह हामी नेपाल समाजवादी पार्टीको तर्फबाट पनि लिएर हामी चुनाव लडेको हो। त्यो त पार्टी एकता गर्ने सर्तसहित गरेको थियौँ नि त। हामी डेढ वर्ष अगाडीको जुन सहमती हो। त्यो सहमती अन्तर्गत नै अगाडी बढेका छौँ र आज त्यसलाई अझ ठोस, अझ मूर्त निर्णयमा पु¥याएका छौँ।’

सहअध्यक्ष श्रेष्ठले आफूहरुले नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर चुनाव लडेकाले कानुनी रुपमा आफुहरु माओवादी केन्द्रको सांसद भएको बताए। 

अध्यक्ष महिन्द्र राय यादवको मन्त्री पद नरहेको र आफू हालसम्म वागमती प्रदेश सरकारको मन्त्री भएपनि त्यो विगतमै भएको पनि उनले बताए।

‘चुनाव जितेर माओवादी केन्द्रको संसदीय दलको सदस्य भइसके पछाडी महेन्द्रजी यहाँ मन्त्री हुनुभयो। अहिले पुर्नगठनमा पर्नु भएन। म आजको दिनसम्म बागमती प्रदेश सरकारको मन्त्री छु। हिजो हामीले यो मन्त्री पद लिँदाचाहीँ पद लोलुप नहुने, आज महेन्द्रजीको मन्त्री पद गइसक्यो। उहाँहरुले भनेको मन्त्री पदको लागि हो भने त महेन्द्रजीको पद गइसक्यो। सबैभन्दा रिसाएर पार्टी एकता नगर्ने भनेर त उहाँले भन्नुपर्ने हो नि। त्यसकारणले व्यवहारिक रुपमै त्यो खण्डन भइसकेको छ। मेरो कुरा, अहिले मलाई मन्त्री बनाइदिएको कुरा त होइन। मैले मन्त्री पद जोगाइदेउ बाबा भनेर म माओवादी केन्द्रसँग हारगुहार गर्न गएको त छैन।’

सहअध्यक्ष श्रेष्ठले नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी सँगसँगै अन्य पार्टीहरुलाई पनि एकता गर्दै लैजाने तयारी भएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .